आमहड्ताल घोषणा गरेको मोर्चालाई गृहमन्त्रीको चेतावनी

3 years ago/Sunday, April 16th, 2017

काठमाडौं, बैशाख ३– उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले स्थानीय तहको निर्वाचन बिथोल्न खोज्नेमाथि कडा कार्वाही गर्ने चेतावनी दिएका छन् । संघीय गठबन्धन र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले चुनाव बिथोल्ने उद्देश्यले आन्दोलनको कार्यक्रम घोषणा गरिसकेको अवस्थामा गृहमन्त्रीले यस्तो चेतावनी दिएका हुन् ।

आइतबार व्यवस्थापिका संसदको राज्य व्यवस्था समितिको बैठकमा बोल्दै गृहमन्त्री निधिले निर्वाचन बहिष्कार गर्ने वा विथोल्ने काम हुन नदिने गरी सरकारले शान्ति सुरक्षाको भरपर्दो व्यवस्था गरेको पनि उल्लेख गरे ।
उनले निर्वाचन विथोल्न नदिन सरकारले सामान्य, संवदनशील र अति संवेदनशील गरेर तीन तहको सुरक्षा योजना बनाएको पनि स्मरण गराए ।
गृहमन्त्री निधिले बूथ, निर्वाचन स्थल, मतदान केन्द्र र मतदान केन्द्रबाहिर समेत सुरक्षाको उचित व्यवस्था हुने गरी सुरक्षा योजना बनाइएको पनि समितिलाई जानकारी दिए ।
गृहमन्त्री निधिले निर्वाचनलाई सफल बनाउन पनि सबैमा पुनः अपिल गरे ।

गृह मन्त्रालयले निर्वाचनका लागि करिव २ लाख ३१ हजार सुरक्षाकर्मी परिचालन गर्ने योजना पनि बनाएको छ । नेपाल प्रहरी, सशष्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान र नेपाली सेना गरी चार वटै सुरक्षा निकायलाई परिचालन गर्ने पनि गृहमन्त्री निधिले बताए । उनले निर्वाचनका लागि परिचालन गरिने ७५ हजार म्यादी प्रहरीलाई तालिम दिने काम सुरु गरिएको पनि स्मरण गराए ।

गृह मन्त्रालयले निर्वाचनको सुरक्षाका लागि ७ वटै प्रदेशमा क्षेत्रीय सुरक्षा गोष्ठी कार्यक्रम पनि संचालन गरिरहेको छ ।

गृह मन्त्री निधिले निर्वाचनको सुरक्षाका लागि सबै निकायका प्रहरी प्रमुखहरुको उपस्थितिमा सुरक्षा गोष्ठी संचालन भइरहेको जानकारी दिए । उनले सुरक्षा निकायले निर्वाचन अधिकारीसँग समन्वय गरेरै काम गर्ने नीतिगत निर्णय लिइएको पनि स्पष्ट पारे ।

VIEWS: 2805 पटक हेरीएको
error: Content is protected !!