कर्तव्य ज्यान र जवरजस्ती करणी मुद्धाका दुई अभियुक्तलाई जन्मकैद

3 weeks ago/Wednesday, February 5th, 2020

ईदोलखा संवाददाता ।

दोलखा, २२ माघ ।

दोलखा जिल्ला अदालतले जवरजस्तीकरणी र कर्तव्य ज्यान मुद्धाका दुई अभियुक्तलाई जन्मकैदको फैसला गरेको छ ।

जवरजस्ती करणी र कर्तव्य ज्यान सम्बन्धि मुद्धाका एक/ एक जना अभियुक्तलाई जन्मकैदको फैसला भएको हो । छुट्टा छुट्टै घटनाका दुवै जना अभियुक्तलाई दोलखा जिल्ला अदालतका न्यायधिश कविप्रसाद न्यौपानेले जन्मकैदको फैसला गर्नुभएको हो । जसअनुसार दोलखाको तामाकोशी गाउँपालिका वडा नम्बर ६ का १९ वर्षीय शिव खातीलाई सोही स्थानका १८ वर्षीय अनिल चौँलागाईको हत्यामा दोषी ठहर गर्दै जन्मकैदको फैसला सुनाईएको हो ।

के थियो घटना ?

गत वर्षको फागुन १९ गते रामेछापको थानपति मन्दिर गएका ३ युवकमध्य शिव र अर्का एक युवक घर फर्किएपनि अनिल भने वेपत्ता भएपछि खोजी गर्ने क्रममा उनको २१ गते तामाकोशी गाउँपालिका ५ कै खहरे खोलामा शव फेला पारिएको थियो । अनिल मृत फेला परेपछि उनको हत्या भएको आशंकामा फागुन २६ गते खातीसहित दुई युवकलाई प्रहरीले पक्राउ गरेको थियो । खातीमाथि घटनामा संलग्न भएको आरोपमा २०७५ साल चैत्र २१ गते कर्तव्य ज्यान सम्बन्धी मुद्धा दर्ता भएकोमा दोलखा जिल्ला अदालतले २४ गते पूर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो । खाती त्यसयता चरिकोट कारागारमा रहँदै आएका थिए । पूर्पक्षका लागि थुनामा रहेका खातीलाई दोलखा जिल्ला अदालतले सोमबार ‘मुलुकी अपराध संहित ऐन २०७४’ को दफा १ सय ७७ उपदफा (१) बमोजिम जन्मकैदको फैसला र ५० हजार क्षतिपुर्ति तोकेको छ ।

आफ्नै छोरी बलत्कार गर्नेलाई जन्मकैद

दोलखा जिल्ला अदालतले आफ्नै छोरीलाई बलत्कार गरेको अभियोगमा एक पुरुषलाई पनि जन्मकैदको फैसला सुनाएको छ । अदालतले दोलखाको भीमेश्वर नगरपालिका वडा नम्वर ५ का नाम परिवर्तित १७ (चरिकोट ६०) लाई आफ्नै छोरीलाई बलत्कार गरेको अभियोगमा दोषी ठहर गर्दै जन्मकैदको फैसला गरेको हो । उनलाई जवरजस्ती करणीको घटनामा १४ वर्ष र हाडनातामा जवरजस्ती करणी गरेको अभियोगमा जन्मकैदको फैसला सुनाईएको जिल्ला न्यायधिवक्ता राजन हमालले जानकारी दिनुभयो । न्यायधिवक्ता हमालका अनुसार उनलाई ‘मुलुकी अपराध संहित ऐन २०७४’ को दफा ‘२१९’ बमोजिम १४ वर्ष र हाडनातामा जवरजस्ती करणी भएकाले ऐनको दफा ‘२२०’ बमोजिम जन्मकैदको फैसला भएपनि जन्मकैद (२५ वर्ष) जेल सजाय कार्यान्वयन हुनेछ ।

उनी आफ्नै छोरीलाई बलत्कार गरेको आरोपमा गत बैशाख ४ गते चरिकोटबाटै पक्राउ परेका थिए । उनीमाथि घटनामा संलग्न भएको आरोपमा बैशाख २९ गते मुद्धा दर्ता भएकोमा अदालतले पूर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो । त्यसयता पूर्पक्षका लागि चरिकोट कारागारमा रहेका उनलाई दोलखा जिल्ला अदालतले पौष १७ गते दोषी ठहर गरि आईतबार जन्मकैदको सजाय हुने आदेश दिएको हो ।

५ वर्षीया बालिका बलत्कार गर्नेलाई १९ वर्ष जेल सजाय

५ वर्षीया बालिकालाई जवरजस्ती करणी गरेको अभियोगमा तामाकोशी गाउँपालिकाका एक पुरुषलाई भने १९ वर्ष कैद सजायको फैसला भएको छ । तामाकोशी गाउँपालिका वडा नम्वर ८ का कमल प्रसाद बजगाईलाई दोलखा जिल्ला अदालतले जवरजस्ती करणी अभियोगमा दोषी ठहर गर्दै १९ वर्ष कैद सजाय सुनाएको हो । उनलाई दोलखा जिल्ला अदालतका न्यायधिश कवि प्रसाद न्यौपानेको ईजलाशले ‘मुलुकी अपराध संहिता ऐन २०७४’ को दफा २१९ को उपदफा ३ को खण्ड ‘क’ अनुसार १९ वर्ष कैद सजाय सुनाएको हो । सो ऐनमा १० वर्ष भन्दा मुनिको नावालिका बलात्कार भएमा १८ देखि २० वर्ष कैद सजाय हुने उल्लेख छ । ऐन संशोधन पछि नावालिका वलत्कार गर्नेलाई जन्मकैदको सजाय हुने व्यवस्था भएपनि घटना हुने बेला ऐन संशोधन भईनसकेकाले बजगाईलाई १९ वर्ष कैद सजायको फैसाल भएको न्यायधिवक्ता हमालले बताउनुभयो ।

बजगाई ५ वर्षीया बालिकालाई बलत्कार गरेको अभियोगमा २०७५ साल असोज ११ गते पक्राउ परेका थिए । भदौ २१ गते घर बाहिर खेलिरहेकी ५ वर्षीया बालिकालाई जवरजस्ती करणी गरि फरार भएका बजगाईलाई असोज ११ गते मात्रै काठमाडौँबाट नियन्त्रणमा लिईएको थियो । उनीविरुद्ध असोज २१ गते जवरजस्ती करणी मुद्धा दर्ता भएकोमा दोलखा जिल्ला अदालतले पौष १६ गते कसुर ठहर गर्दै आईतबार अन्तिम आदेश दिएको हो । बजगाई तत्कालिन खानेपानी तथा सरसफाई डिभिजन कार्यालयका करारका प्राविधिक कर्मचारी समेत थिए ।

२२ माघ, २०७६ । ७ः ०० बजे प्रकाशित ।

VIEWS: 5805 पटक हेरीएको
error: Content is protected !!