कर्मचारी अभावको कारण देखाउँदै दोलखाका स्थानीय सरकार धमाधम करारमा कर्मचारी नियुक्त गर्दै

1 week ago/Tuesday, December 3rd, 2019

सिर्जना खड्का ।

दोलखा, १७ मंसिर ।

तोकिएको दरवन्दि अनुसारका कर्मचारी नभएपछि दोलखाका स्थानीय सरकारले धमाधम करारमा कर्मचारी नियुक्त गर्न थालेका छन् ।

कर्मचारी अभाव भएर कार्यसम्पादनमा समस्या भएपछि स्थानीय सरकारले करारमा कर्मचारी नियुक्त गर्न लागेका हुन् । जिल्लाका चार वटा स्थानीय सरकारले चालु बर्ष मात्रै ३८ जना कर्मचारी करारमा नियुक्त गरेका छन् । नगरपालिका र गाउँपालिकाको कार्यालय स्थापना भए लगत्तै कार्यालय सहयोगी, चालक लगायतका पदमा करारमा कर्मचारी नियुक्त गरिसकेका स्थानीय सरकारले अहिले प्राविधिक पदमा कर्मचारी भर्ना गरेका हुन् ।

शैलुङ र कालिञ्चोकमा करारका बढी कर्मचारी

चालु आर्थिक बर्ष जिल्लाको शैलुङ गाउँपालिकाले सवैभन्दा बढी १६ जना कर्मचारी नियुक्त गरेको छ । शैलुङ गाउँपालिकाले चौथो तहको कृषि प्राविधिक सहायक ७ जना, सोही तहको पशु स्वास्थ्य प्राविधिक ६ जना तथा अमिन, हुलका सवारी चालक र कार्यालय सहयोगी एक/एक गरी १६ जना कर्मचारीलाई करारमा नियुक्त गरेको हो । गाउँपालिकाका अध्यक्ष भरत दुलालले दरवन्दि अनुसारका कर्मचारी नहुँदा गाउँपालिकाको काम प्रभावित भएका कारण विधि र प्रक्रिया वमोजिम कर्मचारी छनौट गरेको जानकारी दिनुभयो ।

यस्तै, दोलखाको कालिन्चोक गाउँपालिकाले पनि चालु बर्ष १६ जना कर्मचारीलाई करारमा नियुक्त गरेको छ । कालिन्चोकले कार्यालय सहयोगिदेखि ईन्जिनियरसम्मको पदमा करारमा नियुक्त गरेको हो । अधिकृत छैठौं तहको सूचना प्रविधि अधिकृत र नागरिक समृद्धि कोष व्यवस्थापक, सहायक पाचौं तहको दुई जना सव ईन्जिनियर, दुई जना स्टाफ नर्स र एक जना हेल्थ असिस्टेन्टलाई पनि करारमा भर्ना गरिएको छ ।

गाउँपालिकाले सहायक पाचौं तहकै ल्याव टेक्निसियन, ल्याव असिस्टेन्ट, अमिन, अहेव र अनमी एक/एक जना तथा तिन जना कार्यालय सहयोगीलाई करारमा राखेको हो । गाउँपालिकाका अध्यक्ष बिनकुमार थामीले प्राविधिकदेखि स्वास्थ्यकर्मीसम्मका कर्मचारी नहुँदा नागरिकलाई सेवा दिन कठिन भएकाले करारमा नियुक्त गरिएको बताउनुभयो ।

विधि र प्रक्रिया मिचेको गुनासो

जिल्लाको बैतेस्वर गाउँपालिकाले पनि चालु बर्ष चार जना कर्मचारी करारमा नियुक्त गरेको छ । बैतेस्वरले कृषि सेवा चौथो तहको कृषि प्राविधिक, पशु सेवा प्राविधिक, अमिन र अनमी गरी चार जनालाई करारमा राखेको प्रमुख प्रशासकीय अधिकृत अर्जुन खड्काले जानकारी दिनुभयो । भीमेस्वर नगरपालिकाले पनि चालु बर्ष सर्वेक्षक र अमिन गरी दुई जनालाई करारमा नियुक्त गरेको छ । स्थानीय सरकारले नियुक्त गरेका करारका कर्मचारीहरुलाई आन्तरिक आम्दानी र केन्द्रको अनुदानवाट समेत तलव/भत्ता खुवाईने छ । जनप्रतिनिधिहरुले करारमा कर्मचारी नियुक्त गर्नु आवस्यक्ता र बाध्यता भएको दावी गरेपनि कतिपयले चाँहि करारमा पद सिर्जना गरेर आफु निकटका व्यक्तिहरुलाई जागिर खुवाएको आरोप पनि लगाएका छन् । केहि स्थानीय तहले कर्मचारी नियुक्त गर्दा विधि र प्रक्रिया मिचेको गुनासो पनि आएको छ ।

पाँच स्थानीय सरकारले कर्मचारी भर्ना गरेनन्

दोलखाका ९ वटा स्थानीय सरकार मध्ये चार वटा सरकारले ३८ जना कर्मचारीलाई करारमा भर्ना गरेपनि बाँकी पाँच वटा स्थानीय सरकारले चालु बर्ष कर्मचारी भर्ना गरेका छैनन् । गौरीशंकर, बिगु, तामाकोशी र मेलुङ गाउँपालिका तथा जिरी नगरपालिकाले चालु बर्ष करारमा कर्मचारी नियुक्त गरेका छैनन् । ति स्थानीय सरकारले गत बर्ष सूचना प्रविधि अधिकृतदेखि सवारी चालक र कार्यालय सहयोगी सम्मका कर्मचारी करारमा नियुक्त गरेपनि चालु बर्ष थप कर्मचारी करारमा नियुक्त नगरेका हुन् ।

जिरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रिजालले कार्यालयमा कर्मचारी अभाव भएपनि करारमा नराखि १७ जना कर्मचारी माग गरी लोकसेवामा पठाएको जानकारी दिनुभयो । दोलखा जिल्लाका तिन स्थानीय सरकार बिगु, शैलुङ र मेलुङ गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत बिहिन छन् भने जिल्लाका ७४ वडा मध्ये ५६ वटा वडापालिका पनि सचिवविहिन रहेका छन् ।

१७ मंसिर, २०७६ । ३ः५० बजे प्रकाशित ।

VIEWS: 3235 पटक हेरीएको
error: Content is protected !!