काटाकुटीको ओखरपौवा सिंचाई योजना १० वर्षसम्म पनि बनेन, १ करोड भन्दा बढी बजेट खर्च

1 week ago/Monday, September 9th, 2019

विपना थापामगर ।

दोलखा, २३ भदौ ।

जलस्रोत तथा सिंचाइ विकास डिभिजन कार्यालय दोलखाबाट सञ्चालित एउटा सिंचाइ योजना १० वर्ष बितिसक्दा समेत निर्माण सम्पन्न हुन सकेको छैन ।

सिंचाइ कार्यालयले आर्थिक वर्ष २०६४/६५ सालमा निर्माण सुरु गरेको शैलुङ गाउँपालिका ५ काटाकुटीस्थित ओखरपौवा सिंचाइ योजना १० वर्ष बितिसक्दा समेत निर्माण सम्पन्न हुन नसकेको हो । सो योजना निर्माणका लागि १ करोड ४१ लाख ५७ हजार बजेट आएकोमा हालसम्म १ करोड ३० लाख ७० हजार रकम खर्च भइसकेको छ । सिंचाइ कार्यलयले सो योजना निर्माणका लागि करोडौ रकम खर्च गरेपनि अझै सम्पन्न हुन नसकेको हो । सो योजना निर्माण गर्ने जिम्मा ओखरपौवा जल उपभोक्ता समितिले पाएको थियो ।

समितिले काम सम्पन्न गर्न चासो नदेखाएका कारण सो योजनाको काम दश बर्ष बितिसक्दा समेत सम्पन्न हुन नसकेको सिञ्चाइ डिभिजन कार्यलय दोलखाका इन्जिनियर निर्मल दाहालले जानकारी दिनुभयो । ओखरपौवा सिंचाइ योजनाको हालसम्म ९० प्रतिशत काम सम्पन्न भएको उहाँको भनाई छ । एउटा योजना तीनबर्ष भित्र सम्पन्न गर्ने लक्ष्य लिएपनि सो योजनाको काम १० बर्षसम्म पनि सम्पन्न हुन नसकेको हो । कार्यालयले आफुहरुले पटक–पटक ताकेता गरे पनि उपभोक्ता समितिकै ढिलासुस्तीका कारण निर्माण सम्पन्न हुन नसकेको दाबि गरेको छ । यद्धपी, औखरपौवा जल उपभोक्ता समितिका पूर्व अध्यक्ष स्वस्तिकबहादुर कार्कीले भने अाँँफुहरुले चासो नदिएको भन्ने कुरा गलत भएको दावि गर्नुभयो ।

आँफुहरुले काम गरिरहे पनि आरसीसी ढलान गर्नुपर्ने भएका कारण निर्माण सम्पन्न हुन ढिलाई भएको उहाँको भनाई छ । ओखरपौवा जल उपभोक्ता समितिले चासो नदेखाउँदा समयमै निर्माण सम्पन्न हुन नसकेको भन्दै सिञ्चाइ कार्यालयले दश बर्षको अवधिमा गत आर्थिक बर्ष मात्रै सो योजनाको बाँकी काम सम्पन्न गर्न दिलकुमार तामाङको अध्यक्षतामा नयाँ जल उपभोक्ता समिति गठन गरेको छ । सो योजना चालु वर्ष निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ काम अघि बढाउने औखरपौवा जलउपभोक्ता समितिका अध्यक्ष दिलकुमार तमाङले जानकारी दिनुभयो ।  औखरपौवा सिंचाइ योजनाबाट ६ सय घरपरिवार लाभान्वित हुनेछन् ।

५ वर्षसम्म पनि बनेन सिंचाई योजना

सिंचाइ कार्यलयबाटै सञ्चालित ३ वटा सिंचाइ योजना पनि ५ वर्ष बितिसक्दा समेत निर्माण सम्पन्न हुन सकेका छैनन् । सिंचाई कार्यलयले निर्माण सुरु गरेको शैलुङ गाउँपालिका ८ स्थित झोरखोला सिंचाइ योजना, मागापौवास्थित घट्टेखोला सिंचाइ योजना र मेलुङ गाउँपालिका ६ डाडाँखर्कस्थित निगाले जामुने सिंचाइ योजना ५ वर्ष बितिसक्दा समेत निर्माण सम्पन्न हुन नसकेका हुन् । आर्थिक वर्ष २०७१÷ ७२ सालमा निर्माण सुरु भएको शैलुङ गाउँपालिका ८ स्थित झोरखोला सिंचाइ योजना प्राविधिक समस्याका कारण ५ वर्ष बितिसक्दा समेत निर्माण सम्पन्न हुन नसकेको इन्जिनियर दाहालले जानकारी दिनुभयो । उहाँका अनुसार सो योजना निर्माणका लागि आएको २ करोड ९९ लाख ३९ हजार बजेटमध्ये हालसम्म १ करोड ८६ लाख ६५ हजार खर्च भइसकेको छ ।

सो योजनाको हालसम्म पाइपलाइन, नहर, मुहान बनाउने लगायतका ९७ प्रतिशत काम सम्पन्न भएको र चालु वर्ष निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको जलस्रोत तथा सिंचाइ विकास डिभिजन कार्यलय दोलाखाले जनाएको छ । सो योजना निर्माणको जिम्मा वाइबा एण्ड लामा कन्ट्रक्सनले पाएको थियो । यसैगरी आर्थिक वर्ष २०७१/७२ सालमै सिंचाइ कार्यालयले निर्माण सुरु गरेको मेलुङ गाउँपालिका ६ डाँडाखर्कस्थित निगाले जामुने सिंचाइ योजना पनि निर्माण सम्पन्न हुन सकेको छैन ।

निर्माण व्यवसायीको ढिलासुस्ति

निर्माण व्यवसायीको ढिलासुस्तीका कारण निर्माण सुरु गरेको ५ वर्ष बितिसक्दा समेत सो योजनाको निर्माण सम्पन्न हुन नसकेको हो । सो योजना निर्माणका लागि आएको २ करोड ३ लाख ३७ हजार बजेटमध्ये हालसम्म १ करोड २ लाख १३ हजार खर्च भइसकेको सिंचाइ कार्यलयले जनाएको छ । कार्यलयका अनुसार सुनकोशी कडेल जेभीले निर्माण सम्पन्न गर्ने ठेक्का पाएको सो योजनाको हालसम्म ९० प्रतिशत काम सम्पन्न भएको छ । यसका लागि  चालु वर्ष १५ लाख बजेट विनियोजन गरिएको र चालु वर्ष निर्माण सम्पन्न गर्ने लक्ष्य राखेको इन्जिनियर दाहालले जानकारी दिनुभयो ।

यस्तै आर्थिक वर्ष २०७२/७३ मा निर्माण सुरु भएको शैलुङ गाउँपालिका ३ मागापौवास्थित घट्टेखोला सिंचाई योजना पनि अझै निर्माण सम्पन्न हुन सकेको छैन । बाढीले मुहान बगाएपछि मुहान सानुपर्ने र पाइपलाइन अड््याउनका लागि जग्गा आवश्यक पर्ने भएकाले जल उपभोक्ता समितिसँग जग्गाको विषयमा सहमति नभएपछि सो योजना हालसम्म निर्माण सम्पन्न हुन नसकेको इन्जिनियर दाहालले बताउनुभयो । उहाँका अुनसार ओमबुद्ध कन्ट्रक्सनले निर्माण सम्पन्न गर्ने जिम्मा पाएको सो योजनाको हालसम्म ९० प्रतिशत पाइपलाइन मुहान बनाउने लगायतका काम सम्पन्न भएको र चालु वर्ष काम सम्पन्न गरिने लक्ष्य लिईएको छ । सो योजनाका लागि पनि चालु वर्ष १५ लाख बजेट छुट्यार्ईएको छ । निर्माण व्यवसायिको ढिलासुस्ती, प्राविधिक समस्या, बाढी पहिरो लगायतका समस्याले ४ वटा सिंचाइ योजना समयमै निर्माण सम्पन्न नभएको र चालु वर्ष सबै सिंचाइ योजना सम्पन्न हुने इन्जिनियर दाहालले दाबी गर्नुभयोे ।

चार वर्षसम्म पनि निर्माण सुरु भएन

सिंचाइ कार्यलयबाटै सञ्चालित एउटा योजना भने हालसम्म पनि काम नै सुरु हुन सकेको छैन । आर्थिक वर्ष २०७२/७३ सालमा निर्माण सुरु हुनु पर्ने मेलुङ गाउँपालिका ६ स्थित मिल्तीखोला सिंचाइ योजना निर्माण नै सुरु हुन नसकेको हो । सो योजनाको काम जल उपभोक्ता समितिसँगको विवादका कारण अझै सुरु हुन नसकेकाले चालु वर्ष कार्यलयको योजनाबाटै हटाउने तयारी भएको कार्यलयले जनाएको छ ।

जलस्रोत तथा सिंचाइ विकास डिभिजन कार्यालय दोलखाका तत्कालीन प्रमुख प्रकाश अधिकारी घुस रकम सहित पक्राउ परेपछि हालै मात्र नयाँ प्रमुखका रुपमा आएका डिभिजन प्रमुख मनिष महर्जनलाई हामीले वर्षौ देखि सम्पन्न नभएका सिंचाइ योजनाहरु अब कसरी अघि बढाउनुहुन्छ भन्ने प्रश्न राखेका थियौ ? हाम्रो यो प्रश्नमा डिभिजन प्रमुख महर्जनले वर्षौ देखि सम्पन्न नभई अलपत्र परेका सिंचाइ योजनाको अनुगमन गरी सार्वजनिक खरिद ऐनअनुसार म्याद थप गर्ने र म्याद थप गर्दा समेत काम सम्पन्न नगरे नियमअनुसार कारबाही गरिने जानकारी दिनुभयो ।

निर्माण व्यवसायीको ढिलासुस्ती, उपभोक्ता समितिसँगको विवाद, प्राकृतिक विपत्ति लगायतका समस्याले समयमै सिंचाइ योजना सम्पन्न नुहुनु एउटा प्रमुख कारण मानिएको छ । तर यसमा सिँचाई कार्यालयको फितलो अनुगमन र कडा व्यवस्था नहुँदा सिंचाई योजना दश बर्षसम्म पनि अलपत्र झै रहेका छन् । यसबाट सिंचाई योजनाबाट लाभान्वित सर्वसाधारण उपभोक्ता बढी मारमा पर्दै आएका छन् ।

२३ भदौ २०७६ । ८ः२० बजे प्रकाशित ।

VIEWS: 845 पटक हेरीएको
error: Content is protected !!