कालिका मावि घ्याङ्सुकाठोकरको ६५ औं वार्षिक उत्सव सम्पन्न

2 weeks ago/Thursday, February 18th, 2021

दोलखा, ६ फागुन ।

दोलखाको मेलुङ गाउँपालिका वडा नम्बर २ स्थित कालिका माविले ६५ औं वार्षिक उत्सव आज विभिन्न कार्यक्रम गरी मनाएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामकुमार कार्कीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको पूर्व जिविसका उपसभापति तथा नेकपाका नेता शिवप्रसाद भण्डारीले उद्घाटन गर्नुभयो । उद्घाटन मन्तव्य व्यक्त गर्दै नेता भण्डारीले कालिका मावि शैक्षिक गुणस्तर र अतिरिक्त क्रियाकलापमा समेत नमूना बन्ने बिस्वास व्यक्त गर्नुभयो । वार्षिक उत्सवमा विद्यालयका प्रधानाध्यापक रामभरत तमाङले गत आर्थिक वर्ष २०७६/७७ को विद्यालयको १ करोड १३ लाख बराबरको आय/व्यय प्रस्तुत गर्नुभयो ।

वार्षिक उत्सव समारोहमा जिल्ला समन्वय समितिका सदस्य विदुर शर्माले आफ्ना स्वर्गिय पिता हरिशंकर उपाध्यायको नाममा स्थापना गरेको अक्षयकोषबाट आएको व्याज रकमबाट ४५ जना विद्यार्थीलाई छात्रवृत्ति, झोला तथा स्टेशनरी वितरण गरीएको छ । जिसस सदस्य शर्माले कालिका माविमा पुस्तकालय स्थापनाका लागि ५१ हजार र अतिरिक्त क्रियाकलाप सञ्चालनका लागि १५ हजार गरी ६६ हजार नगद सहयोग पनि गरेका छन् । यस्तै रामप्रसाद चण्डकुमारी छात्रबृति कोषबाट चार जना विद्यार्थीलार्ई छात्रवृत्ति वितरण गरीएको छ भने विद्यालयमा भएको विभिन्न प्रतियोगीताका विजेतालाई पुस्कार वितरण गरीएको विद्यालयले जनाएको छ ।

कार्यक्रममा मेलुङ गाउँपालिकाका अध्यक्ष नरबहादुर श्रेष्ठ, गाउँपालिकाकी उपाध्यक्ष कल्पना भण्डारी, जिल्ला समन्वय समितिका सदस्य विदुर शर्मा, भूमि सम्बन्धी समस्या समाधान आयोगका जिल्ला अध्यक्ष धमेन्द्र मोक्तान, मेलुङ गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष हिरा थोकर, वडा नम्बर ७ का वडा अध्यक्ष नवराज खड्का, वडा नम्बर २ का वडा अध्यक्ष जितबहादुर भण्डारी, भूमेस्थान माविका प्रधानाध्यापक शिवबहादुर कार्की लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

६ फागुन, २०७७ । ५ः४० बजे प्रकाशित ।

VIEWS: 1385 पटक हेरीएको
error: Content is protected !!