कालिन्चोक गाउँपालिकाको अस्थायी केन्द्र सुनखानीमा र सेवा केन्द्र बन्देथलीमा राख्न नेकपाको निर्देशन

1 week ago/Thursday, November 7th, 2019

ईदोलखा संवाददाता ।
दोलखा, २१ कार्तिक ।

नेपाल कम्युनिष्ट पार्टी दोलखाले कालिन्चोक गाउँपालिकाको अस्थायी केन्द्र सुनखानीमै राख्न र लापिलाङको बन्देथलीमा सेवा केन्द्र राख्न निर्देशन दिएको छ ।

बिशेष गाउँ सभा मार्फत स्थायी केन्द्र तोक्न समस्या देखिएको र थप विवाद हुँदा मुठभेडको अवस्था सिर्जना हुन सक्ने भएपछि नेकपाले बैकल्पिक उपाय सुझाउँदै यस्तो निर्देशन दिएको हो । नेकपाले कालिन्चोक गाउँपालिकाको स्थायी केन्द्र बृहत छलफल र बहश पछि टुँगो लगाउनु पर्ने निश्कर्ष निकाल्दै हालका लागि कालिन्चोक गाउँपालिका वडा नम्बर ८ सुनखानीमै अस्थायी केन्द्र सँचालन गर्न र वडा नम्बर ५ बन्देथलीमा सेवा केन्द्र बिस्तार गरी नागरिकलाई सेवा दिन आफ्नो पार्टीवाट निर्वाचित जनप्रतिनिधिलाई निर्देशन दिएको छ । पार्टीको निर्देशन पछि आज हुने भनिएको कालिन्चोक गाउँपालिकाको बिशेष गाउँ सभा स्थगित भएको छ ।

कालिन्चोक गाउँपालिकाको स्थायी केन्द्र निर्धारण, वडा नम्बर ७, ८ र ९ लाई भीमेस्वरमा गाभ्न सहमति प्रदान गर्ने तथा बाँकी रहेका वडाहरुको पुर्न सँरचना गर्ने बिषयमा बिशेष गाउँ सभा बोलाएको थियो । तर, गाउँ सभा तोकिए पनि जनप्रतिनिधि वीच सहमति नहुँदा स्थिती जटिल बनेको थियो । आज विहान १० बजेवाट गाउँ सभा सुरु हुने भनिए पनि नेकपावाट निर्वाचित जनप्रतिनिधिलाई पार्टीले निरन्तर छलफलमा राखेर बैकल्पिक प्रस्ताव सहमत हुन निर्देशन दिएको थियो । पार्टी निर्देशन पछि बिशेष गाउँ सभा स्थगित भएपनि अध्यक्ष बिनकुमार थामी र उपाध्यक्ष कालिका पाठकले मिडियामा कुनै प्रतिक्रिया दिएका छैनन् । अध्यक्ष थामी र उपाध्यक्ष पाठक दुवै नेकपावाट निर्वाचित जनप्रतिनिधि हुन् ।

कात्तिक ३ गते राति गाउँपालिकाको अस्थायी केन्द्रबाट ताला फुटाएर पालिकाका महत्वपुर्ण कागजपत्र र सामाग्रीहरु लापिलाङको बन्देथली पु¥याइएको थियो । कालिञ्चोक गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष सुवास थामी सहित १० जना जनप्रतिनिधिको नेतृत्वमा लापिलाङबाटै कार्यालय सञ्चालन गर्ने भन्दै कार्यालयवाट सामान कव्जा गरीएको थियो । सो घटनामा संलग्नलाई कुनै कारवाही नभएको भन्दै कात्तिक १९ गते कालिञ्चोक गाउँपालिकाको वडा नम्बर ७, ८ र ९ का स्थानीयले जिल्ला प्रहरी कार्यालय अगाडि प्रदर्शन गरेका थिए ।

भुगोल फुटाउने एजेण्डामा कांग्रेसको आपत्ति

नेपाली कांग्रेस दोलखाले कालिञ्चोक गाउँपालिकामा प्रशासनिक केन्द्रको विषयलाई लिएर भएको विवाद र आज हुन गइरहेको विशेष गाउँसभाप्रति आफ्नो गम्भीर ध्यानकर्षण भएको जनाएको छ । कांग्रेसले विज्ञप्ति जारी गरी कालिञ्चोक गाउँपालिकाको वडा नम्बर ७, ८ र ९ लाई फुटाएर भीमेश्वर नगरपालिकामा गाभ्ने र १ देखि ६ नम्बर सम्मका बाँकी वडाहरु टुक्राउने एजेण्डा आफुहरुलाई मान्य नहुने बताएको छ । कांग्रेस दोलखाका सचिव सन्तोष रिमालद्धारा हस्ताक्षरित विज्ञप्तिमा नेपाल कम्युनिष्ट पार्टीभित्र उत्पन्न भएको विवाद मिलाउने नाममा र व्यक्तिगत स्वार्थ पुरा गर्नका लागि गाउँपालिका फुटाउने काम विशेष गाउँसभाबाट पारित नगर्न भनिएको छ । गाउँपालिकाको केन्द्र निर्वाचित जनप्रतिनिधिहरुले विधि र प्रक्रियाबाट टुंगो लगाउनुपर्ने कांग्रेसको भनाई छ ।

भूगोल फुटाउने र टुक्राउने जस्तो जनविरोधी निर्णय भएमा त्यसबाट उत्पन्न हुने परिणामको जिम्मेवारी सम्वन्धित दल वा सम्बन्धीत पक्षले लिनुपर्ने चेतावनी पनि दिएको छ ।

२१ कार्तिक २०७६ । ३ः०० बजे प्रकाशित

VIEWS: 4705 पटक हेरीएको
error: Content is protected !!