किवी जोन कार्यक्रममा दोलखाका तीन स्थानीय तह परेनन्, किवी किसान मारमा

7 days ago/Tuesday, September 10th, 2019

करुणा बस्नेत ।

दोलखा, २४ भदौ ।

दोलखामा किवी खेती विस्तारका लागि किवी जोन कार्यालय स्थापना भएर कार्यक्रम सुरु भएको दुई वर्ष वितिसके पनि जिल्लाका तीन स्थानीय तहमा अझै कार्यक्रम पुग्न सकेको छैन ।

जिल्लामा गत वर्षदेखि प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना, परियोजना कार्यान्वयन इकाई (किवी जोन) कार्यालय स्थापना भई कार्यक्रम सुरु भएपनि ३ स्थानीय तहमा अझै कार्यक्रम सञ्चालन हुन नसकेको हो । जिल्लाकोे तामाकोशी, मेलुङ र बैतेस्वर गाउँपालिकामा अझै किवी फलमा व्यवसायिक कृषि उत्पादन तथा प्रशोधन केन्द्र (जोन) विकास कार्यक्रम विस्तार हुन सकेको छैन । किवी जोन कार्यालयले जिल्लाका ६ वटा स्थानीय तहमा भने गत वर्ष देखि नै कार्यक्रम सञ्चालन गरिरहेको छ । किवि जोन कार्यालयले किवी बालीको क्षेत्र विस्तार, व्यवसायीकरण, बजारीकरण गरी किवी जोनमा आवद्ध भएका किसानहरुको आयआर्जनमा वृद्धि गरेर जिविकोपार्जनमा सहयोग गर्ने उद्देश्यले कार्यक्रम गरिरहेको छ ।

जिल्लाका तीन स्थानीय तहमा कार्यक्रम सञ्चालन भएन

कार्यक्रम अनुसार दोलखा जिल्लाको भिमेश्वर नगरपालिका वडा नम्वर १, ६, ७, ८ र ९, कालिन्चोक गाँउपालिका वडा नम्वर ६ र ९, शैलुङ्ग गाँउपालिका वडा नम्वर ३, ४, ५, ६, ७ र ८, जिरि नगरपालिका वडा नम्वर २, ४, ६ र ७ गौरीशंकर गाँउपालिका वडा नम्वर १, ३, ४ र विगु गाँउपालिका वडा नम्वर ३ र ४ मा किवी फलमा व्यवसायिक कृषि उत्पादन तथा प्रशोधन केन्द्र (जोन) विकास कार्यक्रम सञ्चालन भएको छ । जिल्लाका ३ स्थानीय तहमा पनि केही मात्रामा किवि खेती हुँदै आएपनि कार्यक्रममा नसमेटिएको हो । किवि खेती भईरहेपनि कार्यक्रम नपर्नु दुखद भएको कार्यक्रममा नसमेटिएका स्थानीय जनप्रतिनिधिको भनाई छ ।

तामाकोशी गाउँपालिकाले कार्यक्रम सञ्चालनका लागि माग गरेपनि कुनै प्रतिक्रिया नआएको जनाएको छ । गाउँपालिकाको वडा नम्वर ७ हावा, वडा नम्वर ६ च्यामा र वडा नम्वर २ झुलेको केही क्षेत्रका किसानहरुले किवि खेती गर्दै आएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विज्ञान कोईरालाले जानकारी दिनुभयो । विभिन्न क्षेत्रमा किवि खेती भईरहेको वैतेस्वर गाउँपालिकामा पनि किवी फलमा व्यवसायिक कृषि उत्पादन तथा प्रशोधन केन्द्र (जोन) विकास कार्यक्रम सञ्चालन हुन सकेको छैन । गाउँपालिकाको वडा नम्बर १, २ र ३ मा किवी खेती हुँदै आएको छ । मेलुङ गाउँपालिकाको पनि केही क्षेत्रका किसानहरुले किवि खेती गर्दै आएका छन् । सो गाउँपालिकामा पनि जोन विकास कार्यक्रम पुग्न नसकेको हो ।

किन भएन त तीन स्थानीय तहमा कार्यक्रम सञ्चालन ?

दोलखाका वरिष्ठ कृषि अधिकृत मोहन प्रसाद खतिवडाले किवि खेति भईरहेको क्षेत्रलाई कार्यक्रममा समेटिएको र खेति बिस्तार गर्न सक्ने सम्भावना नरहेको क्षेत्रलाई कार्यक्रममा नराखिएको प्रतिक्रिया दिनुभयो । तत्कालका लागि किवी खेती भईरहेका र किवि खेतीको सम्भावना भएका स्थानीय तहहरुमा किवि जोन विकास कार्यक्रम सञ्चालन गरिएकाले सबै क्षेत्र नसमेटिएको किवि जोन कार्यालयले जनाएको छ । कार्यालयका अनुसार कार्यक्रम सञ्चालन भएका स्थानीय तहहरुमा पनि सबै वडामा नभई बढि मात्रामा किवि खेती हुने क्षेत्रमा मात्रै कार्यक्रम लागु भएको छ । किवी जोन कार्यक्रम निश्चित समयअवधि, बजेट र जनशक्ति लिएर निश्चित समयभित्र तत्काल उपलब्धी हासिल गर्ने गरि सञ्चालन गरिएको हुँदा किवि खेती नहुने स्थानहरुलाई प्राथमिकता नदिईएको वरिष्ठ कृषि अधिकृत खतिवडाले बताउनुभयो । जिल्लामा रहेको क्षेत्र निर्धारण समितिले पनि वैत्यश्वर, मेलुङ र तामाकोशी गाउँपालिकामा अन्य स्थानीय तहको तुलनामा किवी उत्पादन कम हुने जनाएको छ ।

कार्यक्रममा नसमेटीएका स्थानीय तहका कृषकले पनि निशुल्क तालिम पाउने

किवी खेतीका लागि समेटिन नसकेका स्थानीय तहका किसानहरु व्यवसायीक रुपमा किवी खेती गर्नका लागि प्राविधिक रुपमा परामर्श, तालिम लिन आएमा निशुल्क दिन सकिने खतिवडाले बताउनुभयो । पछिल्लो समय थोरै जमिनमा थोरै लगानि गरेर आन्दानी लिन सकिने भन्दै किवी खेतीमा किसानहरुको आकर्षण बढ्दै गएको पाइन्छ । किवी जोन दोलखाका अनुसार गत वर्ष ७५ वटा कृषि समूहहरुले करिब १ सय ६० हेक्टर क्षेत्रफलमा किवी खेती गरेका थिए । हाल ४४ वटा थप कृषि सहकारी तथा कृषि समूहहरु दर्ता भई १ सय १९ वटा भएका छन् । जसअनुसार करिब ३ सय हेक्टर क्षेत्रफलमा किवी खेती विस्तार भएको कार्यालयले जनाएको छ ।

किवी खेतीका लागि पकेट, ब्लक, जोन र सुपर जोन गरी ४ वटा कार्यक्रम ल्याईएको छ । कुन क्षेत्रमा कस्तो कार्यक्रम लागु गर्ने भन्ने विषय भने क्षेत्रफलको आधारमा निक्र्यौल गर्ने गरिन्छ । जसअनुसार १० हेक्टर सम्मको जमिनलाई पकेट क्षेत्र मानिन्छ भने १ सय हेक्टर सम्मकोलाई ब्लक, ५ सय हेक्टरसम्मलाई जोन र १ हजार हेक्टर क्षेत्रफललाई सुपर जोन मानिन्छ ।

२४ भदौ, २०७६ । ९ः३० बजे प्रकाशित ।

VIEWS: 2545 पटक हेरीएको
error: Content is protected !!