कोरोना महामारी र बाढी पहिरोका बेला बिहान सबेरै भूकम्पले हल्लाएपछि…

4 days ago/Wednesday, September 16th, 2020

दोलखा, ३१ भदौ ।

कोरोना माहामारी र बाढी पहिरोका कारण दुखद घटनाहरु घटिरहेका बेला आज एकाविहानै भूकम्पले हल्लाएपछि दोलखाका नागरिकहरु त्रसित बन्न पुगका छन् ।

विश्वप्यापी फैलिएको कोरोनाको माहामारी, निरन्तरको वर्षापछिको बाढी र पहिरोका कारण प्रभावित भइरहेका बेला विहानै सबेरै ठुलो धक्कासहित भूकम्प गएपछि मानिसहरु त्रसित बन्न पुगेका हुन् । २०७२ सालको विनाशकारी भूकम्पले ठुलो क्षति बेहोरेका दोलखाबासि सिन्धुपाल्चोकको राम्चेलाई केन्द्रविन्दु बनाएर गएको ६ रेक्टर स्केलको ठुलो भूकम्पले झनै त्रासमा परेका हुन् । विहान सवेरै एक्कासि ठुलो धक्का सहित भूकम्प गएपछि केहीबेर कोलाहलसहित भागदौड समेत भएको थियो ।

खासगरी बजार क्षेत्रमा रहेका ठुला पक्कि भवनमा बस्ने मानिसहरु भूकम्पको ठुलो धक्कासँगै आत्तिएर घर बाहिर निस्किएका थिए । सदरमुकाम चरिकोट, सिंगटी, मैनापोखरी, जिरी, मागादेउराली लगायतका बजार क्षेत्रमा भूकम्पको विनाशपछि पनि ठुला ठुला भवनहरु बनेका छन् । २०७२ सालको भूकम्पमा जोगिएका ठुला घरहरु तथा भूकम्पको विनाशपछि बनेका ठुला भवनमा बस्ने मानिसहरु सबैभन्दा बढी त्रसित बन्न पुगेका थिए ।

यद्धपि ग्रामीण क्षेत्रमा बनेका एक तले घर र कटेजमा बस्दै आएका मानिसहरु भने आजको भूकम्पमा कम त्रसित बनेका थिए । सामान्यतया एक तले घर भूकम्पको जोखिम कम हुने भएका कारण पनि उनीहरु ढुक्कले घरभित्रै बसेका थिए । दोलखासँग सिमा जोडिएको सिन्धुपाल्चोकको राम्चे केन्द्रविन्दु बनाएर आज बिहान ५ बजेर २० मिनेटमा ६ रेक्टर स्केलको भूकम्प गएको हो । करिब १० सेकेन्डसम्म भूकम्पको धक्का महसुस भएको हो । सिन्धुपाल्चोक केन्द्रविन्दु बनाएर भूकम्प गएसँगै दोलखा, काभ्रे, रामेछाप, काठमाडौं उपत्यकासहित विभिन्न जिल्लामा यसको धक्का महसुस गरिएको थियो । यो भूकम्प नयाँ नभई २०७२ सालकै पराकम्प भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । जिल्लामा भूकम्पबाट के कति क्षति भयो भन्ने विस्तृत विवरण आउँन बाँकी रहेको दोलखाका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक रेशम बोहराले जानकारी दिनुभयो ।

३१ भदौ, २०७७ । ९ः२० बजे प्रकाशित ।

VIEWS: 935 पटक हेरीएको
error: Content is protected !!