क्षेत्राधिकार बाहिर गएर प्रदेश नम्वर २ सरकारद्धारा वागमति प्रदेशको दोलखामा टेम्पो सञ्चालनको अनुमति

7 months ago/Saturday, February 8th, 2020

करुणा बस्नेत ।

दोलखा, २५ माघ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले हिमाली तथा उच्च पहाडी क्षेत्रमा टेम्पो सञ्चालन नगर्न परिपत्र गरेपनि दोलखामा नियम विपरीत टेम्पो सञ्चालन भइरहेको छ ।

मन्त्रालयले सुरक्षाको दृष्टिकोणले उपयुक्त नहुने भन्दै उच्च पहाडी तथा हिमाली क्षेत्रमा इरिक्सा, ट्राइसाइकल तथा टेम्पोहरु सञ्चालन नगर्न पत्राचार गरेपनि दोलखा सदरमुकाम चरिकोटमा टेम्पो सञ्चालन भईरहेको हो । मन्त्रालयले मंसिर १० गते नै परिपत्र गरेपनि दोलखामा स्थानीय सरकारले गरेको आग्रहलाई समेत वेवास्ता गर्दै प्रदेश नम्बर २ बाट अनुमति लिएर टेम्पो सञ्चालन भईरहेको छ । ६ वटा टेम्पोहरु प्रदेश २ अन्र्तगतको यातायात व्यवस्था कार्यालय जनकपुरबाट रुट परमिट लिएर दोलखामा सञ्चालन भईरहेको पाईएको छ ।

दोलखामा टेम्पो चलाउनु जोखिमपूर्ण

सरकारले भुगोलको हिसावले हिमाली जिल्लामा टेम्पो चलाउनु जोखिमपूर्ण रहेको भन्दै परिपत्र गरेपछि भिमेश्वर नगरपालिकाले टेम्पो चलाउन रोक लगाएको थियो । करिब ३ महिनाअघिदेखि जिल्लामा सञ्चालनमा आएको टेम्पो नगरपालिकाले सञ्चालन गर्न नदिएसँगै केही समय रोकीए पनि हाल प्रदेश नम्बर २ सरकारले जिल्लाभरी सञ्चालन गर्न मिल्ने गरी रुट परमिट दिएपछि जिल्लाका केही व्यक्तिहरुले टेम्पो सञ्चालन गरिहेका छन् ।

प्रदेश नम्वर २ ले कानुन विपरीत आफ्नो क्षेत्राधिकार बाहिर गएर वागमति प्रदेशमा टेम्पो सञ्चालन गर्न अनुमति दिएको हो । टेम्पो सञ्चालनका लागि अनुमति लिन भन्दै केही व्यक्तिहरु भिमेश्वर नगरपालिकामा आएपनि सरकारको परिपत्र अनुसार जिल्लामा टेम्पो सञ्चालनको अनुमति नदिएको भीमेश्वर नगरपालिकाका प्रमुख भरत केसीले बताउनुभयो ।

यातायात व्यवस्था विभागले अनुमति दिएको छैन

केही व्यक्तिहरुले अटेर गरेर सदरमुकाम आसपासमा टेम्पो चलाइरहेपछि सो विषय केही समय विवादीत बनेको थियोे । सोहि क्रममा पहाडी इलाका, साँघुरा र भिरालो सडक एवम् यात्रु सुरक्षा नदेखिएको लगायतको कारण देखाउँदै भिमेश्वर नगरपालिकाले मंसिर १८ गते यातायात व्यवस्था विभाग मिनभवन काठमाडौंलाई टेम्पो सञ्चालनमा ल्याउन नदिन पत्राचार समेत गरेको थियो । सो पत्रअनुसार यातायात विभागले पनि दोलखामा टेम्पो सञ्चालनका लागि रुट परमिट दिएको थिएन ।

यसैगरी जिल्ला प्रशासन कार्यालयले पनि माघ १३ गते भाडामा टेम्पो सञ्चालन गर्न नदिन आग्रह गर्दै बागमति प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयलाई प्रत्राचार गरेको प्रमुख जिल्ला अधिकारी भिमकान्त शर्माले जानकारी दिनुभयो । उहाँका अनसार बागमती प्रदेशले पनि दोलखा जिल्लाभर टेम्पो चलाउन नदिने निर्णय गरेको थियो ।

बागमति प्रदेशमा प्रदेश दुईको हस्तक्षेप

प्रदेश २ को यातायात कार्यालय जनकपुरबाट अनुमति लिएर जिल्लामा ६ वटा टेम्पो सञ्चालन भइरहेको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक रेशम बोहराले जानकारी दिनुभयो । जिल्लामा रुट परमीट लिएर टेम्पो सञ्चालनमा आएपछि जिल्ला प्रहरी कार्यालय दोलखाले पनि सो साधान उपयुक्त छ, छैन भन्ने विषयमा जिल्ला प्रशासनलाई पत्राचार गरेको थियो । रुट परमिटसहित जिल्लामा टेम्पो सञ्चालनमा आएपछि जिल्ला प्रशासनले प्रदेश २ को क्षेत्राधिकार भित्र नपर्ने विषयमा अनुमति दिनु उपयुक्त भए/नभएको, विमाको व्यवस्था, दुर्घटनापछि दिइने क्षतिपुर्ति लगायतका विषयमा स्पष्ट पार्न गृहमन्त्रालयलाई पत्राचार गरेको छ ।

यद्धपि जवाफ आउन बाँकी रहेको प्रमुख जिल्ला अधिकारी शर्माले बताउनुभयो । भिमेश्वर नगरपालिकाका प्रमुख भरत केसीले सरकारले जोखिम हुने भन्दा भन्दै प्रदेश २ ले रुटपरमिट दिनु आफ्नो क्षेत्राधिकार नभएको भन्दै नागरिकको सुरक्षाको दृष्टिकोणलाई मध्यनजर गर्दै टेम्पो चलाउन प्रतिवन्द गरिने बताउनुभयो ।

यस्तो छ जिल्ला प्रशासन कार्यालय र भीमेश्वर नगरपालिकाको पत्र

नगरबस सञ्चालनमा आउन सकेन

नगरपालिकाले गत वर्षबाटै नगर बस सञ्चालनमा ल्याउने भनिएपनि अझै सञ्चालनमा आउन सकेको छैन । नगरपालिकाले गत वर्ष नगरबस सञ्चालनका लागि ४० लाख बजेट विनियोजन गरेपनि हालसम्म सो काम हुन नसकेको हो । यसअघि नगरपालिकाले ४० लाख आफ्नो र ६० लाख रकम अन्य निकाय वा व्यक्तिको प्रयोग गरी बस सञ्चालनमा ल्याउन भन्दै सुचना जारी गरेको थियो ।

तर कुनै पनि निकायले चासो नदेखाएपछि नगरवस सञ्चालको विषय पछि हटेको नगरपालिकाले जनाएको छ । हाल काठमाडौंका यातायात व्यवसायी समितिसँग छलफल गरी सहकार्य गरेर नयाँ वर्षबाट नगरवस सञ्चालनमा ल्याउने गरी तयारी भइरहेको नगरप्रमुख केसीले बताउनुभयो । यद्धपि छलफल भएपनि टुंगो भने नलागेको उहाँको भनाई छ । सुरुमा पाँच वटा बस सञ्चालनमा ल्याउने तयारी भइरहेको नगरपालिकाले जनाएको छ ।

२५ माघ, २०७६ । १०ः ०० बजे प्रकाशित ।

VIEWS: 10700 पटक हेरीएको
error: Content is protected !!