गाईआनुवांशिक स्रोत केन्द्र जिरीको आम्दानीमा वृद्धि

3 weeks ago/Friday, February 7th, 2020

जिरी (दोलखा), २४ माघ ।

दोलखाको जिरी नगरपालिकास्थित गाईअनुवांशिक स्रोत केन्द्र जिरीको आम्दानीमा वृद्धि भएको छ ।

गाई आनुवांशिकले गत वर्षको तुलनामा यो वर्ष आम्दानीमा वृद्धि गरेको हो । गत वर्ष २०७५/७६ मा ६० लाख १४ हजार आम्दानी गरेको आनुवांशिक केन्द्रले चालु आर्थिक वर्षको ६ महिनाको अवधिमै ३४ लाख १४ हजार आम्दानी गरेको हो । यसअघि आनुवांशिक स्रोत केन्द्रले साउनदेखि मंसिर सम्मको अवधिमा ३० लाख आम्दानी गरेको थियो । केन्द्रले दैनिक २ सय २० लिटर दुध उत्पादन गर्दै आएको जनाएको छ । गत वर्षको यो अवधिको तुलनामा आम्दानीमा वृद्धि भएपनि गाई लिलामी लगायतका कारण हाल केन्द्रमा ३० वटा लैना गाई, गाभिना गाई, कोरेली र बाच्छा बाच्छी गरी करिब सय वटा मात्रै रहेको आनुवांशिक केन्द्रका प्रमुख शिव प्रकास आचार्यले जानकारी दिनुभयो । केन्द्रले चालु वर्षको हाल सम्मको अवधिमा मात्रै ३० वटा गाई र ९१ वटा बंगुरको पाठापाठी लिलामी गरेको छ । गाई लिलामी गरेसँगै गाईको संख्यामा कमी आएपछि छिट्टै २८ वटा उच्च वंशाणुगत गुण भएको गाई थप्ने तयारी गरिएको केन्द्रका पशु विकास अधिकृत श्याम सुन्दर यादवले जानकारी दिनुभयो । स्वीस सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा २०१४ सालमा पशु विकास फार्मको रुपमा स्थापना भई २०७५ सालदेखि गाई आनुवांशिक स्रोत केन्द्रको रुपमा सञ्चालनमा रहेको सो फार्मले वर्षेनी त्यहाँ रहेको गाईको लिलामी र नयाँ गाई थप गर्ने गर्दै आएको छ ।

यसैबीच, आनुवांशिक केन्द्रले हिजो फार्म स्थापना दिवस मनाएको छ । केन्द्रले हिजो एक कार्यक्रमको आयोजना गरी फार्म स्थापना दिवस मनाएको हो । २०२० साल माघ २३ गतेको दिन तत्कालीन राजा महेन्द्र शाहले फार्मको उद्घाटन गरिएको दिनलाई स्थापना दिवशको रुपमा मनाउँदै आइएको छ ।

२४ माघ, २०७६ । ८ः३० बजे प्रकाशित ।

VIEWS: 1520 पटक हेरीएको
error: Content is protected !!