गीतकार रमेश दाहाललाई बिष्णुलक्ष्मी तुलसीमाया साहित्य सम्मान

8 months ago/Wednesday, January 15th, 2020

दोलखा, १ माघ ।

यो बर्षको बिष्णुलक्ष्मी तुलसीमाया साहित्य सम्मानबाट गीतकार एवँ श्रष्टा रमेश दाहाल सम्मानित भएका छन् ।

बिष्णुलक्ष्मी साहित्यिक पुरस्कार समितिले स्थापना गरेको सम्मानवाट दोलखाको काब्रे स्थायी घर भएका गीतकार दाहाल सम्मानित भएका हुन् । जिल्ला समन्वय समिति दोलखाका प्रमुख डवल पाण्डेले दाहाललाई नगद १० हजार र सम्मान पत्र सहित सम्मान गर्नुभएको हो । गीतकार दाहाल पछिल्लो समय निकै चर्चा कमाएका गीतकार हुन् । उनले एक हजार बढी गीतको रचना गरेकोमा तिन सय गीतहरु रेकर्ड भएका छन् । पछिल्लो पटक उनले लेखेका गीतहरु निकै चर्चामा पुगेर बिभिन्न अवार्ड पनि पाएका छन् ।

श्रष्टा एवँ पत्रकार चिरञ्जीवी मास्केले जन्मदिने आमा तुलसीमाया र पालनपोषण गरी शिक्षा दिने आमा बिष्णुलक्ष्मीको स्मृतिमा आफ्नो जन्मदिनको अवसर पारेर हरेक बर्षको माघ १ गते बिष्णुलक्ष्मी तुलसीमाया साहित्य सम्मान प्रदान गर्ने गरेका छन् । कार्यक्रममा ‘भिजिट २०२०’ लाई लक्षित गरी दोलखाका २० पर्यटन गन्तव्यलाई समेटेर तयार पारिएको प्रदेय नाम पुस्तकको विमोचन पनि गरिएको छ । यो बर्षको प्रदेय दोलखाका प्रमुख पर्यटकीय गन्तव्यका बारेमा समेटेर प्रकाशन गरिएको छ ।

बिष्णुलक्ष्मी साहित्यिक पुरस्कार समितिले आयोजना गरेको पुस्तक विमोचन तथा पुरस्कार बितरण कार्यक्रमलाई सम्वोधन गर्दै जिल्ला समन्वय समिति दोलखाका प्रमुख डवल पाण्डे, तामाकोशी गाउँपालिकाका अध्यक्ष इस्वरचन्द्र पोखरेल, शैलुङ गाउँपालिकाका अध्यक्ष भरत दुलाल र भीमेस्वर नगरपालिकाकी नगर उपप्रमुख कमला बस्नेतले पर्यटनलाई समेटेर प्रकाशित प्रदेय नामक पुस्तकले दोलखाको पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने बिस्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा दोलखाका प्रमुख जिल्ला अधिकारी भिमकान्त शर्मा, सामुदायिक रेडियो प्रसारक सँघ नेपालका केन्द्रिय कोषाध्यक्ष लक्ष्मण खड्का, दोलखा उद्योग वाणिज्य सँघका अध्यक्ष इन्द्रवहादुर श्रेष्ठ लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो भने श्रष्टा मानवहादुर (एमवी) खड्का लगायतका श्रष्टाहरुले आ आफ्नो रचना प्रस्तुत गर्नुभएको थियो ।

१ माघ, २०७६ । १०ः४० बजे प्रकाशित ।

VIEWS: 3485 पटक हेरीएको
error: Content is protected !!