गौरीशंकर संरक्षण क्षेत्रमा पहिलो पटक भेटियो हिउँ चितुवा

2 weeks ago/Wednesday, June 5th, 2019

दोलखा, २२ जेठ ।

दोलखामा पहिलो पटक हिमचितुवा फेला परेको छ ।

गौरीशंकर संरक्षण क्षेत्र आयोजना (जिक्याप) ले गरेको अनुसन्धानका क्रममा दोलखामा पहिलो पटक हिमचितुवा फेला परेको हो । जिक्यापले जिल्लाको विगु गाउँपालिका वडा नम्वर १ (साविक लामावगर गाविस १) लप्ची उपत्यकामा गरेको क्यामेरा ट्रापिङबाट दोलखामा पहिलो पटक हिमचितुवा (अन्सिया अन्सिया) को उपस्थिति आधिकारिक रुपमा प्रमाणित भएको छ । जिक्यापले आज सिंगटीमा पत्रकार सम्मेलन गरि अनुसन्धानका क्रममा विगतमा रेकर्ड नभएको र सुनौलो विरालो (गोल्डेन क्याट) र हिमचितुवा फेला परेको जानकारी गराएको हो । २०७५ साल असोज देखी २०७६ बैशाख सम्म गरेको अनुसन्धानले समुद्री सतहबाट ४ हजार ८७ मिटर माथि हिमचितुवाको तीनवटा तस्बिर रेकर्ड गरेको जिक्यापले जनाएको छ ।

मध्य एशिया र हिमालय पर्वतमा मात्र बसोबास गर्ने प्राणी हिमचितुवालाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को अनुसूची १ तथा अन्तराष्ट्रिय संरक्षण संघ (आई.यु.सि.एन.) ले समेत दुर्लभ प्रजातिको रुपमा सूचीकृत गरेको छ । विश्वमा १० हजार भन्दा कम संख्यामा जिवित रहेको अनुमान गरिएको हिमचितुवाको संख्या नेपालमा ३०० देखि ५०० मात्र रहेको अनुमान गरिएको छ । दोलखास्थित गौरींशकर संरक्षण क्षेत्रमा भने ३ देखि ५ वटासम्म हिमचितुवा रहेको अनुमान छ । नेपालको कञ्चन्जंघा, मकालु बरूण, सगरमाथा, लाङ्टाङ, मनास्लु, अन्नपूर्ण, शे फोक्सुण्डो, ढोरपाटन, अपिनाम्पा क्षेत्र लगायतका हिमाली क्षेत्रहरुमा हिमचितुवाको उपस्थितीको रेकर्ड गरिएको छ ।

गौरीशंकर संरक्षण क्षेत्र आयोजना (जिक्याप) ले गत अक्टोबरमा ४३ सय मिटरको उचाईमा क्यामरा फिट गरेको थियो । सो क्यामरामा २ हजार १८ को नोभेम्वर ११ अर्थात (कात्तिक २५ गते) बिहान ८ बजे हिमचितुवाको तस्वीर रेकर्ड भएको हो । यद्धपी सो क्यमरामा हिमचितुवाको आधा माग मात्रै देखिएको छ । सो क्षेत्रमा १३ वटा क्यामरा फिट गरिएपनि दुई वटा हराएको र बाँकी ११ वटामा मात्रै रेकर्ड भएको जिक्यापले जनाएको छ । हराएका २ वटा क्यामरामा हिमचितुवाको थप तस्वीर रेकर्ड भएको हुनसक्ने अनुसन्धान टोलीको अनुमान छ ।

गौरीशंकर संरक्षण क्षेत्र आयोजना (जिक्याप) ले २०७५ साल असोज देखी २०७६ बैशाख सम्म गरेको अनुसन्धानले समुद्री सतहबाट ४०८७ मिटर माथि हिउँ चितुवाको तीनवटा तस्बिर रेकर्ड गरेको हो । दोलखास्थित गौरींशकर संरक्षण क्षेत्रमा भने ३ देखि ५ वटासम्म हिमचितुवा रहेको अनुमान छ ।

जिक्यापले गरेको क्यामेरा ट्रापिङबाट देखिएको हिमचितुवा

जिक्यापले लप्ची उपत्यकाको विभिन्न स्थानमा ‘इन्फ्रारेड क्यामरा’ राखेर गरेको अनुसन्धानका क्रममा गौरीशंकर संरक्षण क्षेत्रभित्र चरिबाघ, कस्तुरी मृग र आसामी (पहरे) बाँदरजस्ता संरक्षित जनावर तथा हिमाली कालो भालु, तिब्बती फ्याउरो, झारल, घोरल, नाउर, चितुवा, रातो फ्याउरो लगाएत १५ विभिन्न प्रजातिका स्तनधारी जनावरहरु भेटिएको थियो । क्यामराको रकेर्ड अनुसार २ सय घण्टामा कस्तुरी मृगको मात्रै ८३ पटक रकेर्ड भएको छ । सो क्षेत्रमा कस्तुरी मृग पर्याप्त मात्रामा पाईने अुसन्धान टोलीले बताको छ ।

राष्ट्रिय प्रकृति संरक्षण कोषबाट स्वीकृत “जैविक विविधता अध्ययन अनुसन्धान” कार्यक्रम सञ्चालनका लागि आयोजना प्रमुख सत्यनारायण साहको निर्देशन बमोजिम जैविक विविधताको हिशावले महत्वपूर्ण सो उपत्यकाबाट अनुसन्धानकार्य सुरु गरिएको थियो । आयोजनाका संरक्षण अधिकृत बिष्णु प्रसाद पाण्डे तथा पोखरा विश्वविद्यालय, नेपाल इन्जिनियरिङ कलेज, स्नात्तकोत्तर अध्ययन केन्द्रका उपप्रध्यापक डा. नारायण प्रसाद कोजुको संयुक्त नेतृत्वमा आयोजनाको प्राकृतिक श्रोत संरक्षण सहायक शंकरमान थामी र स्तानकोत्तर तहमा अध्ययनरत विद्यार्थी बिजय बस्यालको समुहले लप्ची उपत्यकामा क्यामेरा ट्रापिङ तथा स्थलगत अनुसन्धान गरेको हो ।

क्यामेरा ट्रापिङ तथा स्थलगत अनुसन्धान टोली

अनुन्धानमा खटिएका डा. नारायण प्रसाद कोजुले हिमचितुवा चिनको प्रशासित क्षेत्र तिव्वतबाट लप्ची हुँदै नेपाल तथा मुलुकका अन्य राष्ट्रिय निकुञ्ज आवत जावत गर्ने गरेकाले लप्ची भ्याली हिमचितुवाको करिडोर भएको बताउनुभयो । उहाँले लप्ची क्षेत्रलाई हिमचितुवाको संरक्षित क्षेत्र र कस्तुरीको पदमार्गको रुपमा विकास गर्न सके वन्यजन्तुको संरक्षण र पर्यटन प्रवद्र्धनमा महत्वपुर्ण टेवा पुग्ने बताउनुभयो ।
गौरीशंकर संरक्षण क्षेत्र आयोजनाले आज सिंगटीमा आयोजना गरेको कार्यक्रममा बोल्दै प्रतिनिधिसभाका सांसद पार्वत गुरुङले लप्ची क्षेत्रलाई हिमचितुवा जोनको रुपमा विकास गर्नुपर्ने धारणा राख्नुभयो ।

कार्यक्रममा संरक्षण क्षेत्रका आयोजना प्रमुख सत्यनारायण शाहले जिक्यापको यो पहिलो अनुसन्धान भएको र आगमी दिनमा रोल्वालिङ क्षेत्रमा समेत क्यामरा ट्रापिङ गरि हिमचितुवा र अन्य लोपोन्मुख वन्यजन्तुको खोज अनुसन्धान गर्ने जानकारी दिनुभयो ।

जिक्यापले जारी गरेको विज्ञप्तीको पुर्ण विवरणः

२२ जेठ, २०७६ । १०ः ०० बजे प्रकाशित ।

VIEWS: 4375 पटक हेरीएको
error: Content is protected !!