घर नम्बर टाँसे वापत एक हजार शुल्क लिने निर्णयमा पुर्नविचार नगर्ने जनप्रतिनिधिको अडान

1 week ago/Wednesday, May 15th, 2019

दोलखा, १ जेठ ।

दोलखाको गौरीशंकर गाउँपालिकाले घर नम्बरिङ गरेवापत एक हजार शुल्क उठाएकोमा चौतर्फि बिरोध भईरहेका बेला गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षले शुल्क उठाउने काम नरोकिने बताएका छन् ।

गौरीशंकर गाउँ कार्यपालिकाको बैठक बसेको भोलिपल्ट हाम्रो रेडियोसँग कुराकानी गर्दै गाउँपालिकाका अध्यक्ष स्वयमवहादुर खड्काले घर नम्बर टाँस्ने र सो वापत शुल्क लिने काम नरोकिने बताउनुभएको हो । हिजो बसेको गाउँ कार्यपालिकाको बैठकमा यसअघिको निर्णय फिर्ता लिन नहुने जनप्रतिनिधिले अडान राखेपछि अध्यक्ष खड्काको यस्तो प्रतिक्रिया आएको हो । उहाँले प्रति घरधुरी एक हजारका दरले उठाएको शुल्कबाट घर नम्बर टाँस गर्नुका साथै घरपरिवारको व्यक्तिगत विवरण, व्यवसाय तथा रोजगारीको विवरण पनि संकलन गरिने हुँदा यसअघि गाउँ कार्यपालिकाले गरेको निर्णयमा पुर्नविचार नहुने बताउनुभयो । अध्यक्ष खड्काले अहिलेसम्म गाउँपालिकाका कुनै पनि नागरिकले शुल्क उठाएकोमा औपचारिक रुपमा गुनासो नगरेको दावी गर्दै शुल्क तिर्न नसक्नेहरुको हकमा पुर्नविचार गरिने बताउनुभयो ।

सामाजिक सञ्जालमा उपाध्यक्षको बचाउ

अध्यक्ष खड्काले यस्तो दावी गरेपनि घर नम्बर राख्ने र विवरण अद्यावधिक गर्ने बहानामा प्रति घरधुरी एक हजार शुल्क उठाएकोमा सामाजिक सञ्जाल लगायत चौतर्फि बिरोध भईरहेको छ । बिरोधका वीच उपाध्यक्ष उर्मिला थामीले पनि दुई दिन अघि फेसबुक स्टाटस मार्फत एक हजार शुल्क उठाउने गाउँपालिकाको निर्णयको बचाउ गर्नुभएको छ । उपाध्यक्ष थामीले उठेको शुल्कवाट घर नम्बर कायम गरी नम्बर प्लेट टाँस गर्ने, पारिवारीक विवरण अद्यावधिक गरी सफट्वयेर निर्माण गर्ने, भूकम्पपछि निर्मित भवनलाई निर्माण सम्पन्नताको प्रमाण पत्र दिने, भिलेज प्रोफाईल बनाई गुरुयोजना निर्माणमा सहयोग गर्ने र बाँकी रहेको रकम सम्वन्धित वडामै खर्च गरिने जिकिर गर्नुभएको छ । यद्धपि, पारिवारिक विवरण अद्यावधिक गर्नेदेखि भिलेज प्रोफाईल र भवन निर्माणको सम्पन्नता प्रमाण पत्र तयार गर्नेमा जनतावाट शुल्क उठाएर खर्च गर्ने कुरा आफैंमा हाँस्यास्पद छ ।

वडा अध्यक्षको मिडियालाई आरोप

यसैवीच, प्रति घरधुरी एक हजार शुल्क उठाएको गौरीशंकर गाउँपालिका वडा नम्बर ५ सुरीका वडा अध्यक्ष डिल्लिध्वज बस्नेतले जनतावाट शुल्क उठाएको रकमलाई मिडियाले अतिरञ्जीत गरेको आरोप लगाउनुभएको छ । घर नम्बर टाँस्दा शुल्क लिएको बिषयलाई सच्याउने प्रतिवद्धता गर्नुको सट्टा वडा अध्यक्ष बस्नेतले नियोजितरुपमा आफूलाई बदनाम गर्न खोजिएको आरोप लगाउनुभयो । घर नम्बर टाँस गरे वापत वडावाट प्रति घरधुरी एक हजार शुल्क उठाउने वडापालिकाको निर्णय नभई गाउँपालिकाको भएको र गाउँपालिकाले नैं निर्णय सच्याउनु पर्ने उहाँको भनाई छ ।

गौरीशंकर गाउँपालिकाले पालिकामा भूकम्पपछि निर्माण सम्पन्न गरेका घरहरुमा घर नम्बर टाँसे वापत एक हजार शुल्क उठाउँदै आएको छ । सुरीमा मात्रै ११ सय ९५ घरधुरीवाट ११ लाख ९५ हजार उठ्ने छ भने सिंगो गाउँपालिकावाट लाखौं रकम गाउँपालिकाले आम्दानी गर्नेछ ।

१ जेठ, २०७६ । ३ः ०० बजे प्रकाशित ।

VIEWS: 6875 पटक हेरीएको
error: Content is protected !!