चरिकोटमा किवी महोत्सव सुरु

4 weeks ago/Wednesday, January 1st, 2020

दोलखा, १६ पुस ।

प्रदेश नम्बर तीनका कृषिमन्त्रि दावादोर्जे लामाले दोलखाको कृषि उत्पादनका क्षेत्रमा प्रदेश सरकारले सक्दो सहयोग गर्ने बताउनुभएको छ ।

दोलखामा उत्पादन हुने कृषि उपजका विषयमा आफुले जानकारी पाइसकेको भन्दै मन्त्रि लामाले अब बस्ने प्रदेशसभाको बैठकमा दोलखाको विकासको विषयमा कुरा राख्ने बताउनुभयो । दोलखा सदरमुकाम चरिकोटमा आजदेखि सुरु भएको किवी महोत्सव तथा चरिकोट स्ट्रिट फुड फेस्टिबलको उद्धघाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो । प्रदेश सरकार दोलखाको विषयमा चिन्तित रहेको उल्लेख गर्दै उहाँले अब दोलखालाई कुनै कुराको कमी हुन नदिने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

मन्त्रि लामाले विदेशबाट आयात नभई निर्यात गर्ने वातावरण सिर्जना गर्न दोलखाबाट सुरुवात गर्नुपर्नेमा जोड दिनुभयो । दोलखाका सवै गाउँपालिका र नगरपालिकाले योजना निर्माण गरेर अघि बढेमा जिल्लामै रोजगारी सिर्जना हुने उहाँको भनाई छ । अर्को प्रसंगमा उहाँले दोलखामा आउने स्वदेशी या विदेशी पर्यटकलाई सहुलियत दिनुपर्नेमा जोड दिनुभयो । जिल्ला भित्रने पर्यटकलाई कोसेली दिएर पठाउने वातावरण सिर्जना गर्नुपर्ने भन्दै उहाँले त्यसका लागि सवै गाउँपालिका र नगरपालिकाले पहल गर्नुपर्ने बताउनुभयो ।


महोत्सवको उद्धघाटन अघि सातदोबाटो चोकबाट ¥याली निकालेर बजार परिक्रमा गरिएको थियो । महोत्सवमा बाह्य तथा आन्तरिक पर्यटकको सहभागीता छ । नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरि सन् २०२० को पूर्वसन्ध्यामा दोलखा सदरमुकाम चरिकोटमा भव्यताका साथ महोत्सव सुरु भएको हो । महोसवको उद्धघाटन समारोहमा गाउँपालिका तथा नगरपालिकाका प्रमुख उपप्रमुखहरुले आ–आफ्नो क्षेत्रमा भएका पर्यटीय स्थलको विषयमा जानकारी गराएका छन् । महोत्सवमा किवीको जाम, किवीको जुस, किवीफल, सुन्तला लगायत कृषिसँग सम्बन्धी विभिन्न स्टलहरु राखिएका छन् ।

 

१६ पुस २०७६ । ६ः२० बजे प्रकाशित ।

VIEWS: 2145 पटक हेरीएको
error: Content is protected !!