चरिकोटमा सम्पन्न जिल्ला लिग फुटबलको उपाधी टाईगर टिमलाई

3 months ago/Saturday, June 29th, 2019

दोलखा, १४ असार ।

दोलखा सदरमुकाम चरिकोटमा सम्पन्न जिल्ला लिग फुटबल प्रतियोगिताको उपाधी टाइगर टिमले जितेको छ ।

प्रतियोगिता अन्र्तगत आज सम्पन्न फाईनल खेलमा चरिकोट सिटि क्लवलाई पराजित गर्दै टाईगर टिमले उपाधी जितेको हो । टाईगर टिमले उपाधीसँगै नगद ४० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेतामा चित्त बुझाएको चरिकोट सिटि क्लवले नगद २० हजार सहित ट्रफि मेडल र प्रमाणपत्र पाएको छ । प्रतियोगिताको सेमिफाईनलमा पुग्न सफल खाँडादेवी समाजसेवा क्लव शैलुङ र दोलखा युनाईटेड क्लवले नगद ५/५ हजार पुरस्कार पाएका छन् । असार ५ गतेदेखि सुरु भएको प्रतियोगितामा जिल्ला लिग सँघमा आवद्ध ११ क्लवबीच प्रतिस्पर्धा भएको थियो ।

हनुमन्ते र त्रिपुरा पनि विजयी

विद्यालयस्तरीय प्रतियोगितामा हनुमन्तेश्वर मावि र त्रिपुरा ग्लोरिएस एकेडेमी विजयी भएका छन् । अन्तर मावि फुटबल प्रतियोगिताको छात्रातर्फ हनुमन्ते र छात्रतर्फ त्रिपुरा विजयी भएका हुन् । प्रतियोगिता अन्र्तगत आज भएको खेलमा मोर्डन नेपाल स्कुललाई २÷१ गोल अन्तरले पराजित गर्दै त्रिपुरा विजयी भएको हो । जितसँगै प्रथम स्थान हाँसिल गरेको त्रिपुराले नगद १५ हजार र द्धित्तिय भएको मोर्डन नेपालले नगद ७ हजार ५ सय सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

यस्तै, प्रतियोगिताको छात्रातर्फ आज भएको फाईनल खेलमा द राइजिङ स्टार बोर्डिङ स्कुललाई ट्राइब्रेकरमा १–० गोल अन्तरले पराजित गर्दै हनुमन्तेश्वर मावि विजयी भएको छ । हनुमन्तेले जितसँगै नगद १० हजार पुरस्कार पाएको छ भने द्धित्तिय स्थान हाँसिल गरेको राईजिङले नगद ५ हजारसहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

उत्कृष्ट खेलाडीलाई पनि पुरस्कार

दोलखा जिल्ला फुटबलसँघको आयोजनामा भएको जिल्ला लिग र अन्तर मावि फुटबलका विजेताहरुलाई आजै एक कार्यक्रमका बीच पुरस्कार वितरण गरिएको छ । प्रतियोगिताका उत्कृष्ट किप्पर, उत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्ता खेलाडीहरुलाई पनि नगद १ हजार ५ सय र ट्रफी प्रदान गरिएको दोलखा जिल्ला फुटबलसँघका अध्यक्ष गोविन्द श्रेष्ठले जानकारी दिनुभयो ।असार ७ गतेदेखि सुरु भएको विद्यालयस्तरीय प्रतियोगिता अन्र्तगत छात्रतर्फ १५ र छात्रातर्फ ११ टिमको सहभागिता रहेको थियो ।

(आवरण तस्वीरः छात्रा तर्फको फुटबलमा प्रथम स्थान हाँसिल गर्न सफल हनुमन्तेश्वर माविको टिम)

१४ असार, २०७६ । ६ः ३० बजे प्रकाशित ।

VIEWS: 2560 पटक हेरीएको
error: Content is protected !!