चुनावी माहौल आफ्नो पक्षमा बलियो भएको कार्की समूहको दावी

3 months ago/Friday, May 10th, 2019

दोलखा, २७ बैशाख ।

दोलखा उद्योग वाणिज्य संघको भोली हुने निर्वाचनको परिणाम आफ्नो पक्षमा आउने सुन्दर कार्की प्यानलले दावी गरेको छ ।

चुनावी प्रचारकै क्रममा रहेका अध्यक्ष पदका प्रत्यासी सुन्दर कार्कीले निर्वाचनको माहौल आफ्नो प्यानलको पक्षमा बलियो हुँदै गएको दावी गर्नुभएको हो । अघिल्लो निर्वाचनमा पनि पेचिलो अवस्थामा एक मत अन्तरले अध्यक्ष पदमा बिजयी भएको र यो पटक विगतको भन्दा बलियो अवस्था रहेको कार्कीको जिकिर छ । कार्की प्यानलले सिँगटी, मैनापोखरी र मागादेउरालीवाट समेत अग्रता लिने र चरिकोटको मत बराबर हुने अवस्था आएपनि चुनाव जित्ने आकंलन गरेको छ ।

कार्की नेतृत्वको प्रगतिशिल प्यानललाई देशकै ठूलो दल नेपाल कम्युनिष्ट पार्टीको समर्थन रहेका कारण पनि चुनावी नतिजा आफ्नो पक्षमा आउने उनीहरुको दावी छ । कार्की प्यानललाई बिजयी गराउन नेकपाका नेता तथा कार्यकर्ताहरु खुलेर लागेका छन् भने मतदातालाई कडा ढँगले लविङ गरिरहेका छन् । संघको २१ औं अधिवेशनमा अध्यक्ष पदका उम्मेदवार रामेस्वर मानन्धरलाई कांग्रेस, तत्कालिन माओवादी र राप्रपाको समर्थन रहदा पनि एमालेको समर्थन पाएका सुन्दर कार्कीले मानन्धरलाई एक मत अन्तरले पराजित गरेका थिए । अहिले पूर्व एमाले र माओवादी मिलेर बनेको नेकपा समर्थक धेरै व्यवसायी भएका कारण कार्की प्यानलले जित सुनिश्चित हुने देखेको छ । दुई दिन अघि अर्थात बुधवारसम्म मौन रहेका नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य एवँ दोलखा उद्योग वाणिज्य सँघका पूर्व अध्यक्ष सुदर्शन कार्कीले हिजोवाट खुलेर समर्थन गरेका कारण पनि कार्की प्यानल उत्साहित भएको छ ।

श्रेष्ठ प्यानलको पनि बिजयी हुने दावी

इन्द्रवहादुर श्रेष्ठको प्यानलले पनि भोली हुने निर्वाचन परिणाम आफ्नो पक्षमा आउने दावी गरेको छ । आफ्नो टिमका उम्मेदवार पुराना र अनुभवी व्यवसायी भएका कारण पनि चुनाव जित्ने श्रेष्ठ प्यानलको भनाई छ । अध्यक्ष पदका प्रत्यासी इन्द्रवहादुर श्रेष्ठले आफ्नो पक्षमा बलियो माहौल बनेको दावी गर्नुभयो । नेपाली काँग्रेस र राप्रपाको समर्थन रहेको श्रेष्ठ प्यानल स्वतन्त्र व्यवसायी र नेकपा निकट व्यवसायीहरुको केहि मत चोरेर भएपनि बिजयी हुने दाउमा छ । पूर्व अध्यक्ष रामेस्वर मानन्धर र नेकपा निकट व्यवसायी पृथ्वीवहादुर श्रेष्ठको खुल्ला समर्थनका कारण बिजय हात पार्न सकिने श्रेष्ठ प्यानलको अनुमान छ । श्रेष्ठ प्यानललाई बिजयी गराउन कांग्रेस र राप्रपाका नेताहरु पनि सक्रियताका साथ खटिईरहेका छन् । दोलखा उद्योग वाणिज्य संघका ८ सय ५२ जना मतदाता रहेकोमा ५ सय ८४ जना चरिकोटमा, सिंगटीमा ८६, मागादेउरालीमा ७९, मैनापोखरीमा ६२ र अन्य ४१ सदस्य छन् ।

एसोसिएट सदस्य निर्विरोध

दोलखा उद्योग वाणिज्य संघको भोली हुने निर्वाचनका लागि आज मनोननयन दर्ता भएको छ । मनोनयन दर्ताकै क्रममा श्रेष्ठ प्यानलका उम्मेदवार कृष्णवहादुर श्रेष्ठ निर्विरोध भएका छन् । मनोनयन दर्ताको अवधिभित्र कार्की प्यानलका उम्मेदवार भक्तवहादुर शिवाकोटी उपस्थित हुन नसकेपछि श्रेष्ठ स्वत निर्विरोध निर्वाचित भएका हुन् । सिंगटीका व्यवसायी भक्तवहादुर शिवाकोटीले निर्वाचन अधिकृतको कार्यालयमा नगई मञ्जुरीनामा दिएर पठाएकाका कारण उनको उम्मेदवारी दर्ता हुन नसकेको हो ।

कार्की प्यानलका उम्मेदवार

कार्की प्यानलवाट अध्यक्षमा सुन्दर कार्की र सदस्यहरुमा गंगावहादुर बुढाथोकी, दिनेश बस्नेत, दिनेश पाठक, बलराम थापा, विकास श्रेष्ठ, भिमवहादुर श्रेष्ठ, रामकुमार खड्का, सरुना श्रेष्ठ, सुरेश उप्रेती, सुन्दर श्रेष्ठ, स्यामकृष्ण कायस्थ र हिमाल न्यौपाने तथा महिला सदसयमा नविना लामा र दलित सदस्यमा अनिल रिजालको उम्मेदवारी दर्ता भएको छ ।

श्रेष्ठ प्यानलका उम्मेदवार

श्रेष्ठ प्यानलवाट अध्यक्षमा इन्द्रवहादुर श्रेष्ठ र सदस्यहरुमा दिनेश थापा, हेमराज रिमाल, देवकृष्ण थापा, सनत थापा, निलाकुमार श्रेष्ठ, मनोजकुमार श्रेष्ठ, कुलप्रसाद पौडेल, सुरेन्द्र उप्रेती, बिबेक खत्री, गणेशविक्रम साही, बिमल श्रेष्ठ र सुव्वा श्रेष्ठ तथा महिला सदस्यमा अनिता श्रेष्ठ र दलित सदस्यमा नवराज रिजालको उम्मेदवारी दर्ता भएको छ ।

२७ बैशाख २०७६ । ५ः१५ बजे प्रकाशित

VIEWS: 2450 पटक हेरीएको
error: Content is protected !!