जनसचेतन साकोस प्रदेश ३ को उत्कृष्ट सहकारी, प्रधानमन्त्री केपी ओलीले दिए पुरस्कार

2 months ago/Tuesday, April 2nd, 2019

दोलखा, चैत्र १९ ।

दोलखाको वैतेश्वर गाउँपालिका वडा नम्वर ४ मैनापोखरीस्थित जनसचेतन बचत तथा ऋण सहकारी संस्था लिमिटेड प्रदेश नम्वर ३ को उत्कृष्ट सहकारी बनेको छ ।

जनसचेतन साकोसले ६२ औँ राष्ट्रिय सहकारी दिवसको अवसरमा प्रदेश ३ को उत्कृष्ट सहकारीको सम्मान पाएको हो । ‘दिगो लक्ष्य प्राप्तिका लागि सहकारी’ भन्ने मुल नाराका साथ काठमाडौँस्थित राष्ट्रिय सभागृहमा आज आयोजित विशेष समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले जनसचेतन साकोसका अध्यक्ष भिमप्रसाद दाहाललाई उत्कृष्ट सहकारीको पुरस्कार हस्तान्तरण गर्नुभएको छ । पुरस्कारको राशी २ लाख नगद र सम्मानपत्र रहेको छ । भूमी व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले जनसचेतन साकोसलाई प्रदेश नम्वर ३ को उत्कृष्ट सहकारीका रुपमा छनौट गरेको थियो । संघीय व्यवस्था लागु भएपछि पहिलो पटक प्रदेशको उत्कृष्ट सहकारीका रुपमा जनसचेतन साकोसलाई पुरस्कृत गरिएको हो ।

मुलुककै नमुना सहकारी रहेको जनसचेतन साकोसले यसअघि पनि राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका धेरै पुरस्कार तथा सम्मान पाएको छ । २०६६ सालमै राष्ट्रिय सहकारी महासँघबाट राष्ट्रिय स्तरको उत्कृष्टता प्राप्त गरेको जनसचेतन साकोसले २०६९ मा एक्सेस ब्रोञ्ज र २०७३ सालमा सिल्भर ब्राण्ड पाईसकेको जिल्ला सहकारी सँघका अध्यक्ष एवम् जनसचेतन साकोसका उपाध्यक्ष हेमन्त चौँलागाईले जानकारी दिनुभयो । हाल गोल्ड व्राण्डको दावेदार रहेको जनसचेतन साकोस ब्रोञ्ज र सिल्भर ब्राण्ड पाउने मध्य पनि जिल्लाकै पहिलो सहकारी हो ।
यो सहकारीले यसअघि २०६९ सालमा राष्ट्रिय सहकारी वैंकबाट पनि उत्कृष्ट सहकारीको सम्मान पाएको थियो भने २०७१ मा आन्तरिक राजस्व कार्यालयबाट उत्कृष्ट करदाताको सम्मान पाएको थियो । जिल्लामा डिभिजन सहकारी सँघ, जिल्ला सहकारी सँघ र जिल्ला बचतसँघबाट पनि उत्कृष्ट सहकारीको पुरस्कार पाईसकेको जनसचेतन साकोसलाई यही वर्ष जिल्ला प्रहरी कार्यालय दोलखाले पनि मैनापोखरी क्षेत्रमा शन्तिसुरक्षा र अमनचयन कायम गर्न भूमीका खेलेको भन्दै सम्मान गरेको छ ।

चैत्र १९, २०७५ । ३ः ०० बजे प्रकाशित ।

VIEWS: 4185 पटक हेरीएको
error: Content is protected !!