जलस्रोत तथा सिंचाइ विकास डिभिजन कार्यालयका प्रमुख घुससहित पक्राउ परेको डेढ महिना पछि आए नयाँ प्रमुख

2 weeks ago/Wednesday, September 4th, 2019

दोलखा, १८ भदौ ।

जलस्रोत तथा सिंचाइ विकास डिभिजन कार्यलय दोलखाका प्रमुख घुस रकमसहित पक्राउ परेको डेढ महिना पछि कार्यालयमा नयाँ प्रमुख आएका छन् ।

तत्कालिन कार्यालय प्रमुख घुससहित पक्राउ परेको डेढ महिनापछि जलस्रोत तथा सिंचाइ विकास डिभिजन कार्यलय दोलखाका नयाँ प्रमुखमा मनिष महर्जन आएका हुन् । यसअघि रानीजमरा कुलरीया सिञ्चाई आयोजना टिकापुर कैलालीमा रहेका महर्जन यही भदौ १० गतेदेखि जलस्रोत तथा सिंचाइ विकास डिभिजन कार्यलय दोलखाको प्रमुखका रुपमा कार्यालय हाजिर भएका हुन् । तत्कालिन कार्यालय प्रमुख प्रकाश अधिकारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत साउन ३ गते घुस रकम सहित पक्राउ गरेको थियो ।

अख्तियारको टोलीले उनलाई आर्थिक वर्ष सकिए लगत्तै दोलखाबाट काठमाडौँ जाने क्रममा १३ लाख ३८ हजार घुस रकम सहित बाटोबाटै पक्राउ गरेको थियो । अधिकारी असार मसान्त सकिएसँगै दोलखाबाट घुस रकम लिएर काठमाडौ जाँदै गर्दा बाटोमै पक्राउ परेपछि सिञ्चाई विकास डिभिजन कार्यालय करिव डेढ महिना निमित्त प्रमुखको भरमा चलेको थियो । सो अवधिमा कार्यालयका इन्जिनियर निर्मल दाहालले निमित्त प्रमुखको जिम्मेवारी सम्हालेका थिए । सिञ्चाई विकास डिभिजन कार्यालय दोलखाको प्रमुखका रुपमा दोलखा आएको करिव ८ महिनामै घुस रकमसहित पक्राउ परेका अधिकारी अख्तियारको अनुसन्धानकै क्रममा रहेका छन् । प्रमुख नै मोटो घुस रकम सहित पक्राउ परेपछि करिव डेढ महिना कार्यालय प्रमुख विहिन हुँदा कार्यालयको काम कारवाही समेत प्रभावित भएको थियो ।

पारदर्शी काम हुन्छः कार्यालय प्रमुख महर्जन

हालै कार्यालय हाजिर भएका नयाँ प्रमुख मनिष महर्जनले भने आफ्नो कार्यकालमा कार्यालयको कामकारवाहीलाई पारदर्शी बनाईने दाबि गर्नुभएको छ । आँफुले आएलगत्तै कार्यालयका ईन्जिनियरहरुलाई समेत गुणस्तरीय र पारदर्शी काम गर्न निर्देशन दिईसकेको उहाँले जानकारी दिनुभयो । सिञ्चाई विकास डिभिजन कार्यालयमा भ्रष्टचार भएकै कारण आयोजना सम्पन्न हुनै लामो समय लाग्ने गरेको आरोप लागिरहेका बेला नया प्रमुख महर्जनले पारदर्शी काम गर्ने दावि गर्नुभएको हो ।

१८ भदौ, २०७६ । ७ः ३० बजे प्रकाशित ।

VIEWS: 1075 पटक हेरीएको
error: Content is protected !!