जव पर्यटनमन्त्री भट्टराईले जिरीलाई ‘स्वर्गको टुक्रा’ भन्दै सम्बोधन गर्नुभयो….

4 weeks ago/Friday, October 18th, 2019

ईदोलखा संवाददाता ।

जिरी (दोलखा), १ कार्तिक ।

संघीय सरकारका सँस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले मुलुकको पर्यटन विकासका लागि आन्तरिक पर्यटनलाई पहिलो प्राथमिकतामा राखेको बताउनुभएको छ ।

सरकारले आन्तरिक पर्यटन प्रवद्र्धनलाई नैं प्राथमिकतामा राखेको भन्दै उहाँले पहिले देश घुमेर मात्रै विदेश घुम्नु पर्ने बताउनुभयो । दोलखाको पर्यटकीय नगरी जिरीमा आजदेखि सुरु भएको तिन दिने स्ट्रिट फुड फेस्टिभलको उद्घाटन गर्नै पर्यटन मन्त्री भट्टराईले यस्तो बताउनुभएको हो । मन्त्री भट्टराईले आन्तरिक पर्यटन प्रवद्र्धनका लागि सरकारले कर्मचारी, उद्यमी, व्यवसायी लगायतका क्षेत्रलाई स्वदेशमै भ्रमण गर्नका लागि उत्प्रेरित गरेको र मन्त्रालयको जोड आन्तरिक पर्यटनमै हुने स्पस्ट पार्नुभयो ।

पर्यटन मन्त्री भट्टराईले जिरी उपत्यका स्वर्गको टुक्रा जस्तै भएपनि समयको परिवर्तनसँगै जिरीले पनि आफूलाई रुपान्तरण गर्नु पर्ने धारणा राख्नुभयो । उहाँले सगरमाथाको प्रवेश द्धार भन्ने पुरानो नाराले मात्रै जिरीको पर्यटन विकास गर्न नसकिने भएकोले अव जिरीले बाह्य पर्यटकका लागि मात्र नभई आन्तरिक पर्यटकहरुलाई समेत आकर्षण दिनु पर्ने र सोही अनुसार पूर्वाधार विकास गर्नु पर्ने बताउनुभयो ।
जिरीमा एरपोर्ट सँचालनको विषयमा पर्यटन मन्त्री भट्टराईले आफु सकारात्मक रहेको र सम्भाव्यता अध्ययनका लागि प्राविधिक टोली खटाएर त्यसको प्रतिवेदन अध्ययन गरी आवस्यक प्रक्रिया अघि बढाउने बताउनुभयो । उहाँले जिरीमा एरपोर्ट बनाउन हुन्न भन्ने ठाउँमा आफु नभएको र सकारात्मक रहेको बताउनुभयो । मन्त्री भट्टराई आज विहान जिरी एरपोर्ट ओर्लिना साथ पुुरानो एरपोर्टको अवस्थाका बारेमा निरिक्षण गरी आवस्यक जानकारी लिनु भएको थियो । पूर्व साँसद इन्द्रवहादुर खड्का लगायतले जिरीमा एरपोर्टको आवस्यक्ता र अवस्थाका बारेमा जानकारी गराएका थिए ।

 

पर्यटन मन्त्री भट्टराईले आफ्नो सम्वोधनको क्रममा दोलखासँगको पुरानो साईनोलाई पनि जोड्नुभयो । क्याम्पसमा बिद्यार्थी राजनीति गर्दा आफू स्ववियू उपसभापति हुँदा दोलखाकै बिद्यार्थी नेता सभापति रहेको र पूर्व साँसदहरु ईन्द्रवहादु खड्का, जितविर लामा र पशुपति चौंलागाई आफ्नो अग्रज भएको बताउनुभयो । तिनै जना नेताहरुले आफूलाई कम्युनिष्ट अनुशासन र इमान्दारिता सिकाएको भन्दै मन्त्री भट्टराईले उहाँहरुप्रति सम्मान व्यक्त गर्नुभयो । नेकपाका सचिव समेत रहनु भएका मन्त्री भट्टराईले नेपाली कांग्रेसका स्वर्गिय नेता भिमवहादुर तामाङलाई प्रजातान्त्रिक आन्दोलनका योद्धा र सादगी नेता भएको र उहाँवाट आफ्नो पुस्तले अनुशासन र सादगी सिकेको बताउनुभयो । उहाँले परिवर्तनकामी आन्दोलनमा दोलखावाट ठूलो सहादत भएको उल्लेख गर्दै जनआन्दोलन र जनयुद्धका सहिदहरुप्रति सम्मान पनि व्यक्त गर्नुभयो ।

त्यस लगत्तै पर्यटन मन्त्री भट्टराई जिरी एरपोर्टका लागि सम्भावित अर्को स्थान अर्थात कुथामेडाँडा पुगेर स्थलगत रुपमा अवलोकन गर्नुभएको थियो । मन्त्री भट्टराई फुड फेस्टिभलको उद्घाटन गरे लगत्तै हेलिकोप्टर मार्फत राजधानी फर्किनु भएको छ । कार्यक्रममा बोल्दै पूर्व राज्यमन्त्री एवँ नेपाल कम्युनिष्ट पार्टी दोलखाकी ईन्चार्ज देवी खड्काले जिरीको पर्यटन विकासका लागि सँघीय सरकारले बिशेष प्राथमिकता दिएर पूर्वाधार विकासमा जोड दिनु पर्ने बताउनुभयो । उहाँले मन्त्री भट्टराईको ध्यानाकर्षण गराउँदै जिरी एरपोर्ट सँचालन तथा जिरी नगरपालिकाले अघि सारेको कृत्रिम ताल निर्माण र प्रदेस सरकारको समेत प्राथमिकतामा परेको हनुमन्तेमा हनुमानको मूर्ति सहितको एकिकृत पर्यटन विकासका योजनामा सहयोग गर्न आग्रह पनि गर्नुभयो ।

युवा सञ्जाल जिरीको आयोजनामा जिरीमा तिन दिने फुड फेस्टिवल सुरु भएको हो । सञ्जालका अध्यक्ष केन्द्रज्योति खड्काको अध्यक्षतामा फेस्टिभलको उद्घाटन समारोहमा जिल्ला समन्वय समितिका उपप्रमुख मनमाया जिरेल, दोलखाका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजा, सामुदायिक रेडियो प्रसारक सँघ नेपालका केन्द्रिय कोषाध्यक्ष लक्ष्मण खड्का, जिरी नगरपालिकाका कार्यवाहक नगर प्रमुख ज्ञानवहादुर सुनुवार, नेपाली कांग्रेस जिरी नगर समितिका सभापति सोनाम शेर्पा, नेकपा जिरी नगर कमिटीका सचिव टपिन्द्र खड्का, युवा सञ्जाल जिरीका सल्लाहकार बाबुराजा श्रेष्ठ, सचिव गौतम जिरेल लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
पर्सिसम्म चल्ने फेस्टिभलमा बिभिन्न खानाका परिकारहरुको स्टल, राष्ट्रिय तथा स्थानीय कलाकारहरुको साँगितिक प्रस्तुती, कन्सर्ट, भलिवल प्रतियोगिता, रमाईलो मेला लगायतका मनोरञ्जनका साधानहरु राखिएको छ ।

१ कार्तिक २०७६ । ६ः३० बजे प्रकाशित

VIEWS: 5230 पटक हेरीएको
error: Content is protected !!