शरिरको क्यान्सरलाई जितेँ, समाजको क्यान्सरलाई निर्मूल पार्न चाहन्छुः डिएसपी पाठक

3 months ago/Thursday, June 6th, 2019

दोलखा, २३ जेठ ।

हालै मात्र सरुवा भएका दोलखाका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक (डिएसपी) बासुदेव पाठकलाई जिल्लाका ३० वटा सामाजिक सँस्थाहरुले सामूहिक बिदाई गरेका छन् ।

जिल्ला प्रहरी प्रमुख भएर कार्य सम्पादन गर्दा दोलखामा शान्ति सुरक्षा कायम गर्न, अपराध नियन्त्रण गर्न र सञ्चार माध्यमलाई सहज ढँगले सूचना दिन महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै यतिधेरै सामाजिक सँघ/सँस्थाहरुले डिएसपी पाठकको सामूहिक बिदाई गरेका हुन् । जिल्लाका सञ्चार माध्यम तथा सञ्चार सम्वद्ध सँस्थाहरु, दोलखा उद्योग वाणिज्य सँघ, जिल्ला फुटवल सँघ, जिल्ला व्याडमिन्टन सँघ लगायत ३० वटा सँस्थाले ताम्रपत्र सहित डिएसपी पाठकको सम्मान र बिदाई गरेका हुन् ।

हाम्रो रेडियोको सभा हलमा आयोजित बिदाई कार्यक्रममा बोल्दै डिएसपी पाठकले आफूले व्यक्तिगत जीवनमा शरिर भित्रको रक्त कोषिकाका क्यान्सर निर्मूल पार्न सफल भएको र प्रहरी संगठनमा रहेर समाजमा रहेका क्यान्सरका कोषिकाहरु निर्मूल पार्ने अभियानमा रहेको बताउनुभयो । डिएसपी पाठकले आफ्ना जिन्दगीका सँघर्षपूर्ण जीवनको स्मरण गर्दै क्यान्सरलाई फाईट व्याक गरेर पुर्नजीवन पाएको र महिला हिँशा, घरेलु हिँशा र बाल यौन हिँशाका बिरुद्ध पनि जिल्लामा फाईट व्याक अभियान चलाएको बताउनुभयो । डिएसपी पाठकलाई थाईराईडको क्यान्सर भएपनि हाल उनी क्यान्सर मुक्त छन् ।

‘फाईट ब्याक’ कार्यक्रम उपलव्धिमूलक

बिदाई समारोहमा बोल्दै सामुदायिक रेडियो प्रसारक सँघ नेपालका केन्द्रिय कोषाध्यक्ष लक्ष्मण खड्काले डिएसपी पाठकको नेतृत्वमा रहेको दोलखा प्रहरीले वालिका र किशोरीलाई लक्षित गरी सँचालन गरेको ‘फाईट ब्याक’ कार्यक्रम उपलव्धिमूलक भएको बताउनुभयो । यस्तै, दोलखा उद्योग वाणिज्य सँघका अध्यक्ष इन्द्रवहादुर श्रेष्ठले पनि चोरी लगायतका घटना नियन्त्रण गरेर प्रहरीले व्यवसायीक सुरक्षामा महत्वपूर्ण सहयोग गरेको धारणा राख्नुभयो । कार्यक्रममा बोल्दै पत्रकार महासँघका पूर्व केन्द्रिय सदस्य चिरञ्जीवी मास्के, दोलखा जिल्ला शाखाका पूर्व अध्यक्ष राजेन्द्र मानन्धर र उद्धवप्रसाद पोखरेल तथा पत्रकारहरु रमेश खतिवडा र गोकर्ण भण्डारीले डिएसपी पाठक सञ्चार मैत्री भएका कारण जिल्लाका सञ्चार माध्यमहरुलाई सूचनामा सहजता भएको बताउनुभयो ।

बिदाई कार्यक्रममा पत्रकार महासँघ दोलखा शाखाका अध्यक्ष जीवन लामाको अध्यक्षमा भएको थियो । एक बर्षअघि दोलखा प्रहरी प्रमुखको जिम्मेवारीमा आएका डिएसपी पाठकको सम्पति शुद्धिकरण विभाग, प्रहरी महाशाखा पुल्चोक ललितपुरमा सरुवा भएको छ । दोलखामा नयाँ प्रहरी प्रमुखको जिम्मेवारीमा मानवहादुर राई आउने भएका छन् ।

डिएसपी विदाई कार्यक्रमका थप तस्वीरहरुः

२३ जेठ, २०७६ । ७ः ३० बजे प्रकाशित ।

VIEWS: 7415 पटक हेरीएको
error: Content is protected !!