जिरीको ढुङ्गेश्वरी माविको बन्यो सुविधा सम्पन्न भवन

2 weeks ago/Wednesday, November 27th, 2019

जिरी (दोलखा), ११ मंसिर ।

दोलखाको जिरी नगरपालिका ५ स्थित ढुंगेश्वरी माध्यमिक विद्यालयको नवनिर्मित भवन आज हस्तान्तरण गरिएको छ ।

जिरीस्थित ढुंगेश्वरी माध्यमिक विद्यालयको १९ कोठे नवनिर्मित भवन आज जिल्ला आयोजना कार्यन्वयन इकाई शिक्षा दोलखाका प्रमुख देवकुमार बरालले विद्यालयका प्रधानाध्यापक लिलाबहादुर जिरेललाई चाबी दिएर हस्तान्तरण गर्नुभएको हो । सो भवनको प्रदेशसभा सांसद एवम् कार्यक्रमका प्रमुख अतिथि विशाल खड्काले रिबन काटेर उद्धघाटन गर्नुभयो । विद्यालयको उद्धघाटन गर्दै प्रदेश सांसद खड्काले भूकम्पबाट क्षतिग्रस्त विद्यालय भवन निर्माण गर्न सहयोग गर्ने नेपाल सरकारलाई धन्यवाद दिदैँ प्रदेश सरकारले पनि दोलखाको शिक्षा क्षेत्रको विकासका लागि साथ र सहयोग गर्ने बताउनुभयो । सांसद खड्काले पर्यटकीय नगरी जिरी प्राकृतिक सुन्दरताले भरिपुर्ण रहेको भन्दै यसको विकास लागि सबै एक जुट हुनुपर्नेमा जोड दिनुभयो ।

सन् २०१७ को सेप्टेम्बरमा निर्माण सुरु भएको नवनिर्मित भवनको पुननिर्माण २०१९ को नोभेम्बरमा सम्पन्न भएको थियो । सो विद्यालय भवन करिब ६ करोड ३९ लाख लागतमा निर्माण भएको जिल्ला आयोजना कार्यन्वयन इकाई शिक्षा दोलखाका प्रमुख देवकुमार बरालले जानकारी दिनुभयो । सो विद्यालय भवन नेपाल सरकारको १२ प्रतिशत र एसियाली विकास बैँकको ८८ प्रतिशत ऋण सहयोगमा निर्माण भएको उहाँले बताउनुभयो । सो विद्यालय पुननिर्माण गर्ने जिम्मा श्याम सुन्दर फेवा जेभी कम्पनिले ठेक्का पाएको थियो ।कार्यक्रममा विद्यालयले विद्यालय निर्माणमा सहयोग गर्ने १० जनालाई प्रमाणपत्रसहित सम्मान पनि गरेको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पदेमान जिरेलको अध्यक्षमा सम्पन्न कार्यक्रममा जिरी नगरपालिकाका मेयर टंक जिरेल, नेकपा जिरी नगर कमीटिका इञ्चार्ज मित्र जिरेल नेकपा जिरीका अध्यक्ष नविन जिरेल,जिरी माविका प्रधानाध्यापक केशव कार्की लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । यस्तै कार्यक्रममा जिरी नगरपालिकाकी उपप्रमुख कृष्णमाया बुढाथोकी, प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रिजाल, इलाका प्रहरी कार्यलय जिरीका प्रहरी निरीक्षक रामकृष्ण श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।

तस्विर सौजन्यः केन्द्रज्योति खड्का

११ मंसिर, २०७६ । ४ः५० बजे प्रकाशित ।

VIEWS: 2950 पटक हेरीएको
error: Content is protected !!