जिरी (दोलखा), १३ साउन ।
दोलखाको जिरी नगरपालिकास्थित जिरी तेक्वान्दो डोजाङका खेलाडीहरु चौथो विश्वव्यापी अन्तराष्ट्रिय तेक्वान्दो च्याम्पियनशिप खेल्न मलेसिया जाने भएका छन् ।
मलेसियामा यही साउन १७ गतेदेखि हुन गइरहेको चौथो विश्वव्यापी अन्तराष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा सहभागी हुन जिरी तेक्वान्दोका एक जना टिम कोच र एक जना टिम म्यानेजर तथा २ खेलाडी सहित ४ जना मलेसिया जाने भएका हुन् । जसअनुसार कोचमा पासाङ शेर्पा, टिम म्यानेजर केशव कुमार कार्की र खेलाडीहरुमा रिमा खत्री र हिमकला जिरेल मलेसिया जाने भएका छन् । चौथो विश्वव्यापी अन्तराष्ट्रिय तेक्वान्दो च्याम्पियनशिप खेल्न जाने टिमलाई आज जिरी नगरपालिकाले एक कार्यक्रमको आयोजना गरी विदाई गरेको छ । नगरप्रमुख टंक जिरेलले आज उनीहरुको विदाई गर्नुभएको हो ।
विदाई कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रिजाल र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिरीका अध्यक्ष नविन जिरेल लगायतको सहभागीता थियो ।
१३ साउन, २०७६ । ७ः१० बजे प्रकाशित ।
VIEWS: 5025 पटक हेरीएको