जिरीमा नगरस्तरीय प्रथम नगरकप फुटबल सुरु

6 months ago/Sunday, December 2nd, 2018

(जिरी संवाददाता)

दोलखा, १६ मंसिर ।

दोलखाको पर्यटकीय नगरी जिरीमा आजदेखि नगरस्तरीय प्रथम नगरकप फुटबल प्रतियोगिता २०७५ सुरु भएको छ ।

जिरी नगरपालिका घोषणा भएको अवसरमा आजबाट नगर स्तरीय प्रथम नगरकप फुटबल प्रतियोगिता सुरु भएको हो । प्रतियोगिताको उद्धघाटन खेलमा सनराईज युवा क्लव वडा नम्वर ६ र वडा नम्वर ९ बीच प्रतिस्पर्धा भएकोमा दुवै टिम बराबरीमा रोकिएका छन् । जिरीस्थित जिरी हवाई मैदानमा भएको खेलमा दुवै टिमले २/२ गोलको बराबरी खेलेका हुन् । यस्तै आजै भएको दोस्रो खेल पनि २/२ गोलको बराबरीमा सकिएको छ । ढुंगे युवा क्लव वडा नम्वर ५ र वडा नम्वर ७ बीच भएको खेल पनि २/२ गोलको बराबरीमा टुंगिएको हो ।

जिरी नगरस्तरीय युवा तथा खेलकुद समितिको आयोजनामा सुरु भएको प्रतियोगितामा १० टिमको सहभागिता रहेको छ । २० गतेसम्म चल्ने प्रतियोगिताको विजेताले नगद ४० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ भने उपविजेतालाई नगद ३० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । तृतीय हुने २ टिमलाई नगद १०÷१० हजार सहित मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगिताका वेष्ट प्लेयर, हाई स्कोरर, वेष्ट डिफेण्डर र वेष्ट किपरलाई पनि ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ ।

जिरी नगरस्तरीय युवा तथा खेलकुद समितिका अध्यक्ष एवम् वडा नम्वर ३ का वडाअध्यक्ष नुर्वु शेर्पाको अध्यक्षतामा भएको प्रतियोगिताको जिरी नगरपालिकाकी उपमेयर कृष्णमाया खड्का बुढाथोकीले उद्धघाटन गर्नुभयो । प्रतियोगिताको उद्धघाटन सत्रमा जिल्ला फुटबलसँघका अध्यक्ष गोविन्द श्रेष्ठ तथा ९ वटै वडाका वडा अध्यक्षहरुको उपस्थिति थियो ।

१६ मंसिर, २०७५ । ६ः ०० बजे प्रकाशित ।

VIEWS: 2905 पटक हेरीएको
error: Content is protected !!