जिरीमा भव्य समारोहः विकास र अवसरमा दोलखालाई पछि पर्न नदिने प्रचण्डको घोषणा (हेनुहोस फोटो फिचर सहित)

3 weeks ago/Friday, September 27th, 2019

जिरी (दोलखा), १० असोज ।

पूर्व प्रधानमन्त्री एवँ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सँघीय लोकतान्त्रिक गणतन्त्रमा जनतालाई घरआँगनमा सेवा दिनु पर्नेमा जिल्लामा रहेका सरकारी कार्यालयलाई प्रदेश र अन्य जिल्लामा सार्ने कुरा सँबिद्यानको भावना र मर्म बिपरित हुने बताउनुभएको छ ।

सरकारी कार्यालयहरुलाई स्थानीय सरकार स्तरमा लैजानु पर्नेमा प्रदेश र अन्य जिल्लामा कार्यालय लैजाने कुराले जनतालाई नकारात्मक असर गर्ने भन्दै उहाँले यो स्थिती अन्त्यका लागि पार्टी र सरकारको तर्फवाट सवै उपाय अवलम्वन गर्ने बताउनुभयो । जिरी नगरपालिकाको नवनिर्मित भवनको समुद्घाटन तथा जिरी सामुदायिक एफएमको दोश्रो वार्षिक उत्सव समारोहको उद्घाटन गर्दै प्रचण्डले संघीय लोकतान्त्रिक गणतन्त्र अन्तर्गत जनतालाई अधिकार सम्पन्न गराउने र नजिकवाट जनतालाई सेवा दिनु पर्नेमा त्यस बिपरित भएका निर्णय र गतिविधिलाई ढिलोछिटो अन्त्य गरिने आश्वासन दिनुभयो ।

सरकारको पुर्नगठन हुँदा दोलखाको प्रतिनिधित्व गराउने

दोलखामा मात्र नभई अन्य जिल्लामा पनि सरकारी कार्यालय प्रदेश र अन्यत्र जिल्लामा सारिएको गुनासो आएको भन्दै प्रचण्डले आफु राजधानी फर्किए लगत्तै प्रधानमन्त्रि र सम्बन्धित मन्त्रालयसँग छलफल गरेर समस्या समाधान गर्ने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो । जिरी नगरपालिकाको नवनिर्मित भवन समुद्घाटन पछि पूर्व प्रधानमन्त्री प्रचण्डले सुविधा सम्पन्न भवन जस्तै नगरपालिकाले जनतालाई सेवा सुविधा दिने बिषयमा अग्रणी भूमिका निर्वाह गर्न आग्रह गर्नुभयो । उहाँले जिरी मौलिक बिशेषता भएको पर्यटकीय नगरी भएको भन्दै जिरी एयरपोर्टलाई पर्यटकीय एयरपोर्टको रुपमा सँचालन गर्ने, सडक बिस्तारको कामलाई चाँडो सम्पनन गर्ने, जिरीमा कृत्रिम ताल निर्माण गर्ने र दोलखा तथा रामेछापमा रहेका जलाशययुक्त जलबिद्युत आयोजना निर्माणको सन्दर्भमा पार्टी र सरकारको तर्फवाट भरपुर सहयोग हुने बिस्वास दिलाउनुभयो । नेपाल कम्युनिष्ट पार्टीको अध्यक्ष समेत रहनु भएका प्रचण्डले सँघीय र प्रदेश सरकारको पुर्नगठन हुँदा दोलखाको प्रतिनिधित्व गराउने बिस्वास पनि दिलाउनुभयो । दोलखालाई कुनै पनि हालतमा विकासमा पछि पर्न दिन नहुने भन्दै उहाँले दोलखा जिल्ला बत्ति मुनिको अँध्यारोमा परे जस्तो भएको आभाष भएको बताउनुभयो । दोलखाले राजनीतिक परिवर्तनमा निकै ठूलो त्याग र बलिदानी रहेको भन्दै प्रचण्डले सरकारको प्रतिनिधित्वमा ध्यान नजानु आफूहरुको समेत कमी भएको धारणा राख्नुभयो ।

जिरी नगरपालिकाको नवनिर्मित भवनको समुद्घाटन

जनतालाई सुसूचित गराउने सन्दर्भमा सामुदायिक रेडियोहरुको महत्वपूर्ण भूमिका रहेको भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले जिरी सामुदायिक एफएमको भूमिका अझ प्रभावकारी र शसक्त बन्नु पर्ने बताउनुभयो । विस्व पर्यटन दिवसको अवसर पारेर आयोजना गरिएको जिरी सामुदायिक एफएमको दोश्रो बार्षिक उत्सव समारोह तथा जिरी नगरपालिकाको नवनिर्मित भवनको समुद्घाटन र तेन्जिङ–हिलारी पार्कको उद्घाटनका लागि पूर्व प्रधानमन्त्री प्रचण्ड आज दिउँसो हेलिकोप्टर मार्फत जिरी आउनु भएको हो । उहाँले जिरी नगरपालिकाको नवनिर्मित भवनको समुद्घाटन गर्नुका साथै सगरमाथाका प्रमथ आरोही तेन्जिङ नोर्गे शेर्पा र एडमण्ड हिलारीको सालिक पनि अनावरण गरिएको छ । पूर्व प्रधानमन्त्री प्रचण्ड दिउँसो करिव ३ बजे नैं सँघीय राजधानी काठमाण्डौं फर्किनु भएको छ ।

 

जिरीमा आयोजित बिशेष समारोहलाई सम्वोधन गर्दै प्रतिनिधि सभाका साँसद पार्वत गुरुङ, पूर्व राज्यमन्त्री, नेकपा केन्द्रिय सदस्य एवँ दोलखा जिल्ला ईन्चार्ज देवी खड्का र जिल्ला समन्वय समितिका प्रमुख डवल पाण्डेले सँघीयता कार्यान्वयनसँगै दोलखा विकास योजना र बजेटमा पछि परेको तथा जिल्लामा भएका सरकारी कार्यालयहरु प्रदेश र छिमेकी जिल्लामा सार्दा जनतालाई सेवा लिन कठिन भएको भनाई राखेका थिए । दोलखाका नेताहरुले सँघीय सरकार र प्रदेश सरकारमा दोलखावाट प्रतिनिधित्व नभएको भन्दै नेकपाका अध्यक्ष समेत रहेका प्रचण्डको ध्यानाकर्षण गराएका थिए । कार्यक्रममा जिरीका जिरेल, शेर्पा, सुनुवार, नेवार लगायतका जातजातिको साँस्कतिक झाँकि तथा जिरी माविका राष्ट्रिय सेवा दलका बिद्यार्थीहरुले पूर्व प्रधानमन्त्री प्रचण्डलाई मार्च पास सहित सलामी दिएका थिए । साँस्कृतिक झाँकि प्रदर्शन गर्ने समूहहरुलाई जिरी सामुदायिक एफएमले प्रशंसा पत्र र नगरपालिकाले १०/१० हजार सहित सम्मान गरेको थियो ।

बिभिन्न व्यक्तित्वहरु सम्मानित

यसैवीच जिरी सामुदायिक एफएमको बार्षिक उत्सवमा बिभिन्न व्यक्तित्वहरु सम्मानित भएका छन् । एफएमले पूर्व साँसद एवँ समाजसेवी इन्द्रवहादुर खड्कालाई बिशेष सम्मान गरेको छ भने जिरी नगरपालिका र अन्नपूर्ण टे«क्स एण्ड एक्सपिडिसनका निर्देशक कामी शेर्पालाई पनि सम्मान गरेको छ । जिरी नगरपालिकालाई दोलखाका सामुदायिक रेडियोको संस्थागत विकासमा पु¥याएको योगदान तथा शेर्पालाई जिरीवाट एभरेष्ट ट्रायल रेस म्याराथन प्रतियोगिताको आयोजना गरी जिरी र आसपासको क्षेत्रको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याए वापत सम्मान गरिएको हो ।

पत्रकार गोलेलाई रेडियो पत्रकारिता पुरस्कार

जिरी एफएमले समाचार तथा कार्यक्रम प्रमुख सिर्जना गोलेलाई नगद ५ हजार सहित रेडियो पत्रकारिता पुरस्कार २०७६ वाट पुरस्कृत गरेको छ । गोले जिरी एफएमको स्थापनादेखि समाचार र कार्यक्रम प्रमुखको जिम्मेवारीमा रहेकी छिन् । दोश्रो वार्षिक उत्सव समारोहलाई सम्वोधन गर्दै जिरी सामुदायिक एफएमका अध्यक्ष लक्ष्मण खड्काले एफएमको भूमिका र प्रभावकारीतालाई अझै बढाउँदै लैजाने बताउनुभयो । कार्यक्रममा जिरीवाट मलेसियामा भएको अन्तराष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक बिजेता रिमा खत्रि र काँस्य पदक बिजेता हेमकला जिरेललाई क्रमश नगद २५ हजार र १५ हजार नगद तथा सम्मान पत्र सहित सम्मान पनि गरिएको छ ।

कार्यक्रममा जिरी नगरपालिकाका नगर उपप्रमुख कृष्णमाया खड्का बुढाथोकी, रामेछापको गोकुलगँगा गाउँपालिकाका अध्यक्ष खड्गवहादुर सुनुवार, दोलखाका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाल, नेकपा जिरीका ईन्चार्ज मित्रवहादुर जिरेल, अध्यक्ष नविन जिरेल, नेपाली कांग्रेस जिरीका सभापति सोनाम शेर्पा, जिरी एफएमका उपाध्यक्ष गेल्वु शेर्पा लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

बिशेष समारोहमा प्रनिनिधि सभाका साँसद शान्तिमाया पाख्रिन, प्रदेश साँसदहरु विशाल खड्का र आङडेण्डि शेर्पा, मेलुङ गाउँपालिकाका अध्यक्ष नरवहादुर श्रेष्ठ लगायत स्थानीय सरकारका अन्य जनप्रतिनिधिहरुको पनि सहभागिता थियो ।

जिरीको विशेष समारोहका तस्बिरहरुः

 

१० असोज, २०७६ । ७ः०० बजे प्रकाशित ।

VIEWS: 8960 पटक हेरीएको
error: Content is protected !!