जिरी अस्पतालमा ५ किलो ट्युमरको सफल शल्यक्रिया

2 years ago/Saturday, March 3rd, 2018

(जिरी) दोलखा, १९ फागुन ।

दोलखाको जिल्ला अस्पताल जिरीमा एक वृद्धाको शरीरमा रहेको ५ किलो ट्युमरको सफल शल्यक्रिया गरिएको छ ।
जिरी नगरपालिका वडा नम्वर ३ की ६५ वर्षीया वृद्धा पेमाडोमा शेर्पाको शरिरबाट हिजो सफल सल्यक्रिया गरि ५ किलोको ट्युमर (मासुको डल्लो) निकालिएको जिरी अस्पतालले जनाएको छ । शल्यक्रिया मार्फत शेर्पाको थाईबाट ५ किलोको ट्युमर सफलता पुर्वक निकालिएको अस्पतालका ‘क्लिनिकल कोअर्डिनेटर’ डा.निशान्त ढकालले जानकारी दिनुभयो । रगतमा हुने हेमोग्लोविन ६ मात्रै हुँदा शल्यक्रिया गर्न जोखिम हुने भएपनि जोखिमका वावजुद सिमित स्रोत साधनमा सफल शल्यक्रिया गरिएको उहाँको भनाई छ ।

डा. ढकालका अनुसार ‘सामान्य मानिसको रगतमा हेमोग्लोविन ११ भन्दा माथि हुनुपर्छ, नत्र अत्याधिक रक्तश्रावका कारण अप्रेसन सफलन नहुने अवस्था हुन्छ । तर, यो घटनामा भने हेमोग्लोविन ६ हुँदा पनि सफलतापुर्वक सल्यक्रिया गरिएको र अहिले उनको अवस्था समान्य रहेको छ ।’ शेर्पा हाल अस्पतालमै रहेको र स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको डा. ढकालले बताउनुभयो ।

जिरी अस्पतालका अनुसार डा.ढकालकै नेतृत्वमा रहेको ८ जना चिकित्सकको टोलीले ५ घण्टा लामो अप्रेशनपछि शेर्पाको शरीरबाट सफलतापुर्वक ट्युमर निकालेको हो । जिरी अस्पतालमा लगातार ५ घण्टा सम्म अप्रेशन चलेको यो नै पहिलो घटना भएको अस्पतालका बायोमेडिकल विभाग प्रमुख उत्तम पोखरेलले जानकारी दिनुभयो । ट्युमरका कारण हिँडडुल गर्न नसक्ने अवस्थामा पुगेकी वृद्धा शेर्पाको सफल शल्यक्रिया मार्फत ट्युमर निकालिएको हो ।

शेर्पालाई अप्रेशनका क्रममा आवश्यक रगत समेत अस्पतालकै बायोमेडिकल विभाग प्रमुख पोखरेलले दिएका थिए ।
शेर्पाका छोरा पेम्वा शेर्पाले २० वर्षदेखि शरीरमा ट्युमर बोकेर हिँडिरहेकी आफ्नी आमाको सफल शल्यक्रिया भएपछि खुसी व्यक्त गरेका छन् ।

१९ फागुन, २०७४ । ५ः२० बजे प्रकाशित ।

VIEWS: 4415 पटक हेरीएको
error: Content is protected !!