जिरी ओपन चेस प्रतियोगिता सम्पन्न

7 months ago/Saturday, November 21st, 2020

 

जिरी (दोलखा), ६ मंसिर ।

दोलखाको जिरीमा सम्पन्न जिरी ओपन फिडे रेटिङ चेस प्रतियोगिताको उपाधि तीन पटकका राष्ट्रिय च्याम्पियन बद्रीलाल नेपालीले हात पारेका छन् ।

युवा संजाल जिरीको आयोजना तथा जिरी नगरपालिकाको सहयोगमा पर्यटकीय नगरी जिरीमा आज सम्पन्न प्रतियोगिताको अन्तिम चरणको खेलमा ललितपुरका भेट्रान खेलाडी हेराकाजी महर्जनमाथि जित हात पार्दैै बद्रीलालले उपाधि प्राप्त गरेका हुन् । यसअघि उनले छैटौं चरणको खेलमा दोलखा जिल्ला च्याम्पियन आशिष फुयाँलसँग बराबरीको नतिजा निकालेका थिए । ७ खेलमा ६ मा जीत तथा १ मा बराबरी गरी ६ दशमलब ५ अंक प्राप्त गरेको बद्रीलालले उपाधिसँगै नगद १० हजार पुरस्कार पाएका छन् । यस्तै, छैटौं चरणको खेलमा दोलखाका राजीव कार्कीमाथि सहज जित निकालेका आशिष फुँयाल ७ खेलबाट ६ अंक सहित प्रतियोगितामा दोश्रो हुन सफल भएका छन् । समान ६ अंक बनाएका स्याङ्जाका युवराज पौडेललाई हेड टु हेडमा पछि पारेका फुँयालले दोस्रो भएसँगै नगद ५ हजार पाएका छन् भने तेश्रो स्थानमा रहन सफल युवराजले नगद ३ हजार प्राप्त गरेका छन् ।

यसैबीच, आयोजक संस्थाका संयोजक समेत रहेका केन्द्रज्योति खड्काले ७ खेलबाट ४ दशमलब ५ अंकका साथ स्थानीयतर्फ प्रथम हुँदै ५ हजार प्राप्त गरेका छन् भने ग्यालजेन शेर्पा र धर्मानन्द दाहाल समान चार—चार अंकका साथ स्थानीय तर्फ दोश्रो तथा तेश्रो भएका छन् ।यस्तै, ललितपुरका हेरकाजी महर्जनले भेट्रानतर्फ पहिलो पुरस्कार प्राप्त गरेका छन् । भेट्रानतर्फ रौतहटका रामचन्द्र दाहाल तथा दोलखाका बाबुराजा महर्जन क्रमश दोश्रो र तेश्रो हुन सफल भएका छन् । उता, अनरेटेडतर्फ दोलखाका बिबेक कार्की ढली प्रथम भएका छन् भने महिलातर्फ दोलखाकी उषा जिरेल तथा करुना जिरेल क्रमश पहिलो र दोश्रो स्थानमा रहन सफल भएका छन् ।

प्रतियोगिताका विजेताहरुलाई आजै नगरप्रमुख टंक जिरेलले समापन कार्यक्रममा पुरस्कार वितरण गरेका छन् । समापन कार्यक्रममा नेपाली कांग्रेस जिरी नगर कमिटीका सभापति सोनाम शेर्पा लगायतको सहभागीता रहेको थियो । फिडेको स्विस लिग प्रणाली अन्र्तगत ७ चरणमा सम्पन्न प्रतियोगितामा विभिन्न जिल्लाका ४२ खेलाडीको सहभागीता थियो ।

६ मंसिर, २०७७ । ६ः०० बजे प्रकाशित ।

VIEWS: 4100 पटक हेरीएको
error: Content is protected !!