जिरी–ढिंग्रि–सल्लेरी सडकः ५ करोड बढी खर्च, ठेकेदारको गुणस्तरहिन काम, यातायातका साधन चल्नै मुश्किल

2 weeks ago/Tuesday, September 3rd, 2019

बिपना थापामगर ।

जिरी (दोलखा), १७ भदौ ।

दोलखाको पर्यटकीय नगरी जिरीदेखि सोलखुम्वुको सल्लेरी सम्म सडक सञ्जाल जोड्ने गरी जिरी–ढिंग्री–सल्लेरी सडक निर्माण सुरु गरेको ५ बर्ष बितिसक्यो ।

यो अवधिमा सडक निर्माणमा डिभिजन सडक मार्फत मात्रै ५ करोड ४४ लाख खर्च भईसकेको छ । तर, सडकको अवस्था राम्रो नहुँदा बर्षा याममा १० किलोमिटरसम्म पनि यातायात सँचालन हुन सकेको छैन । जिरीवाट स्यामा, सोलखुम्बुको सल्लेरी हुँदै चिनको सिमाक्षेत्र ढिंग्रीसम्मको सडक निर्माणमा करोडौं खर्च भएपनि सडकको अवस्थामा भने सुधार आउन सकेको छैन । सुरुमा तत्कालिन जिल्ला विकास समिति दोलखाले निर्माण सुरु गरेको जिरी–ढिंग्री–सल्लेरी सडकलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जिरी–ढिंग्री–सल्लेरी सडकको नामाकरण गरी आर्थिक बर्ष २०७१/७२ देखि निर्माणको काम सुरु गरेको थियो ।

जिल्ला विकास समितिको लाखौं बजेटमा जिरीदेखि मालि र स्यामासम्म ट्रयाक खोलिए पनि आर्थिक बर्ष २०७१/७२ देखि सडक डिभिजन मार्फत सडक निर्माणको काम भएको हो । सडक निर्माण सुरु भए यताको ५ बर्षको अवधिमा सडक निर्माणका लागि सडक डिभिजन कार्यालय चरिकोट मार्फत मात्रै ५ करोड ४४ लाख बजेट खर्च भईसकेको छ । तर, बर्षा याममा जिरीदेखि मालीसम्मको १० किलो मिटरको दुरीमा पनि सवारीका साधन सँचालन हुन सकेको छैन ।

बजेट खर्च हुन नसकेर बर्षेनी फ्रिज

जिरी–ढिंग्री–सल्लेरी सडकमा बर्षेनी बिनियोजन हुने रकमको पुरै सदुपयोग हुन नसक्दा कतिपय आर्थिक बर्षमा बजेट फ्रिज गएको छ भने ठेकेदार मार्फत भएको कामको गुणस्तर समेत राम्रो देखिएको छैन । ३४ किलो मिटर लामो सडक निर्माणका लागि आर्थिक बर्ष २०७१/७२ मा ६ करोड ३९ लाखको बहुबर्षिय बोलपत्र आव्हान भएकोमा ५ करोड १३ लाख खर्च भएको सडक डिभिजन कार्यालय दोलखाका सूचना अधिकारी प्रकृति पाण्डेले जानकारी दिनुभयो । खर्च भएको बजेटवाट गौरी पार्वती, सुनौला खिम्ती र कुशेस्वर तामाकोसी ठेकेदार कम्पनीले नाला र पर्खाल निर्माण तथा माटो कटिङ लगायतका काम गरेको थियो । सडक निर्माणको जिम्मा पाएका दुवै कम्पनीले २०७१ सालदेखि २०७५ सालसम्म काम गरेको थियो ।

घटाघटमा टेण्डर गुणस्तरहिन काम
गत आर्थिक बर्ष सो सडकका लागि एक करोड बजेट बिनियोजन भई बोलपत्र आव्हान भएकोमा बमकाली कन्स्ट्रक्सनले घटेर ५० लाखमा टेण्डर पारेको थियो । सो निर्माण कम्पनीले चार वटा कच वे, ७ सय मिटर मेसिनरी वाल लगायतका सँरचनाहरु निर्माण गर्नु पर्ने भएपनि गुणस्तरीय काम गर्न नसकेका कारण अझै अन्तिम भुक्तानी हुन सकेको छैन । बमकाली कन्स्ट्रक्सनले हालसम्म ३१ लाख रुपैयाँ मात्रै भुक्तानी लगेको छ भने १९ लाख झै भुक्तानी हुन बाँकी रहेको छ । सडक डिभिजन कार्यालय दोलखाका प्रमुख धर्मेन्द्र झाले तोकिएको परिमाण अनुसारको काम नभएका कारण भुक्तानी रोकिएको र पुनः काम गर्न निर्देशन दिएको जानकारी दिनुभयो । डिभिजन प्रमुख झाका अनुसार बर्षेनी बजेट परे पनि न्यून जिरी–ढिंग्री–सल्लेरी सडकका लागि बर्षेनी बजेट बिनियोजन भएपनि पर्याप्त नभएका कारण निर्माणको कामले भनेजस्तो गति लिन नसकेको हो ।

मनपरी बजेट खर्च भएको जनप्रतिनिधिको भनाई
जिरी–ढिंग्री–सल्लेरी सडक निर्माण पूरा भई यातायातका साधान सँचालन भएमा दोलखाको माली, स्यामा र रामेछाप, ओखलढुँगा तथा सोलुखुम्वुका नागरिक प्रतक्ष्य लाभान्वित हुने छन् । नेकपा दोलखाकी नेतृ देवी खड्का भौतिक पूर्वाधार राज्यमन्त्री बनेको बेला जिरी–ढिंग्री–सल्लेरी सडकको नामाकारण गरी रातो कितावमा बजेटको व्यवस्था गरिएको थियो भने जिरी देखि माली हुँदै स्यामा सम्मको सडक निर्माणका लागि तत्कालिन नेकपा माओवादीका जिल्ला सेक्रेटरी स्वर्गिय कृपास्वर दाहालको बिशेष भूमिका थियो । तर, सडक निर्माण सुरु भएको बर्षौ बितेपनि माली र स्यामा सम्मनैं सहज यातायात सँचालन हुन सकेको छैन । हिउँदा याममा सो सडकमा सवारीका साधान चलेपनि बर्षा याममा सँचालन हुन नसकेको हो । जिरी नगरपालिका वडा नम्बर १ वडा अध्यक्ष लाक्पा शेर्पाले सडक डिभिजनले सडकको जोखिम क्षेत्रलाई प्राथमिकतामा राखेर नाला, सोलिङ लगायतका सँरचना बनाउन नसक्दा समस्या भएको बताउनुभयो ।

उहाँका अनुसार निर्माण कम्पनीले पनि गुणस्तरीय काम नगर्दा सडक निर्माणमा ठोस उपलव्धि हुन नसकेको हो । जिरी–ढिंग्री–सल्लेरी सडकका लागि गत आर्थिक बर्षवाट प्रदेश सरकारले समेत बजेट विनियोजन गरेर काम सुरु गरेपनि यकिन विवरण आउन बाँकी रहेको छ ।

तस्वीर सौजन्यः भक्त केसी

१७ भदौ २०७६ । ८ः०० बजे प्रकाशित

VIEWS: 3570 पटक हेरीएको
error: Content is protected !!