जिरी नगरपालिकाको आगामी आर्थिक वर्षको बजेट ४२ करोड ४० लाख

4 months ago/Tuesday, June 25th, 2019

दोलखा, १० असार ।

दोलखाको जिरी नगरपालिकाले आगामी आर्थिक वर्ष २०७६/७७ को नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गरेको छ ।

नगरपालिकाले आज चौथौं नगरसभामा आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गरेको हो । नगरप्रमुख टंक जिरेलको अध्यक्षतामा भएको नगरसभामा उपमेयर कृष्णमाया बुढाथोकी (खड्का) ले ४२ करोड ४० लाख ९ हजार बराबरको बजेट नगरसभामा प्रस्तुत गर्नुभयो । नगरसभामा चालुतर्फ २३ करोड ६ लाख ६२ हजार र पूँजीगततर्फ १९ करोड ३३ लाख ४७ हजार गरी कुल ४२ करोड ४० लाख ९ हजार प्रस्ताव गरिएको हो । ९ वटा वडा रहेको जिरी नगरपालिकाले कृषिलाई मुख्य प्राथमिकतामा राख्दै आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गरेको छ । नगरपालिकाले कृषि, पशुपालन, पर्यटन र सहकारीलाई मुख्य प्राथमिकतामा राखी बजेट सार्वजनिक गरेको हो । नीति तथा कार्यक्रममा विशेषगरी कृषि अन्तर्गत किवी, आलु र तरकारी उत्पादनमा आत्मनिर्भरताका लागि उत्पादनका पकेट, ब्लक, जोन तथा सुपरजोनको विकास गरी सघन व्यवसायिक खेती प्रणाली अघि बढाइने उल्लेख छ । यसैगरी राष्ट्रिय तथा अन्तराष्ट्रिय बजारको मागलाई मध्यनजर गर्दै अर्गानिक फर्म स्थापना गरी जिरीलाई अर्गानिक खाना उपलब्ध हुने नगरको रुपमा विकास गरिने योजना बनाइएको छ । पछिल्लो वर्षहरुमा चौरी पालन लोप हुँदै गएको अवस्थामा नगरपालिकाले पशुपालक कृषकहरुलाई सुलभ कर्जामा पहुँच दाना उत्पादनमा सहजीकरण लगायतका सुविधा वृद्धि गरी चौरी पालन व्यवसायमा आकर्षित गरिने बताएको छ । नगरपालिकाले चालु वर्ष ४ वटा पार्क र जिरी तालको गुरुयोजना तयार गरिसकेको भन्दै आगामी वर्ष प्रदेश सरकारको समेत समन्वयमा कार्यन्वयन गरिने जनाएको छ ।

नगरभित्र सुत्केरी हुने प्रत्येक सुत्केरी आमालाई नगरद्धारा थप २ हजार ५ सयका नगद सुविधा

आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गर्दै उपमेयर बुढाथोकीले जिरी नगरभित्र सुत्केरी हुने प्रत्येक सुत्केरी आमालाई नगरद्धारा थप २ हजार ५ सयका दरले नगद सुविधा उपलब्ध गराइने समेत जानकारी दिनुभयो । एक घर एक धारा भन्ने संघीय सरकारको नीतिलाई जिरी नगरपालिकाले समेत अबलम्बन गर्दै जाने नीति तथा कार्यक्रममा उल्लेख छ । नगरपालिकाले नगरभित्रै लगानीमैत्री वातावरण निर्माण गरी लगानी भित्र्याउने तथा युवा लक्षित सिपमुलक र व्यवसाय मूलक तालिम सञ्चालन गरी युवाहरुलाई पर्याप्त रोजगारी दिलाई विदेश पलायन हुनबाट बञ्चित गरिने जनाएको छ । नगरसभामा कार्यपालिका सदस्यहरु लाक्पा शेर्पाले आर्थिक विद्येयक २०७६, तेज बहादुर खड्काले विनियोजन ऐन २०७६ र ज्ञान बहादुर सुनुवारले विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन विद्येयक २०७६ प्रस्तुत गरेका थिए ।

बैतेश्वर गाउँपालिकाको आगामी आर्थिक वर्षको बजेट ३९ करोड १७ लाख

यस्तै, दोलखाको बैतेश्वर गाउँपालिकाले पनि आज आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गरेको छ । बैतेश्वरले कृषि र सडकलाई प्रमुख प्राथमिकतामा राख्दै आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गरेको हो । गाउँपालिकाका अध्यक्ष छवि लामाको अध्यक्षतामा भएको गाउँसभामा उपाध्यक्ष रविचन्द्र आचार्यले ३९ करोड १७ लाख २१ हजार बराबरको बजेट प्रस्तुत गर्नुभयो ।

हेर्नुहोस् नगरसभाका दृश्यहरु

 

१० असार, २०७६ । ७ः०० बजे प्रकाशित ।

VIEWS: 2785 पटक हेरीएको
error: Content is protected !!