जिरी नगरपालिकाको एक वर्षको आन्तरिक आम्दानी ९८ लाख ८८ हजार

4 months ago/Sunday, August 11th, 2019

प्रमिला नेपाली ।

जिरी (दोलखा), २६ साउन ।

दोलखाको जिरी नगरपालिकाले गत वर्ष करिब ९९ लाख बराबरको आन्तरिक आम्दानी गरेको छ ।

जिरी नगरपालिकाले गत आर्थिक वर्ष २०७५/७६ मा ९८ लाख ८८ हजार ८ सय ५० रुपैंयाको आन्तरिक आम्दानी गरेको हो । अघिल्लो वर्ष ८५ लाख ५३ हजार ४ सय १९ आन्तरिक आम्दानी गरेको जिरीले गत वर्ष १३ लाख ३५ हजार ४ सय ३१ रुपैंयाले बढी आम्दानी गरेको छ । एकिकृत सम्पति कर, मालपोत कर, व्यवसाय दर्ता नविकरण शुल्क, निवेदन दस्तुर, नक्सापास दस्तुर, सिफारिस दस्तुर, व्यक्तिगत घटना दस्तुर र नाता प्रमाणित दस्तुर लगायतबाट आन्तरिक आम्दानी गर्ने गरेको नगरपालिकाले जनाएको छ । जिरीले गत वर्ष सबैभन्दा बढी एकिकृत सम्पति कर शीर्षकबाट ९ लाख ३४ हजार ५ सय २८ रुपैंया आम्दानी गरेको छ भने सबैभन्दा कम निवेदन दस्तुरबाट ५ सय आम्दानी गरेको छ । यसैगरी अन्य सेवा शुल्कबाट ६ लाख २४ हजार ६ सय १५, बहाल विटौरी करबाट ६० हजार ४१ रुपैंया, सिफारिस दस्तुरबाट ४९ हजार ६ सय ३५ रुपैंया र अन्य दस्तुरबाट ३८ हजार ९ सय ५० तथा व्यवसायि दर्ता नविकरणबाट २७ हजार आम्दानी गरेको छ । यस्तै, नाता प्रमाणीकरण दस्तुरबापत २२ हजार ५ सय, नक्सापास दस्तुरबापत ५ हजार ६ सय १५ र अन्य विक्रीबाट ५ हजार, व्यक्तिगत घटना दस्तुरबापत २ हजार १ सय र मालपोत कर बापतको १ हजार ४४ रुपैंया रकम संकलन गरिएको छ ।

नगरपालिकाको कार्यालयबाट ७७ लाख ७२ हजार संकलन

जसमध्ये जिरी नगरपालिकाको कार्यालयले मात्रै ७७ लाख ७२ हजार १ सय ६७ रुपैंया रकम संकलन गरेको छ । यसैगरी वडा नम्बर १ श्यामाले १ लाख ४३ हजार ९ सय ३५ रुपैंया, वडा नम्बर २ ले १ लाख ५९ हजार ३ सय, वडा नम्बर ३ ले ३ लाख २८ हजार ४४ रुपैंया, वडा नम्बर ४ ले १ लाख ७० हजार ८ सय ५ रुपैंया आन्तरिक आम्दानी संकलन गरेको छ । जिरी ५ ले १ लाख ६७ हजार ५० रुपैंया, वडा नम्बर ६ ले २ लाख २१ हजार २ सय ४५, वडा नम्बर ७ ले २ लाख ४१ हजार ५ सय ५०, वडा नम्बर ८ ले ३ लाख ९५ हजार ४ सय ३५ रुपैयाँ र वडा नम्बर ९ ले ३ लाख ४९ हजार ६ सय २० रुपैंया आन्तरिक आम्दानी गरेको जिरी नगरपालिका राजस्व फाँटकी प्रमुख सानुमैया खड्काले जानकारी दिनुभयो ।

सम्पति कर शीर्षकबाट कर नउठाउने

यद्धपी यो वर्षदेखि नगरपालिकाले उठाउँदै आएको एकिकृत सम्पति कर शीर्षकबाट भने कर नउठाउने निर्णय भएको उहाँले बताउनुभयो । उहाँका अनुसार नगरपालिकाले अब एकिकृत सम्पति करको सट्टा सम्पति कर मात्रै संकलन गर्ने छ भने मालपोत कर लिनेछ । नगरपालिकाले अघिल्लो वर्षको तुलनामा गत वर्ष आन्तरिक आम्दानी बढी लिएपनि कर कटौती र केही दररेट घटाइएपछि यो वर्ष भने गत वर्षको तुलनामा कम आन्तरिक आम्दानी हुने देखिएको छ ।

२६ साउन, २०७६ । २ः२० बजे प्रकाशित

VIEWS: 2470 पटक हेरीएको
error: Content is protected !!