जिरी नगरपालिकाको पाँचौँ नगर सभा सम्पन्न, पूर्वाधार विकास र पर्यटन प्रर्वद्धनमा जोड

7 months ago/Tuesday, February 11th, 2020

जिरी (दोलखा), २८ माघ ।

दोलखाको जिरी नगरपालिकाको पाँचौ नगरसभा हिजो सम्पन्न भएको छ ।

आइतबार देखि सुरु भएको नगरपालिकाको पाँचौँ नगरसभा हिजो सम्पन्न भएको हो । हिजो सम्पन्न नगर सभाले नगरपालिकाकी उपप्रमुख कृष्णमाया बुढाथोकी (खड्का) सहित अधिकांश वडाका वडाअध्यक्षहरुले पेश गरेको विभिन्न विद्येयकहरु पारित गरेको छ । जसअनुसार नगर सभाले नगरपालिकाकी उपप्रमुख बुढाथोकीले पेश गरेकोे संशोधित विनियोजन ऐन, २०७६ विद्येयक पारित गरेको छ । नगर सभामा वडा नम्बर १ का वडाअध्यक्ष लाक्पा शेर्पाले पेश गरेकोे नगर क्षेत्रमा सार्वजनिक कार्यक्रममा महत्वपुर्ण प्लाष्टिक कप तथा प्लेटलाई निषेध गर्ने सम्बन्धी जरुरी सार्वजनिक महत्वको प्रस्ताव पारित भएको छ भने वडा नम्बर ७ का वडाअध्यक्ष डुके शेर्पाले पेश गरेको वातावरण तथा प्राकृतिक स्रोतको संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विद्येयक पारित भएको छ । नगरसभाले वडा नम्बर ९ का वडाअध्यक्ष ज्ञानबहादुर सुनुवारले पेश गरेको जिरी नगर क्षेत्र भित्रका सामुदायिक विद्यालयमा जंकफुड निषेध गर्ने सम्बन्धी जरुरी सार्वजनिक महत्वको प्रस्ताव पनि पारित गरेको छ ।

नगरपालिकाको पाँचौँ नगर सभाले आगामी वर्षका लागि विभिन्न कार्यक्रम ल्याउने निर्णय पनि गरेको छ । आगामी आर्थिक वर्ष  एकिकृत चेर्दुङ विकास परियोजना  अन्र्तगत नेपाल सरकारको पर्यटन  विभागमा  निवेदन पेश गरि आगामी वर्षको कार्यक्रममा एकीकृत विकास योजना सञ्चालन गर्ने निर्णय गरेको छ ।

नगरपालिकाले आगामी आर्थिक वर्ष जिरीका अधिकांश वडामा होमस्टे सञ्चालन गर्ने निर्णय पनि गरेको छ । नगरपालिकाले वडा नम्बर २ को येलुङमा, वडा नम्बर १ को पुम्पामा, वडा नम्बर ७ को खावा र वडा नम्बर ९ को चिपचिपेमा होमस्टे सञ्चालन गर्ने योजना बनाएको हो । यसैगरी नगरपालिकाले स्वास्थ्य क्षेत्रमा नगरपालिका भित्र रहेका बर्थिङ सेन्टरहरुको व्यवस्थित गर्ने र बर्थिङ सेन्टर नभएको स्थानमा सुविधा सम्पन्न बर्थिङ सेन्टर निमार्ण गर्ने योजना बनाएको नगरपालिकाले जनाएको छ । नगरपालिकाका अनुसार आगामी वर्ष नगरपालिकाको वडा नम्बर ९ मा सुविधा सम्पन्न बर्थिङ सेन्टर निमार्ण हुनेछ ।


नगर सभाको समापन कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख टंक जिरेलले सबै वडाहरुमा सडकको स्तोरोन्नती भइरहेको भन्दै विकास निमार्णका कामहरु निरन्तर रुपमा चल्ने जानकारी दिनुभयो । नगरप्रमुख जिरेलले नगरपालिकाले आगामी आर्थिक वर्ष कृषि क्षेत्रमा प्रदेश सरकारको लगानीमा आलुको ब्लक निर्माण गर्ने योजना बनाएको भन्दै लामो साँघु जिरी सडकको बाटो चौडा गर्ने काम तीव्र रुपमा अघि बढेको बताउनुभयो । नगरसभा कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रिजाल, वडाअध्यक्ष, वडासचिव, तथा कार्यपालीकाका सदस्य लगायतको सहभागिता रहेको थियो ।

२८ माघ, २०७६ । ७ः१५ बजे प्रकाशित ।

VIEWS: 4870 पटक हेरीएको
error: Content is protected !!