जिरी नगरपालिकाद्धारा अपाङ्गता भएका व्यक्तिलाई परिचयपत्र वितरण सुरु

2 weeks ago/Wednesday, September 4th, 2019

सिर्जना गोले । 

जिरी (दोलखा), १८ भदौ ।

दोलखाको जिरी नगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरुलाई परिचयपत्र वितरण गर्न सुरु गरेको छ ।

जिरी नगरपालिकाले पहिलो चरणमा यही भदौ ११ गते २० जना अपाङ्गता भएका व्यक्तिहरुलाई परिचयपत्र वितरण गरी सुरुवात गरेको हो । अपाङ्गता भएका २० जनाले नगरपालिकाको कार्यालयमै आएर परिचयपत्र लिएका छन् । जसअनुसार पूर्ण अपाङ्गता भएका ३ जनालाई ‘क’ वर्गको रातो कार्ड, अति अशक्त ७ जनालाई ‘ख’ वर्गको निलो कार्ड, मध्यम अपाङ्गता भएका ६ जनालाई ‘ग ’वर्गको पँहेलो कार्ड र सामान्य अपाङ्गता भएका ४ जनालाई ‘घ’ वर्गको सेतो कार्ड वितरण गरिएको जिरी नगरपालिका अन्तर्गत महिला विकास शाखाकी सहायक महिला विकास निरिक्षक आशादेवी सुनुवारले जानकारी दिनुभयो ।

छुटेकाहरुलाई पनि छिट्टै वितरण गरिने

पूर्णरुपमा अशक्त तथा अपाङ्गता भई अरु व्यक्तिको साहरा विना दैनिक क्रियाकलाप गर्न नसक्ने व्यक्तिहरुलाई ‘क’ बर्गको तथा शारीरिक र मानसिक रुपमा अशक्त भई कामकाज गर्न नसक्ने (पूर्ण दृष्टिविहिन, दुवै हात वा खुट्टा नभएका, शरीरका अंगहरुमा पूर्ण क्षेत्रि पुगेका) व्यक्तिहरुलाई ‘ख’ वर्गको अपाङ्गता परिचयपत्र दिने व्यवस्था छ । परिचयपत्र लिन छुटेकाहरुलाई पनि केही समयमानै वितरण गरिने नगरपालिकाकी उपप्रमुख कृष्णमाया बुढाथोकी (खड्का) ले जानकारी दिनुभयो । उहाँका अनुसार नगरपालिकाको कार्यालयमा नआउनेहरुका लागि वडा कार्यालयबाट पनि परिचयपत्र वितरण गरिनेछ । पूर्ण अपाङ्गता भई रातो कार्ड प्राप्त गर्ने व्यक्तिहरुलाई नगरपालिकाले मासिक प्रतिमहिना २ हजार र ख वर्गको परिचयपत्र पाउनेलाई प्रति महिना ६ सय भत्ता प्रदान गरिने प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रिजालले जानकारी दिनुभयो ।

‘क’ र ‘ख’ वर्गका अपाङ्गता भएकाहरुले भत्ता पाउने

मेडिकल अधिकृत सहितको टोलीले अपाङ्गता परिक्षण गरेपछि मात्रै वर्ग छुट्याई परिचय पत्र वितरण गर्ने गरिएको प्रखुम प्रशासकीय अधिकृत रिजालले बताउनुभयो । परिचय पत्र भत्ता लिनको लागि मात्रै नभई अपाङ्गता भएकाहरुलार्ई लक्षित गरेर सञ्चालन गरिने विभिन्न कार्यक्रममा समेत उपयोग हुने भन्दै उहाँले अपाङ्गता भएका सबैले निवेदन दिनुपर्नेमा जोड दिनुभयो । संघीय सरकारकै वाार्षिक सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गत नगरपालिकाबाट अपाङ्गता भएका ‘क’ र ‘ख’ वर्गका अपाङ्गता भएकाहरुले भत्ता पाउनेछन् ।

यसअघि जिल्लास्थित महिला बालबालिका कार्यालयले वितरण गर्दै आएको अपाङ्गता परिचयपत्र अब सम्बन्धित स्थानीय तहले वितरण गर्नेछ । सोही अनुसार जिरी नगरपालिकाले पनि कार्यविधि बनाएर पहिलो पटक परिचयपत्र वितरण सुरु गरेको हो ।

१८ भदौ २०७६ । ११ः४५ बजे प्रकाशित ।

VIEWS: 1065 पटक हेरीएको
error: Content is protected !!