जिरी नगरपालिकामा चालु बर्ष १०५ योजना सम्पन्न, कार्यालय भवन र पार्क निर्माण प्रमुख उपलव्धि

2 weeks ago/Friday, July 5th, 2019

सिर्जना गोले/प्रमिला नेपाली ।

जिरी (दोलखा) २० असार ।

दोलखाको जिरी नगरपालिकाले चालु आर्थिक बर्ष १ सय ६२ वटा विकास निर्माणको योजना सञ्चालन गरेकोमा हालसम्म १ सय ५ वटा योजना सम्पन्न भएको छ ।

सबै योजना सञ्चालन गर्नका लागि चालु वर्ष ३९ करोड बजेट पाएको जिरी नगरपालिकाले हालसम्म १ सय ५ वटा योजनाको निर्माण सम्पन्न गरी अन्तिम भुक्तानी दिएको हो । अन्य बाँकी ५७ वटा योजनाहरुको पनि निर्माण कार्य अन्तिम चरणमा पुगेको नगर प्रमुख टंक जिरेलले जानकारी दिनुभयो । उहाँका अनुसार विकास निर्माणका मुख्य–मुख्य योजनाहरु सबै सम्पन्न भएका छन् भने स–साना योजनाहरुको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । पूर्वाधार विकास र लक्षित वर्गका समेत गरी १ सय ५ वटा योजना सम्पन्न गरेको जिरीले चालु बर्षको साउनदेखि असार १५ सम्म कूल बजेटको ८० प्रतिशत रकम खर्च गरेको बताएको छ । चालु वर्ष नगरपालिकाले राखेको लक्ष्य पूरा भएको र काम सन्तोषजनक भएको प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रिजालले बताउनुभयो ।

६ कार्यालय भवन निर्माण

यो वर्ष सञ्चालन गरिएका योजना मध्ये जिरीले मुख्य योजनाको रुपमा नगरपालिका भित्रका ५ वटा वडाको वडा कार्यालय भवन निर्माण गरेको छ । जसमध्ये वडा नम्बर १, २ र ४ को निर्माण कार्य सम्पन्न भइसकेको छ भने ७ र ९ नम्बर वडाको भवन निर्माणाधिन अवस्थामा छ । जिरी नगरपालिका १ श्यामाको ७० लाखको लागतमा वडा कार्यालयको भवन बनेको हो सोही भवनमा स्वास्थ्य चौकी पनि रहने छ । यसैगरी वडा नम्बर २ को ९३ लाखको लागतमा र ४ को ९१ लाखको लागतमा भवन निर्माण सम्पन्न भएको छ । वडा नम्बर ४ को वडा कार्यालय भवनमा स्वास्थ्य चौकी पनि रहने छ । वडा नम्बर ७ को भवन ९१ लाख र ९ को भवन ९८ लाखको लागतमा निर्माण भइरहेको जिरी नगरपालिकाको कार्यालयले जनाएको छ । जिरी नगरपालिकाले यही वर्ष नगरपालिकाको सुविधा सम्पन्न कार्यालय भवनको निर्माण कार्य सम्पन्न गरेको छ । संघीय सरकारको ३ करोड ७३ लाखको लागतमा २०७३ साल असार २७ गतेदेखि निर्माण सुरु भएको नगरपालिकाको भवन पनि यही वर्ष सम्पन्न भएको हो । नगरपालिका भवनको भित्री बनावट स्थानीय सामाग्रीलाई प्राथमिकता दिँदै स्वीस सैलीबाट बनाइएको छ । भवनको भित्री कोठाहरुमा लोकल ठिङग्रे सल्लाको काठबाट विभिन्न डिजाइनमा डेकोरेशन गरिएको हो । नगरपालिकाको ६२ लाख बजेटबाट नगरपालिकाको भवन वरिपरि कम्पाउण्डको समेत निर्माण गरिएको छ ।

आगामी वर्ष पनि वडा कार्यालय भवन निर्माण कार्यलाइैनै प्राथमिकता दिइने

यस्तै, नगरपालिकाले शसर्त अनुदान अन्तर्गत प्रदेश सरकारबाट आएको २ करोड ३४ लाख रकमबाट पनि धेरै योजनाहरु सञ्चालन गरेकोमा अधिकांश योजनाको निर्माण कार्य सम्पन्न भएको छ । प्रदेशबाट आएको रकमबाट जिरीले मुख्य योजनाको रुपमा ३० लाखको लागतमा ठूलोपातलस्थित धनमाले आधारभूत विद्यालयको भवन र ९० लाखको लागतमा त्रिशुले धनमाले सडक निर्माणको काम सम्पन्न गरेको छ । जिरी नगरपालिकाले आगामी वर्षको बजेटको लागि ४२ करोड ४० लाख ९ हजारको अनुमानित आय व्यव बजेट नगरसभामा पेश गरिसकेको छ । वडा कार्यालयबाटै जनतालाई सहज रुपमा सेवा दिन सकिने भएकोले आगामी वर्षपनि सबै वडा कार्यालय भवनको निर्माण कार्यलाई प्राथमिकतामा राख्दै पर्यटन पूर्वाधारको लागि सडकको विकास, पार्कहरु निर्माण र कृषि विकासमा जोड दिइने नगरप्रमुख जिरेलको भनाई छ । नगरप्रमुख जिरेलले आगामी वर्ष नगरपालिकाले अघि सारेको नगरपालिकाको क्लिन जिरी, ग्रिन जिरी र अर्गानिक जिरीको नारालाई समेत सार्थक बनाउनेगरी विकास निर्माणको कामलाई निरन्तरता दिइने बताउनुभयो ।

हेर्नुहोस् फोटो फिचर 

२० असार, २०७६ । दिउँसो ३ः०० बजे प्रकाशित ।

VIEWS: 2450 पटक हेरीएको
error: Content is protected !!