जिल्ला सहकारी सँघको अध्यक्ष सहित अधिकाँश पद निर्विरोध, उपाध्यक्ष र लेखा सँयोजकमा निर्वाचन हुने

5 days ago/Saturday, November 9th, 2019

ईदोलखा संवाददाता ।
दोलखा, २३ कार्तिक ।

जिल्ला सहकारी सँघ दोलखाको अधिकाँश पद निर्विरोध भएको छ । अध्यक्ष, महासचिव, कोषाध्यक्ष सहितको मुख्य पदाधिकारी र अधिकाँश सँचालक सदस्य पद निर्विरोध भएपनि उपाध्यक्ष सहितका केही पदमा भने निर्वाचन हुने भएको छ ।

सहकारी सँघको दोलखा सदरमुकाम चरिकोटमा आज सम्पन्न १४ औं वार्षिक साधारण सभा पछिको निर्वाचन प्रक्रियामा बर्तमान अध्यक्ष हेमन्त चौंलागाई दोश्रो कार्यकालका लागि निर्विरोध निर्वाचित भएका हुन् । यस्तै, सँघको महासचिवमा कृष्णप्रसाद दाहाल, कोषाध्यक्षमा सरुणा बस्नेत तथा महिला सदस्यहरुमा रुपा भुजेल र सुमित्रा फुँयाल निर्विरोध भएका छन् । भुगोलतर्फवाट सँचालक सदस्यमा निर्विरोध निर्वाचित हुनेहरुमा जिरी नगरपालिकावाट पुष्पा जिरेल शेर्पा, मेलुङ र शैलुङ गाउँपालिकावाट राज पोखरेल, कालिन्चोक र बिगु गाउँपालिकावाट मिनकुमार खड्का तथा गौरीशंकर र बैतेस्वरवाट दिलवहादुर केसी रहेका छन् । लेखा सुपरिवेक्षण समितिको सदस्यहरुमा विकास चौंलागाई र सपना श्रेष्ठ पनि निर्विरोध भएका छन् । यद्धपि, निर्वाचन मण्डलले निर्विरोध निर्वाचित भएको घोषणा गर्न बाँकी रहेको छ ।

मंसिर ७ मा निर्वाचन

सर्वसम्मत नेतृत्व चयनको प्रयास भएपनि सहमति जुट्न नसकेपछि जिल्ला सहकारी सँघको नयाँ नेतृत्वका लागि निर्वाचनको प्रक्रिया भएको थियो । जस अनुसार उपाध्यक्ष, लेखा समिति सँयोजक र भीमेस्वर नगरपालिकावाट प्रतिनिधित्व गर्ने सँचालक सदस्यमा सहमति जुट्न नसके पछि निर्वाचन हुने भएको छ । निर्वाचनको मिति आगामी मँसिर ७ गतेका लागि तोकिएको छ । जस अनुसार उपाध्यक्ष पदमा रत्नवहादुर श्रेष्ठ र देवीप्रसाद शर्मा वीच प्रतिश्पर्धा हुने भएको छ । शर्मा बर्तमान महासचिव श्रेष्ठ उपाध्यक्षको जिम्मेवारीमा थिए । यस्तै, लेखा समितिको सँयोजकमा केदार रिमाल र पुस्करकुमार दाहाल वीच तथा भीमेस्वर नगरवाट प्रतिनिधित्व गर्ने सँचालक सदस्यमा नवराज रिजाल र राजन श्रेष्ठवीच प्रतिश्पर्धा हुनेछ । जिल्ला सहकारी सँघमा ४ सय ३४ वटा सहकारी संस्था सदस्य छन् ।

साधारण सभाको उद्घाटन गर्दै प्रदेश सभाकी साँसद रचना खड्काले सहकारी क्षेत्रको योगदान उत्पादन र रोजगारीमा जोड्न सुझाव दिनुभयो । सरकारले लिएको समृद्ध नेपाल सुखि नेपालीको अभियानलाई पूरा गर्न सहकारी क्षेत्र पनि महत्वपूर्ण रहेको भन्दै सांसद खड्काले शेयर सदस्यहरुको आर्थिक समृद्धिको अभियानमा लाग्न सहकारी क्षेत्रलाई आव्हान गर्नुभयो । कार्यक्रममा मेलुङ गाउँपालिकाका अध्यक्ष नरवहादुर श्रेष्ठ, जिविस दोलखाका पूर्व उपसभापति एवँ नेकपाका नेता शिवप्रसाद भण्डारी, प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाल, दोलखा जिल्ला वचत तथा ऋण सहकारी सँघ लिमिटेडका अध्यक्ष जिवसराज खड्का, सामुदायिक रेडियो प्रसारक सँघ नेपालका केन्द्रिय कोषाध्यक्ष लक्ष्मण खड्का लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

जिल्ला सहकारी सँघले आगामी आर्थिक बर्ष दोलखा जिल्लामा सहकारी सूचना केन्द्र स्थापना गर्ने र जिल्लाका सहकारीहरु वीच एकरुपता प्रणाली लागू गर्ने भएको छ । जिल्ला सहकारी संघको सदरमुकाम चरिकोटमा आज भएको १४ औं वार्षिक साधारण सभाले आगामी कार्यक्रम र योजनामा यी बिषयलाई अनुमोदन गरेको हो । सँघका अध्यक्ष हेमन्त चौंलागाईले सहकारी हवको रुपमा चिनिने दोलखा जिल्लामा सहकारी सूचना केन्द्रको स्थापना र सहकारी एकरुपता प्रणाली आवस्यक रहेको भन्दै प्रस्तावका रुपमा पेश गर्नुभएको थियो । सो प्रस्तावलाई साधारण सभाले अनुमोदन गरेको हो ।

उत्कृष्ट सहकारी र हाम्रो रेडियो सम्मानित

दोलखाका बचत तथा ऋण सहकारी मध्ये शिक्षक कल्याण साकोस, बहुउद्धेस्यीय सहकारी मध्ये नाम्दुस्थित हितैसी बहुउद्धेस्यीय सहकारी र कृषि सहकारी तर्फ भीमेस्वर नगरपालिका ६ स्थित पौरखी कृषि सहकारी यो बर्षका उत्कृष्ट सहकारी घोषित भएका छन् । सँघले ती उत्कृष्ट सहकारीहरुलाई सम्मान पनि गरेको छ । जिल्ला सहकारी सँघले रेडियोका माध्यमवाट सहकारी अभियानलाई टेवा पुरयाएको भन्दै जिल्लाका सँचार माध्यम मध्ये हाम्रो रेडियोलाई उत्कृष्ट सञ्चार माध्यमको रुपमा सम्मान गरेको छ भने हाम्रो रेडियोको साप्ताहिक रेडियो कार्यक्रम अर्थ र सहकारीकी प्रस्तोता एवँ न्यूज सव कोअर्डिनेटर लक्ष्मी बस्नेतलाई पनि सम्मान गरेको छ । सँघले बृहत सहकारी सम्मेलन सफल पार्नका लागि सहयोग गर्ने तथा नियमित क्रियालिशतर्फ बिभिन्न सँघ, सँस्था र व्यक्तिलाई पनि सम्मान गरेको छ ।

२३ कार्तिक २०७६। ६ः१५ बजे प्रकाशित

VIEWS: 2245 पटक हेरीएको
error: Content is protected !!