जुँगुका पहिरो पीडितलाई कोरिया, जापान, अष्ट्रेलिया र दुवईमा रहेका दोलखालीको सहयोग

2 years ago/Wednesday, August 28th, 2019

दोलखा, ११ भदौ ।

दोलखाको जुँगुका पहिरो पीडितहरुका लागि वैदेशिक रोजगारीमा गएका दोलखाली युवाहरुले २ लाख ९६ हजार ४ सय २२ रुपैयाँ आर्थिक सहयोग गरेका छन् ।

अष्ट्रेलिया, जापान र दुवईमा रहेका दोलखाली युवाहरुले पहिरो पीडितको राहत तथा घर पुननिर्माणका लागि सो आर्थिक सहयोग गरेका हुन् । अस्टे«लियामा रहेका दोलखाली युवाहरु राजकुमार खड्का र बिष्णु थापाको अगुवाईमा अष्टे«लियामा सँकलन भएको १ लाख २७ हजार ३ सय ३०, दोलखा समाज जापानका महासचिव रोशन थापाको अगुवाईमा संकलन भएको १ लाख र दोलखाली समाज युएईका अध्यक्ष नवराज बस्नेत र महासचिव सन्तोष भुजेलको अगुवाईमा संकलन भएको ४१ हजार ५ सय ९२ र सोही समाजका सचिव लोकप्रसाद दाहालको अगुवाईमा संकलन भएको २७ हजार ५ सय ५ गरी २ लाख ९६ हजार ४ सय २२ रुपैयाँ पहिरो पीडितलाई सहयोग जुटेको हो ।

दोलखा घर भई रोजगारीको शिलशिलामा विदेशीएका युवाहरुको समाजसेवाको रचनात्मक काम सँधै भईरहन्छ । जिल्लावासी गम्भिर बिरामी पर्दा होस् या बिपद्मा पर्दा उनीहरु विदेशमै भेला हुन्छन् र सकेको सहयोग सँकलन गरेर गाउँ पठाउँछन् । यो पटक विदेशमा रहेका दोलखालीहरुले जुँगुका पहिरो पीडितलाई सहयोग गरेका छन् ।

अष्ट्रेलियावाट प्राप्त सहयोग पूर्णवहादुर थापा, जापानवाट प्राप्त सहयोग राजेश थापा र युएईवाट प्राप्त सहयोगलाई दोलखाली समाज युएईका पूर्व उपाध्यक्ष पुस्कर अधिकारीले गौरीशंकर गाउँपालिकाकी उपाध्यक्ष उर्मिला थामीलाई हस्तान्तरण गर्नुभयो । सहयोग वापत प्राप्त रकमलाई पहिरो पीडितको राहत र पुननिर्माणका लागि जुँगु गाउँपालिका वडा नम्बर १ र २ का वडा अध्यक्षहरुको सँयुक्त हस्ताक्षरमा सँचालित राहत कोषमा जम्मा गरिने उपाध्यक्ष थामीले जानकारी दिनुभयो । रकम हस्तान्तरण कार्यक्रममा पूर्वराज्य मन्त्री एवँ नेकपा दोलखाकी ईन्चार्ज देवी खड्का र प्रदेश सभाका सांसद विशाल खड्काको पनि उपस्थिती थियो ।

जुँगुका पहिरो पीडितलाई दोलखाली समाज दक्षिण कोरियाका उपाध्यक्ष एवँ जुँगुका स्थानीयवासी अंकित कार्कीको पहलमा सँकलन भएको २ लाख ६५ हजार ९ सय ६८ रुपैयाँ सहयोग पनि केहि दिनअघि वडा अध्यक्षहरुलाई हस्तान्तरण गरिएको थियो । सो रकम कामको शिलशिलामा कोरिया पुगेका ५७ जना नेपालीहरुले सहयोग गरेका थिए ।

११ भदौ २०७६ । १०ः१५ बजे प्रकाशित

VIEWS: 15155 पटक हेरीएको
error: Content is protected !!