जुँगुका पहिरो पीडीतलाई गौरीशंकर गाउँपालिकाले राहत र क्षेतिपुर्ति दिने, लामाबगरका पहिरो पीडीत विद्यालयमा रात कटाउँदै

4 months ago/Monday, August 12th, 2019

दोलखा, २७ साउन ।

दोलखाको गौरीशंकर गाउँपालिकाले जुँगु पहिरोमा परि वेपत्ता भएका र पुर्णरुपमा घर क्षति भएका परिवारलाई आर्थिक सहयोग गर्ने भएको छ । आइतबार बसेको गाउँ कार्यपालिकाको बैठकले पहिरोमा परि वेपत्ता भएकाको परिवारलाई ७५ हजार र पुर्णरुपमा घर क्षति भएका परिवारलाई प्रतिपरिवार ५० हजार दिने निर्णय गरेको हो । जसअनुसार पहिरोमा परेर वेपत्ता भएका गौरीशंकर गाउँपालिका वडा नम्वर १ जुँगुका ५५ वर्षीय जगतबहादुर खत्री र वडा नम्वर २  का१८ वर्षीय निसान खड्काको परिवारले ७५/७५ हजार राहत पाउने भएका छन् । जुगुमा यही साउन १७ गते राति आएको पहिरोमा परि वेपत्ता भएका दुवै जना अझै फेला पर्न सकेका छैनन् ।

वेपत्ताहरुको खोजी तथा उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले निरन्तर प्रयास गरेपनि उनीहरुलाई फेला पार्न नसकिएको हो । वेपत्ताहरुको काठमाडौँबाट नेपाली सेनाको हेलिकप्टरमा तालिमप्राप्त कुकुर समेत ल्याएर खोजी गरिएको थियो । यद्धपी उनीहरुलाई फेला पार्न नसकिएपछि खड्का र खत्री दुवै जनाको परिवारले कुशको शव बनाएर दाहसंस्कार गरेका थिए ।

घटनाको १० दिनपछि गौरीशंकर गाउँपालिकाको सक्रियता

बैठकले पहिरोबाट पुर्ण रुपमा घर क्षति भएका परिवारलाई पनि प्रतिपरिवार ५० हजार उपलव्ध गराउने निर्णय गरेको छ । प्राविधिकको टोलीबाट निरिक्षण गराएर पुर्ण रुपमा घर क्षति भएकाको परिवारलाई अस्थायी बासस्थानको व्यवस्था गर्न प्रतिपरिवार ५० हजार राहत वितरण गरिने गाउँपालिकाकी उपाध्यक्ष उर्मिला थामी केसीले जानकारी दिनुभयो । उहाँका अनुसार प्राविधिक सहित गाउँपालिकाको टोलीले पहिरो प्रभावित क्षेत्रमा पुगेर निरिक्षण गरेपछि पुर्ण रुपमा घर क्षति भएका परिवारलाई सो राहत वितरण गरिनेछ । सुरुमा पहिरोबाट १० घर पुर्ण रुपमा क्षति भएको भनिएपनि पुनः प्राविधिकको टोलीबाट निरिक्षण गराएर पुर्ण रुपमा क्षति भएका घरको संख्या एकिन गरि रकम वितरण गरिने गाउँपालिकाले जनाएको छ । तर, गाउँपालिकाले जुँगु पहिरो पीडितको विषयमा ढिला गरि निर्णय गरेको हो ।

जुँगुमा पहिरोले ठुलो क्षति पु¥याए पनि घटनाको १० दिनपछि आईतबार बसेको गाउँ कार्यपालिकाको बैठकले आर्थिक सहायता उपलव्ध गराउने निर्णय गरेको हो । पहिरो लगत्तै वैतेश्वर, जिरी लगायतका स्थानीय सरकार राहत सामाग्री लिएर घटनास्थल पुगे पनि गौरीशंकर गाउँपालिकाले पीडीतको राहत र उद्धारका लागि ठोस कदम चाल्न नसकेको भन्दै आलोचना भएको थियो । यद्धपी घटनाको १० दिनपछि गौरीशंकर गाउँपालिकाले राहत दिने निर्णय गरेको छ ।

जुँगुका विस्थापित परिवारलाई भुगर्भविद्ले सुरक्षित स्थान खोज्ने

जुँगुमा १७ गते राति गएको पहिरोमा परि दुई जना वेपत्ता भएका थिए भने सिंगो वस्ती जोखिममा परेको थियो । पहिरोमा परि विस्थापित भएका मानिसहरु हाल आफन्तजन तथा सामुदायिक भवन र सहकारीको भवन लगाएतका सुरक्षित स्थानमा बसिरहेका छन् । पहिरोबाट विस्थापित भएका परिवारलाई घटनालगत्तै एक साताका लागि विद्यालय वन्द गरि स्थानीय निलकण्ठेश्वर माविमा राखिएपनि आइतबारदेखि विद्यालय खुलेपछि उनीहरुलाई आफन्तको घरमा तथा अन्य सुरक्षित स्थानमा सारिएको गौरीशंकर गाउँपालिका वडा नम्वर १ का वडाअध्यक्ष झलक कुमार कार्कीले जानकारी दिनुभयो । उहाँका अनुसार झगडेधारा र त्यस आसपासका पीडीतहरु स्थानीय सामदायिक भवन, सहकारी र आफन्तकोमा बसेका छन् भने राजपुका स्थानीयहरु विभिन्न ३ स्थानमा सामुहिक रुपमा त्रिपाल टाँगेर बसिरहेका छन् । विस्थापित परिवार दिउँसोको समयमा आफ्नो घर वरपर आएर काम गरेपनि राति बास बस्न भने सुरक्षित स्थानमा फर्किने गरेका छन् ।

बर्खाको समयमा त्रिपालमा बस्न समस्या भएको पीडितहरुको गुनासो छ । विभिन्न सँघसंस्था तथा गाउँपालिकाहरुबाट प्राप्त भएका त्रिपाल लगाएतका राहत सामाग्रीहरु पीडितलाई वितरण गरिएपनि त्रिपाल भने अझै अपुग भएकाले समस्या भएको वडाअध्यक्ष कार्कीले बताउनुभयो । पहिरोबाट विस्थापित भएका घर परिवारलाई स्थायी बसोबासका लागि भूगर्भविदहरुको टोली ल्याएर सुरक्षित स्थान पहिचान गरिने गाउँपालिकाले जनाएको छ । गाउँपालिकाको बैठकबाटै निर्णय गरि सुरक्षित स्थान पहिचानका लागि भूगर्भविदहरुको टोली ल्याउने तयारी गरिएको गाउँपालिकाकी उपाध्यक्ष थामीले जानकारी दिनुभयो ।

लामाबगरका पहिरो पीडीत गौरीशंकर प्राविमा

सुख्खा पहिरोमा परि विस्थापित भएका दोलखाको विगु गाउँपालिका वडा नम्वर १ लामाबगरका ११ परिवारलाई पनि स्थानीय विद्यालयमा राखिएको छ । शनिवार विहान गएको सुख्खा पहिरोमा परि पुर्ण रुपमा विस्थापित भएका ११ परिवारका ३६ जनालाई स्थानीय गौरीशंकर प्राविमा राखिएको हो । सुख्खा पहिरोमा परि लामाबगरका ११ परिवार पुर्ण रुपमा विस्थापित भएका छन् भने अन्य करिव १५ परिवार जोखिममा रहेका छन् । भिरमाथिबाट अझै बेला बेलामा सुख्खा पहिरो झर्ने गरेकाले त्यस आसपासका अन्य करिव १५/१६ घर पनि जोखिममा परेका हुन् । शनिवार करिव १० बजे लामाबगर बसपार्क भन्दा माथिको भिरबाट खसेको सुख्खा पहिरोमा परि स्थानीय लाली तमाङ घाईते भएकी थिइन्  । घाईते तमाङको हाल काठमाडौँस्थित शिक्षण अस्पतालमा उपचार भईरहेको छ ।

विगु गाउँपालिकाको लामागरमा गएको सुख्खा पहिरोले पु¥याएको क्षेतिको सांसद सहितका जनप्रतिनिधी र प्रमुख जिल्ला अधिकारी सहितको सरकारी टोलीले आईतबार स्थलगत रुपमा निरिक्षण गरेको छ । पहिरो स्थलमा प्रदेश सभाका सांसद पशुपति चौलागाई, जिल्ला समन्वय समितिका प्रमुख डलव पाण्डे, विगु गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजाल सहितको टोली पहिरो स्थलमा पुगेको थियो ।

२७ साउन, २०७६ । ८ः ३० बजे प्रकाशित ।

VIEWS: 4710 पटक हेरीएको
error: Content is protected !!