टेलिकम दोलखा शाखामा चरम लापरवाही, सेवाग्राही सँधै मारमा

3 weeks ago/Saturday, September 28th, 2019

दोलखा, ११ असोज ।

दोलखामा नेपाल टेलिकम अन्र्तगतको मोवाईल, टेलिफोन र एडिएसएल इन्टरनेट सेवामा देखिएको समस्या अझैै समाधान हुन सकेको छैन ।

जिल्लामा टेलिकम अन्तर्गतको सेवामा लामो समयदेखि देखिएको समस्या अझै समाधान हुन नसकेको हो । दोलखामा पटक–पटक मोवाईल, टेलिफोन र इन्टरनेट सेवामा समस्या देखिने गरेको छ । टेलिफोन सेवामा आवाज स्पष्ट नबुझिने, कुरा गर्दा गर्दै बिचमा कनेक्सन टुट्ने, झ्यार–झ्यार आवाज आउने तथा नेटवर्क विजि देखाउँदै फोन नलाग्ने समस्या अझै कायम छ ।

यस्तै ईन्टरनेट सेवा निकै सुस्त हुने तथा बेलाबेलामा कनेक्सन टुट्ने र तीन चार दिनसम्म पनि ईन्टरनेट र फोन नबन्ने लगायतका समस्याहरु देखिने गरेको छ । यसबाट सरकारी तथा गैरसरकारी कार्यालय समेत निकै प्रभावित बनेका छन् । सरकारी कार्यालयमा ईन्टरनेटको समस्या हुँदा उपभोक्ताले निकै सास्ती व्यहोर्नुपरेको छ । विशेष गरी जिल्लाको जिरी र सिगंटीमा टेलिफोन र इन्टरनेटमा समस्या बढि हुने गरेको उपभोक्ताको गुनासो छ ।

टेलिकमको लापरवाहीले समस्या

दोलखामा सदरमुकाम चरिकोटमा नेपाल टेलिकम अन्र्तगतका करिव ३ सय ल्याण्डलाइन फोनमा समस्या देखिएको छ । हिजो दिउँसोदेखि हालसम्मको अवधिमा सदरमुमकाम चरिकोटका करिव ३ सय ल्याण्डलाइन फोनमा समस्या देखिएको हो । टेलिकमको स्विचिङ सिस्टमको कार्ड जलेको अनुमान गरीए पनि के कारण ल्याण्डलाइन अवरुद्ध भएको भन्ने खुल्न नसकेको नेपाल टेलिकम दोलखा शाखाले जनाएको छ । दोलखामा पटक–पटक मोवाईल, टेलिफोन र इन्टरनेट सेवामा समस्या देखिने गरेको छ । जिरीमा पनि सातामा ३ पटक सम्म नेट र टेलिफोनमा समस्या देखिँदा जिरी बाट प्रसारण हुदैँ आएको जिरी सामुदायिक एफएम र विभिन्न सरकारी कार्यालयहरु बढी प्रभावित हुने गरेका छन् ।

टेलिकम दोलखा शाखा प्रमुख भ्रमणमै व्यस्त

केही महिना अघि देखि इन्टरनेट र टेलिफोनमा देखिएको समस्या जारी रहँदा टेलिकम दोलखा शाखा प्रमुख धर्मराज महर्जन बिदेश भ्रमणमा रहेका छन् । टेलिकम प्रमुख महर्जन तालिमका लागि एक महिना चीन भ्रमणमा रहँदा कार्यालयको सेवाप्रवाह भनेजस्तो चुस्त बन्न सकेको छैन । भदौ १३ गते चीन भ्रमणका लागि गएका महर्जन असोज ११ गते मात्रै स्वदेश फर्कदैछन् । कार्यालय प्रमुख महर्जनले आफु भ्रमणमा रहँदा कार्यालयका सहायक लेखा अधिकृत महेश घिमिरेलाई निमित्त प्रमुखको जिम्मेवारी दिएर गएका थिए । तर घिमिरेको पनि सरुवा भएपछि उनको ठाउँमा हाल ललितपुरबाट देवेन्द्र महर्जन आएका छन् ।

सहायक लेखा अधिकृत महर्जनले अहिले निमित्त प्रमुखको जिम्मेवारी बहन गरिरहेका छन् । जिल्लामा टेलिकम अन्तर्गतको सेवामा लामो समयदेखि देखिएको समस्या दीर्घकालीन रुपमा समाधान हुन नसक्दा सेवाग्राही निकै समस्यामा परेका छन् । टेलिफोन र इन्टरनेटमा समस्या देखिएको समस्या लामो समय सम्म पनि किन समाधान हुन नसकेको भन्ने हाम्रो जिज्ञासामा निमित्त प्रमुखको जिम्मेवारी सम्हालेका नेपाल टेलिकम दोलखा शाखाका सहायक लेखा अधिकृत देवेन्द्र महर्जनले वर्षाको समय र मुडेमा अप्टिकल फाइबर टुटेका कारण कहिलेकाहिँ समस्या देखिएको बताउनुभयो । उहाँले सो समस्या समाधानका लागि काठमाडौबाट प्राविधिक ल्याएर अप्टिकल फाइबर जोड्ने काम भइरहेकोले टेलिफोन र ईन्टरनेटमा देखिएको समस्या छिट्टै समाधान हुने दाबी गर्नुभयो ।

दरवन्दी अनुसारका कर्मचारी छैनन्

कार्यालयमा दरबन्दी अनुसारको कर्मचारी नहुँदा पनि सेवा प्रवाहमा समस्या भएको उहाँले बताउनुभयो । दोलखामा विषेशगरि वर्षायामको समयमा टेलिफोनमा बढि समस्या आउने गरेको छ । नेपाल टेलिकमको सेवा प्रवाहमा सरकारी नीतिका कारण पनि प्रभाव पर्ने गरेको छ । निजि कम्पनीद्धारा सञ्चालित सञ्चार सेवा चुस्त देखिएपनि नेपाल टेलिकमको सेवामा समस्या आएमा मर्मत तथा सुचारु हुन समेत समय लाग्ने गरेको छ । निजिमा समस्या भईहाले पनि तत्काल कर्मचारी परिचालन हुने तर, सरकारी स्वामित्वमा रहेकाले टेलिकमको सेवामा समस्या आएमा सुधारका लागि कार्यालय समय नै कुर्नुपर्ने बाध्यता छ ।

सरकारी कार्यालय भएकाले टेलिफोनमा बिहानै समस्या देखिए १० बजेसम्म र ४ बजेपछि तथा विदाको समयमा समस्या देखिए अर्काे दिनसम्म कुर्नुपर्ने अवस्था छ । अझ ग्रामिण क्षेत्रमा भने विशेषगरि टेलिफोनको सेवा विद्युतमा भर पर्नुपर्ने अवस्था रहेको छ । जिल्लामा पटक पटक इन्टरनेट र टेलिफोनमा समस्या हुदाँ जिल्लामा सञ्चालित रेडियो र सरकारी कार्यालयहरु बढी समस्यामा परेका छन् । यसतर्फ टेलिकम कार्यालयले ध्यान दिन जरुरी देखिन्छ ।

११ असोज, २०७६ । ११ः०० बजे प्रकाशित ।

VIEWS: 3410 पटक हेरीएको
error: Content is protected !!