तामाकोशीका स्काभेटरमा अनुगमन समितिको आँखाः कोहीलाई काखा, कोहीलाई पाखा

5 months ago/Wednesday, January 2nd, 2019

दोलखा, १८ पौष ।

तामाकोशी नदीमा बालुवा गिट्टि लगायतका नदीजन्य पदार्थ जताभावी उत्खनन गरेको आरोपमा नियन्त्रणमा लिईएका स्काभेटरलाई अनुगमन समितिले मनलागी धरौटी तोकेको छ ।

जिल्ला समन्वय समिति दोलखाका प्रमुख डबल पाण्डेको सँयोजकत्वमा रहेको अनुगमन समितिले फरक–फरक धरौटी तोकेको हो । नदीको बहाव परिवर्तन गरी जताभावी उत्खनन गरेको अभियोगमा अनुगमन समिति र स्थानीय प्रशासनले पुस ३ गते र ५ गते एउटा स्काभेटर र थप दुई वटा स्काभेटरको साँचो नियन्त्रणमा लिएको थियो । अनुगमन समितिले बैतेस्वर गाउँपालिका ६ स्थित तामाकोशी नदी किनारमा रहेको ठूलो बगर क्षेत्रवाट नियन्त्रणमा लिएको स्काभेटरको साँचो १५ हजार धरौटी लिएर छाडेको छ भने भीमेस्वर नगरपालिका ५ स्थित तामाकोशी किनारमा रहेको म¥याङ बगरवाट नियन्त्रणमा लिएको स्काभेटरलाई २ लाख धरौटी तोकेको छ ।

अनुगमन समितिका सदस्य एवँ प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकले सँयोजक डबल पाण्डे समेतको राय लिएर धरौटी तोकका हुन् । एउटै प्रकृतिको घटनामा अति न्यून र अधिकतम धरौटी तोक्नुलाई अर्थपूर्णरुपमा हेरिएको छ । धरौटी तोके लगत्तै ठूलो बगरबाट नियन्त्रणमा लिएको स्काभेटरको साँचो सम्वन्धित धनीले धरौटी बुझाएर लगेका छन् भने तामाकोशी किनारवाट नियन्त्रणमा लिएको स्काभेटर अहिले पनि स्थानीय प्रशासनकै नियन्त्रणमा छ । अनुगमन समितिका सँदस्य एवँ प्रजिअ पाठकले जताभावी उत्खननले तामाकोशी क्षेत्र जोखिममा परेको र पटक–पटक नियम उल्लघँन गरेका कारण बढी धरौटी तोकिएको दावी गर्नुभयो । उहाँले हाल धरौटी तोकिए पनि अन्तिम फैसला अनुमगन समितिको पूर्ण बैठकवाट हुने जानकारी दिनुभयो ।

ठूलो बगरको स्काभेटर तामाकोशीले प्रयोग गरेको दावी

जताभावी बालुवा, गिट्टि र नदीजन्य पदार्थ उत्खनन गरिए अधिकतम एक लाख सम्म जरिवाना र प्रयोग भएको मेशिन औजार जफत गर्न सक्ने कानूनी व्यवस्था छ । तर, जिल्ला स्तरीय अनुगमन समितिले पहिलो अनुगमनमै कारवाहीका लागि नियन्त्रणमा लिएका मध्ये एउटा उपकरणलाई तोकिए भन्दा दोब्बर अर्थात २ लाख र अर्को उपकरणलाई अति न्यून अर्थात १५ हजार मात्रै जरिवाना तोकेको हो । ठूलो बगरक्षेत्रवाट नियन्त्रणमा लिएको स्काभेटर माथिल्लो तामाकोशी आयोजनाको उपकरण ढुवानीका लागि डाईभर्सन बनाउन प्रयोग भएको भन्दै तामाकोशीले स्थानीय प्रशासनलाई पत्राचार गरेपछि तोकिएको धरौटी पनि फिर्ता गर्ने तयारी भईरहेको छ । यद्धपि, तामाकोशी किनार क्षेत्रवाट नियन्त्रणमा लिईएको बुस्ति निर्माण सेवाको स्काभेटर प्रशासनकै नियन्त्रणमा छ ।

नगरपालिकाको ठेक्कामा अनुगमन समितिले तोक्यो धरौटी

बुस्ती निर्माण सेवाका चरित्र तामाङले बालुवा उत्खनन र व्यवसायीक ढँगले ओसारपसार गर्न पाउने गरी भीमेस्वर नगरपालिकासँग सम्झौता भएको भन्दै अनुगमन समितिले तोकेको धरौटी तिर्न आनाकानी गरेका छन् । तामाङले नगरपालिकासँग मँसिर १० मै सम्झौता गरेर काम सुरु गरेको दावी गरेका छन् भने अनुगमन समितिले अनुगमनको बेलासम्म ठेक्का सम्झौता नभएको बताएको छ । भीमेस्वर नगरपालिकाले तामाकोसी पुलको २ सय मिटर तलदेखि ५ सय ५५ मिटर माथिसम्मको क्षेत्रवाट ११ हजार ४ सय घन मिटर ढुँगा, गिट्टि, ग्राभेल र बालुवाको कर सँकलन तथा उत्खनन गर्न पाउने गरी गरेको बोलपत्रमा सबैभन्दा बढी बुस्ती निर्माण सेवाको ७० लाखको टेण्डर परेको थियो ।

बुस्ती निर्माण सेवाले नियमानुसार उत्खनन गरेको दावी गरिरहेका बेला अनुगमन समितिका सदस्य सचिव एवँ जिल्ला समन्वय अधिकारी तुलसीनाथ गौतमले बुस्ती निर्माणको स्काभेटरले नदीको बहाव परिवर्तन गरेर उत्खनन गरेको र पहिलो पटक साँचो कव्जामा लिए पनि पुनः अर्को मेशिन प्रयोग गरेर उत्खनन गरेका कारण अधिकतम धरौटी तोक्नु परेको बताउनुभयो । सदस्य सचिव गौतमले धरौटी तोक्दा कुनै प्रभावमा नभई कसुरको आधारमा भएको दावी पनि गर्नुभयो ।

स्थानीय सरकारले दिएनन् विवरण

प्रदेश सरकारले जिल्ला समन्वय समितिका प्रमुखको सँयोजकत्वमा अनुगमन समिति गठन गरे लगत्तै पुसको पहिलो साता तामाकोशीदेखि सिँगटीसम्म अनुगमन गरिएको थियो । तामाकोशीदेखि सिँगटीसम्मको नदी किनारमा जताभावी उत्खनन भईरहे पनि अझै नियमन हुन सकेको छैन । जिल्लामा सँचालित क्रशर उद्योगहरु समेत नियम बिपरित सँचालनमा छन् । केहि क्रशर उद्योगले मुख्य सडकमार्गलाई समेत क्षेति पुग्ने गरी उद्योग सँचालन गरिरहेका छन् ।

प्रजिअ पाठकले दोलखाका सवै स्थानीय सरकारलाई स्थानीय तहमा अनुगमन गरी जिल्ला अनुगमन समितिमा प्रतिवेदन बुझाउन निर्देशन दिएपनि अहिले सम्म प्राप्त हुन नसकेको जानकारी दिनुभयो ।

१८ पौष २०७५ । ६ः०० बजे प्रकाशित

VIEWS: 2840 पटक हेरीएको
error: Content is protected !!