तामाकोसी गाउँपालिकाको एक बर्षको आन्तरिक आम्दानी ६ करोड ४२ लाख

2 weeks ago/Friday, August 9th, 2019

लक्ष्मी बस्नेत ।

दोलखा, २४ साउन ।

दोलखाको तामाकोशी गाउँपालिकाले गत आर्थिक वर्ष ६ करोड ४२ लाख आन्तरिक आम्दानी गरेको छ ।

गाउँपालिकाले गत आर्थिक वर्ष २०७५/७६ मा ७ करोड भन्दा बढि आन्तरिक आम्दानी गर्ने लक्ष्य लिएपनि लक्ष्य भन्दा करिव एक करोड कम ६ करोड ४२ लाख ४५ हजार २ सय ५० रुपैयाँ आन्तरिक आम्दानी गरेको हो । जुन लक्ष्य भन्दा १ करोड ३७ लाख ८७ हजार ६ सय ७० रुपैयाँ कम हो । गाउँपलिकाले गत वर्ष ७ करोड ८० लाख ३२ हजार ९ सय २१ रुपैयाँ आन्तरिक आम्दानी गर्ने लक्ष्य लिएको थियो । गाउँपालिकाले लक्ष्य अनुसार सवारी साधन कर (सवारी दर्ता, वार्षिक सवारी कर तथा पटके सवारी कर) वापत ३० हजार उठाउने अनुमान गरेपनि सो शीर्षकमा एक रुपैयाँ पनि उठ्न सकेको छैन । गाउँपालिकाले गत वर्ष एकिकृत सम्पत्ति कर वापत ३० लाख राजश्व उठाउने लक्ष्य लिएकोमा लक्ष्य भन्दा २३ लाख ६८ हजार ८ रुपैयाँ कम ६ लाख ३१ हजार ९ सय ९२ रुपैयाँ राजश्व संकलन गरेको छ ।

घरबहाल कर वापत लक्ष्य भन्दा बढी राजस्व संकलन

गाउँपालिकाले घरवहाल कर वापत १० हजार उठाउने लक्ष्य लिईएकोमा ८८ हजार ५ सय ६९ रुपैयाँ राजश्व संकलन गरेको छ । गाउँपालिकाले घरबहाल कर वापत भने लक्ष्य भन्दा ७८ हजार ५ सय ६९ रुपैयाँ बढि राजश्व संकलन गरेको हो । व्यवसाय रजिष्ट्रेशन दस्तुर वापत ३ लाख १५ हजार उठाउने लक्ष्य लिएको तामाकोशी गाउँपालिकाले लक्ष्य भन्दा २ लाख ९२ हजार २० रुपैयाँ कम २२ हजार ९ सय ८० रुपैयाँ राजश्व संकलन गरेको छ । यसैगरी, अन्य कर वापत ३ करोड १ लाख उठाउने लक्ष्य लिएकोमा २ करोड ४८ लाख ४१ हजार ७ सय ४१ रुपैयाँ संकलन भएको छ । जुन लक्ष्य भन्दा ५२ लाख ५८ हजार २ सय ५९ रुपैयाँ कम हो । गाउँपालिकाले अन्य विक्रिबाट ५० लाख रकम प्राप्त हुने अनुमान गरेकोमा ४६ लाख २१ हजार ६ सय ९६ रुपैयाँ संकलन गरेको छ ।

यस्तै, नक्सापास दस्तुर वापत ९ लाख उठ्ने लक्ष्य लिईएकोमा लक्ष्य भन्दा ८ लाख ८८ हजार ४ सय ३० रुपैयाँ कम ११ हजार मात्रै राजश्वं संकलन भएको छ ।सिफारिस दस्तुर वापत पनि लक्ष्य भन्दा कम राजश्व संकलन भएको छ । सो शीर्षकमा ५ लाख आय हुने अनुमान गरिएकोमा लक्ष्य भन्दा २ लाख ५० हजार ८ सय ७६ रुपैयाँ कम अर्थात २ लाख ४९ हजार १ सय २३ रुपैयाँ मात्रै राजश्व संकलन भएको हो । ३ करोड ७९ लाख ९२ हजार ९ सय २१ रुपैयाँ भने गत वर्षको नगद मौज्दात रहेको गाउँपालिकाका सुचना अधिकारी आङदोर्जे लामाले जानकारी दिनुभयो ।

अन्य सबै शीर्षकमा अनुमान गरिए भन्दा कम राजश्व संकलन

गाउँपालिकाले गत वर्ष घरबहाल कर बाहेक अन्य सबै शीर्षकमा अनुमान गरिए भन्दा कम राजश्व संकलन गरेको छ । कुनै शीर्षकमा एक रुपैयाँ पनि राजश्व नउठेकाले गत वर्ष अनुमान गरिए भन्दा केही कम राजश्व सकंलन भएपनि चालु वर्ष त्यसलाई संशोधन गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विज्ञान कोईरालाले जानकारी दिनुभयो ।

तामाकोशी गाउँपालिकाले गत आर्थिक वर्ष संघीय सरकारबाट राजश्व वाँडफाँड मार्फत ४ करोड १५ लाख ९५ हजार ४ सय २९ रुपैयाँ रकम पाएको थियो भने प्रदेश सरकारले सवारी साधन कर वापत १ करोड १ लाख ११ हजार ३ सय ९५ रुपैयाँ रकम पठाएको थियो । यस्तै गाउँपालिकाले जिल्ला मालपोत कार्यालयबाट प्राप्त हुने घरजग्गा रजिष्ट्रेशन दस्तुर वापत भने ४ लाख ७२ हजार २ सय ८० रुपैयाँ प्राप्त गरेको गाउँपालिकाले जनाएको छ ।

२४ साउन, २०७६ । १०ः ३० बजे प्रकाशित ।

VIEWS: 2460 पटक हेरीएको
error: Content is protected !!