तामाकोसी नदी किनारमा प्रशासन र अनुगमन समितिको छापा, केही उपकरणको साँचो नियन्त्रणमा

9 months ago/Wednesday, December 19th, 2018

दोलखा, ४ पौष ।

स्थानीय प्रशासनले दोलखाको तामाकोसी नदि किनारमा वातावरणलाई प्रत्यक्ष प्रभाव पार्ने गरी जताभावी नदिजन्य पदार्थ उत्खनन गर्ने उपकरणहरु नियन्त्रणमा लिन थालेको छ ।

नदिजन्य पदार्थको व्यस्थापनका लागि हालै मात्र गठित जिल्लास्तरीय अनुगमन समितिको निर्णय अनुसार हिजोबाट स्थानीय प्रशासनले स्थलगत अनुगमन गरी कारवाही गर्न सुरु गरेको हो । जसअनुसार अनुगमको पहिलो दिन तामाकोशी आसपासको क्षेत्रमा जताभावी वालुवा गिटी उत्खनन् गर्ने तीनवटा स्काभेटरको साँचो नियन्त्रणमा लिइएको छ । नदिको वहावलाई नै फर्काई वालुवा गिटी उत्खनन गर्ने तीनवटा स्काभेटरको साँचो नियन्त्रणमा लिईएको जिल्ला अनुगमन समितिका संयोजक एवम, जिल्ला समन्वय समितिका प्रमुख डवल पाण्डेले जानकारी दिनुभयो ।

स्थलगत अनुगमन जारी

उहाँका अनुसार समितिले आज पनि नागदह क्षेत्रको अनुगमन गरेको छ । आजको अनुगमनका क्रममा भने नियम अनुसार नै नदीजन्य पदार्थ उत्खनन भएको पाईएको प्रमुख पाण्डेले जानकारी दिनुभयो । अनुगमन समितिले तामाकोसी क्षेत्रमा भएको उत्खननको आज पनि स्थलगत अनुगमन जारी राखेको छ । जिल्ला समन्वय समितिका प्रमुख डवल पाण्डे नेतृत्वको अनुगमन टोली तथा प्रमुख जिल्ला अधिकारी सागरमणी पाठक, सुरक्षा निकायका प्रमुख तथा वन तथा वातावरण सम्बन्धी कार्यालयका प्रमुखहरु सहभागी अनुगमन टोलीले संयुक्त रुपमा अनुगमन गरेको हो । अनुगमनका क्रममा मापदण्ड अनुसार प्राकृतिक स्रोत उत्खनन गर्न निर्देशन दिईएको र गाउँपालिका तथा नगरपालिका सँग उत्खनन अनुमति तथा सम्झौताको विवरण माग गरिएको सिडिओ पाठकले जानकारी दिनुभयो । नियम विपरित नदिको वहावलाई समेत परिवर्तन गरेर जताभावी नदिजन्य पदार्थ उत्खनन गर्नेलाई कारवाही गरीने उहाँले बताउनुभयो ।

अन्याय भएको व्यवसायीहरुको आरोप

स्थानीय प्रशासन र अनुगमन समितिले स्थानीय सरकारले ठेक्का लगाएको क्षेत्रमा उत्खनन गर्न रोक लगाएर अन्याय गरेको व्यवसायीहरुले आरोप लगाएका छन् । किर्नेटारदेखि लामाबगरसम्म दर्जनौ स्थानमा नदिजन्य पदार्थ उत्खनन गरीए पनि केही उपकरणको मात्रै साँचो कव्जामा लिएर विभेद गरेको उनीहरुको आरोप छ ।

विनाशकारी भूकम्पको विनाश पछि पुननिर्माणको बहानामा तामाकोसी नदीमा जताभावी उत्खनन गरिएको, मापदण्ड बिपरित क्रशर सँचालन गरिएको समाचार बिभिन्न सँचार माध्यममा प्रकाशन/प्रशारण भएपछि यसअघि पनि अनुगमन गरि मापदण्ड विपरित क्रसर उद्योग सञ्चालन गर्न रोक लगाईएको थियो । दोलखामा अवैध रुपमा भईरहेको बालुवा गिट्टि, रोडाढुँगा लगायत प्राकृतिक श्रोत साधनको उत्खनन् तथा मापदण्ड बिपरितका क्रशर उद्योग तत्काल बन्द गर्न प्रदेश सरकारले स्थानीय प्रशासनलाई निर्देशन दिएपछि तत्कालिन प्रमुख जिल्ला अधिकारी लक्ष्मण विक्रम थापाले अवैध रुपमा सञ्चालित क्रसर तथा नदीजन्य पदार्थको उत्खनन् रोक्न जिल्ला प्रहरी कार्यालयलाई निर्देशन दिनुभएको थियो ।

पुनः संघीय सरकारले जिल्ला समन्वय समितिका प्रमुखको नेतृत्वमा अनुगमन समिति गठन गर्ने निर्णय गरेलगत्तै दोलखामा अनुगमन सुरु भएको हो ।

४ पौष, २०७५ । ७ः ०० बजे प्रकाशित ।

VIEWS: 3330 पटक हेरीएको
error: Content is protected !!