दशैंलाई लक्षित गरी दोलखामा सुरक्षामा कडाई

2 weeks ago/Saturday, October 5th, 2019

दोलखा, १८ असोज ।

जिल्ला प्रहरी कार्यालय दोलखाले चाडपर्वका बेला अपराधिक घटना बढ्न सक्ने भन्दै सुरक्षा व्यवस्थामा कडाई गरेको छ ।

प्रहरीले दशैं तिहारमा कुनै अवाञ्छित घटना हुन नदिन जिल्लाभरको सुरक्षा व्यवस्थामा कडाई गरेको हो । चाडपर्वलाई लक्षित गरि एक सिफ्टमा सय जना प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक (डिएसपी) मान बहादुर राईले जानकारी दिनुभयो । चाडपर्वका समयमा जिल्लाका कुनै पनि स्थानमा घट्ना भएमा सोही स्थानका प्रहरी युनिट जिम्मेवार हुनुपर्ने गरी प्रहरी परिचालन गरीएको उहाँले बताउनुभयो । डिएसपी राईले सदाचार र तटस्थ भएर प्रहरी अघि बढ्नु पर्ने भन्दै अपराध अनुषन्धान र शान्ति सुरक्षा कायम गर्ने सवालमा कुनै सम्झौता नहुने स्पस्ट पार्नुभयो । चाडपर्वमा कारोवार हुने स्थानमा चोरी, लुटपाट, ठगी, डकैती लगायतका घटना हुन सक्ने भन्दै प्रहरीले सुरक्षा व्यवस्था कडा पारेको छ ।

यस्तै प्रहरीले लोकमार्गमा चल्ने सवारी साधनहरुबाट आर्थिक सहयोगको नाममा चन्दा संकलन, चिठ्ठा उपहार जस्ता गैरकानुनी कार्यमा संलग्न नहुन र त्यस्ता कार्य भएमा प्रहरीलाई खवर गर्न आग्रह पनि गरेको छ । चाडपर्वका बेला मादक पदार्थ तथा नसालु पदार्थ सेवन गरी उच्छृङखल गतिविधि नगर्न पनि आग्रह गरिएको छ । बजारमा कृतिम अभाव, कालोवजारी, अस्वभाविक मुल्य बृद्धि जस्ता कार्य नगर्न पनि आग्रह गर्दै त्यसतर्फ निगरान्ी बढाईएको दोलखा प्रहरीले जनाएको छ । डिएसपी राईले प्रहरी नागरिक मैत्री भएकाले नागरिकको सुरक्षाका लागि आ–आफ्नो स्थानबाट अग्रसर भएर काम गर्न सबै प्रहरी युनिटहरुलाई आग्रह गर्नुभयो ।

जिल्लाभर कहाँ–कहाँ छन् प्रहरी युनिट

दोलखाको भिमेश्वर नगरपालिकामा जिल्ला प्रहरी कार्यलय सहित ट्राफिक प्रहरी कार्यालय, ईलाका प्रहरी कार्यालय भिमेश्वर, प्रहरी चौकी सातदोबाटो, किरातीछाप, खरिढुंगा र अस्थायी प्रहरी पोष्ट बोच रहेका छन् । यस्तै, जिरी नगरपालिकामा ईलाका प्रहरी कार्यालय जिरी र अस्थायी प्रहरी पोष्ट लिंकन रहेको छ भने वैत्यश्वर गाउँपालिकामा ईलाका प्रहरी कार्यालय मैनापोखरी र प्रहरी चौकी गैरीमुदी रहेका छन् । तामाकोशी गाउँपालिका अन्र्तगत पनि प्रहरी चौकी किर्नेटार र प्रहरी चौकी छौँडे रहेका छन् भने मेलुङ गाउँपालिकामा प्रहरी चौकी मेलुङ, शैलुङ गाउँपालिका अन्र्तगत ईलाका प्रहरी कार्यालय मागापौवा र प्रहरी चौकी भैँसे रहेको छन् ।

जिल्लाको कालिञ्चोक गाउँपालिका अन्र्तगत ईलाका प्रहरी कार्यालय सिंगटी रहेको छ भने गौरीशंकर गाउँपालिकामा पनि ईलाका प्रहरी कार्यालय रहेको छ । विगु गाउँपालिकामा भने प्रहरी चौकी विगु, प्रहरी चौकी आलम्पु, प्रहरी चौकी रोल्वालिङ र सिमाना प्रहरी चौकी लामाबगर रहेका छन् । ती मध्य ईलाका प्रहरी कार्यालय जिरी, सिंगटी र गौरीशंकर भने ‘क’ वर्गका ईलाका प्रहरी कार्यालय हुन् । जिल्लाभर रहेका २० वटा प्रहरी युनिटमा कम्तीमा ६ जनादेखि २३ जनासम्म प्रहरी रहनेछन् । ति मध्ये सम्बन्धीत निकायको सुरक्षाका लागि प्रहरी निरिक्षक, प्रहरी सहायक निरिक्षक र प्रहरी नायव निरिक्षकलाई जिम्मेवारी दिइएको छ ।

दरवन्दी अनुसारका प्रहरी छैनन

जिल्ला प्रहरी कार्यालय दोलखामा दरवन्दी अनुसारका प्रहरी कर्मचारी नहुँदा भने समस्या भएको छ । जिल्लामा ४ सय ३८ जना प्रहरीको दरवन्दी भएपनि हाल २ सय ६२ जना प्रहरी मात्रै कार्यरत छन् । जिल्लामा १ सय १५ जनाको दरवन्दी नै रिक्त छ भने ६१ जना प्रहरी विदामा छन् । काजमा, तालिममा र घरविदा गरी ६१ जना विदामा रहेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।

१८ असोज, २०७६ । ७ः५० बजे प्रकाशित ।

VIEWS: 705 पटक हेरीएको
error: Content is protected !!