दोलखाका एक स्वास्थ्यकर्मीमा आरडिटि परिक्षण पोजेटिभ

4 days ago/Wednesday, May 20th, 2020

दोलखा, ७ जेठ ।

दोलखाका एक स्वास्थ्यकर्मीमा र्यापिड डायग्नोष्टिक टेष्ट (आरडिटि) विधिबाट कोरोना परिक्षणका क्रममा एन्टिबडी पोजेटिभ देखिएको छ ।

दोलखा सदरमुकाम चरिकोटस्थित प्रस्तावित चरिकोट अस्पतालमा गरिएको परीक्षणका क्रममा एक स्वास्थ्यकर्मीमा एन्टिबडि पोजेटिभ देखिएको हो । अस्पतालका स्वास्थ्यकर्मी सहित सबै कर्मचारीमा गरिएको परीक्षणका क्रममा एक जनामा पोजेटिभ देखिएको बताईएको छ । यद्धपी अस्पतालमा कार्यरत एक कर्मचारीमा आरडिटि विधिबाट गरिएको परिक्षणका क्रममा एन्टिबडि पोजेटिभ देखिएपनि अस्पतालले भने यसको पुष्टी गरिसकेको छैन । आज भीमेश्वर नगरपालिका स्थित प्राथमिक स्वास्थ्य केन्द्रमा ९७ जनामा गरिएको परीक्षणका क्रममा एक जनाको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य कार्यालय दोलखाका प्रमुख विभुकुमार झाले पुष्टी गर्नुभयो ।

कोरोना पोजेटिभ देखिएको व्यक्ति पुरुष भएपनि उनको विषयमा थप विवरण खुल्न बाँकी रहेको प्रमुख झा ले बताउनुभयो । उहाँका अनुसार आरडिटि पोजेटिभ देखिएको पुरुषलाई अस्पतालकै आईसोलेसनमा राखेर स्वाब परिक्षणका लागि पठाउने तयारी भईरहेको छ ।

शैलुङका दुई जनाको पिसिआर रिपोर्ट नेगेटिभ

दोलखाको शैलुङ गाउँपालिकाका दुई जनाको पिसिआर परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । कोरोनाको आशंकामा काठमाडौँको पाटन अस्पतालमा रहेका उनीहरुमा पिसिआर परिक्षण गर्दा कोरोना संक्रमण नदेखिएको हो । कोरोना संक्रमण देखिएको तराईका जिल्लाबाट आएका एक पुरुषमा कोरोनासँग मिल्दोजुल्दो लक्षण समेत देखिएकाले काठमाडौँको पाटन अस्पताल लगिएकोमा पिसिआर परीक्षण रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय दोलखाका प्रमुख विभुकमार झाले जानकारी दिनुभयो ।

उहाँका अनुसार पर्सा पुगेर आएका ती पुरुष विरामी भएकाले काठमाडौँ लगिएको र उनलाई लिएर गएका अर्का पुरुषको पनि पिसिआर परिक्षण गरिएकोमा दुवै जनाको रिपोर्ट नेगेटिभ आएको हो । ट्राभल हिस्ट्री र लक्षण दुवै भएकाले उनको यहाँ स्वाब संकलन नगरी आईतबार राति सिधै काठमाडौँ पठाईएको थियो ।

VIEWS: 18130 पटक हेरीएको
error: Content is protected !!