दोलखाका तिन वटा सडक पुल १० बर्षमा पनि बन्न सकेन, अन्य सात वटाको अवस्था पनि उस्तै

11 months ago/Thursday, January 9th, 2020

दुर्गा बस्नेत ।

दोलखा, २४ पुस ।

दोलखाका तीन वटा सडक पुल निर्माण सुरु भएको करिव एक दशकसम्म पनि सम्पन्न भएका छैनन ।

जिल्लाको गौरीशंकर गाउँपालिकास्थित घट्टेखोला र भोर्ले खोला पुल तथा शैलुङ गाउँपालिका र मेलुङ गाउँपालिकालाई जोड्ने ढाँडेखोला पुल निर्माण सुरु भएको करिव एक दशक वित्तिसक्दा समेत सम्पन्न नभएका हुन् । जिल्लाको उत्तरी तामाकोशी–भोर्ले सडकदेखि सुरी सडकलाई जोड्ने भोर्ले खोला पुल २०६६ सालमा तथा घट्टेखोला पुल र ढाडेखोला पुल २०६८ सालमा ठेक्का सम्झौता भएपनि तीन वटै पुल अहिलेसम्म निर्माण सम्पन्न हुन सकेको छैन । घट्टेखोला पुल २०७० साल असार २९ गते निर्माण सम्पन्न गर्नेगरी ९ वर्षअघि १ करोड ९५ लाख ४७ हजार ६ सय ५ रुपैँयामा सर्वोद्धर फ्रेन्डस जेभी निर्माण कम्पनीले ठेक्का सम्झौता गरेको थियो । सो आरसीसी पुलको विचमा पिल्लर राखेर निर्माण गर्नेगरी डिजाइन तयार भएको थियो ।

तर पछि खोला ठाडो भएकाले विचमा पिल्लर राखेर निर्माण गर्न नमिल्ने भएपछि सो कम्पनीले डिजाइन परिवर्तन गर्नुपर्ने भन्दै कामै नगरेको हो ।  २०६८ सालमा पुल निर्माणका लागि ठेक्का लिएको सर्वोद्धर फ्रेन्डस जेभीले दुई वर्षमा जम्मा ८ प्रतिशत काम गरेर १८ लाख रकम भुक्तानी लगेको छ । त्यसपछि २०७० सालदेखि निर्माण ठप्प भएको घट्टेखोला पुलको अहिलेसम्म कस्तो डिजाइन बनाउने भन्ने एकिन भएको छैन । सोही कारण सो पुल ९ वर्षदेखि अलपत्र अवस्थामा रहेको डिभिजन सडक कार्यालय दोलखाका प्रमुख धमेन्द्र झाले जानकारी दिनुभयो ।

भोर्ले पुल निर्माणः १० बर्षमा ५० प्रतिशत काम

१० वर्ष अघिदेखि निर्माण सुरु भएको गौरीशंकर गाउँपालिकास्थित भोर्ले पुल पनि अझै सम्पन्न भएको छैन । २०६६/६७ मा दुई वर्षभित्र निर्माण सम्पन्न गर्नेगरी ठेक्का सम्झौता भएको भोर्ले पुल अझै निर्माणकै क्रममा रहेको हो । कन्सल्टेन्टको गलत डिजाइनका कारण लामो समयदेखि अलपत्र परेको पुल डिजाइनमा केही परिवर्तन गरीएपछि केहीसमय अघिदेखि निर्माण सुरु भएपनि अझै सम्पन्न भएको छैन । भोर्ले पुल निर्माणका लागि २०६६ माघ १८ गते कुल ३ करोड ५८ लाख ७१ हजार ६ सय १६ रुपैँयामा ठेक्का सम्झौता भएको थियो ।

सो पुलको काम २०६८ साल माघ १७ गते सम्पन्न गर्नुपर्ने थियो । तर अहिलेसम्म ५० प्रतिशत मात्रै काम सम्पन्न भएको डिभिजन सडक कार्यालय दोलखाकी इन्जिनियर प्रकृति पाण्डेले जानकारी दिनुभयो । रौता महादेव जेभीले ठेक्का लिएको भोर्ले पुलको ठेक्का तोड्ने चेतावनी दिएपछि सो कम्पनीले बल्ल काम सुरु गरेको हो । पुरानै सम्झौतामा काम सुरु गरेको रौता जेभीले चालु वर्ष निर्माण सम्पन्न गर्ने गरी काम गरीरहेको इन्जिनियर पाण्डेले बताउनुभयो ।

शैलुङ गाउँपालिका र मेलुङ गाउँपालिका जोड्ने ढाडेखोला पुल पनि २०७३ सालमै निर्माण सम्पन्न हुनुपर्ने भएपनि अझै सम्पन्न भएको छैन । २०७३ सालमा एक वर्षभित्र निर्माण सम्पन्न गर्नेगरी १ करोड ८ लाख ८८ हजार ४ सय ६ रुपैँयामा सुनौला खिम्ति र भण्डारी विल्डर्स जेभीले ठेक्का सम्झौता गरेको पुल अझै सम्पन्न नभएको हो । पुल निर्माण भएपछि त्यसको दाँयाबाँया पर्खाल उठाउने विषयमा विवाद भएपछि सो पुलको काम रोकिएको थियो । यद्यपी अहिले विवाद सल्टीएर काम सुरु भएको सो पुल निर्माणको अन्तिम चरणमा पुगेको डिभिजन सडक कार्यालय दोलखाले जनाएको छ ।

अन्य सात वटा पुलको अवस्था पनि उस्तै

दोलखामा निर्माणाधीन अन्य ७ वटा पुल पनि वर्षौदेखि अलपत्रै अवस्थामा रहेका छन् । २०७३ सालमा ठेक्का सम्झौता भएको चर्णावती लामोसाँघु जिरी सडक पुलको अहिलेसम्म जम्मा ५५ प्रतिशत काम मात्रै सम्पन्न भएको छ । ओम बुद्ध कन्ट्रक्सनले ३ करोड ४७ लाख ९७ हजार ५ सय ३८ रुपैँयामा ठेक्का लिएको सो पुल चालु वर्ष निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको छ । यसैगरी निर्माणाधीन अवस्थामा रहेका चर्नावती गाईघाट पुल, झाक्रे खोला पुल, सिक्रिखोला पुल, जिरीखोला पुल र भस्मे खोला पुल पनि निर्माणकै चरणमा रहेका छन् ।

तस्विरः गुमुखोलामा निर्माणाधीन सडक पुल

२४ पुस २०७६ । १ः०० बजे प्रकाशित

VIEWS: 5900 पटक हेरीएको
error: Content is protected !!