दोलखाका पवन गिरी नेपाल आईडलको टप १० मा

9 months ago/Saturday, October 6th, 2018

दोलखा, २० असोज ।

दोलखाली युवा पवन गिरी नेपाल आईडलको टप टेनमा पर्न सफल भएका छन् ।

गिरी नेपाल आइडलको दोस्रो सिजनको टप टेनमा पर्न सफल भएका हुन् । विहिबार गरेको प्रस्तुतीमा जजहरुको नम्वर र दर्शकको भोटका आधारमा गिरीले नेपाल आईडलको टप टेनमा स्थान पक्का गरेका हुन् । आफ्नो प्रस्तुती दिने क्रममा गिरीले विहिबार दर्शन नमस्ते गित गाएका थिए । सोही गितमा जजहरुको नम्वर र दर्शकको भोटबाट गिरी टप १० मा पर्न सफल भएको शुक्रबार राति घोषणा भएको हो । विहिबारको एपिसोडमा गिरी सहित ११ प्रतिस्पर्धीले आफ्नो प्रस्तुती दिएका थिए । नेपाल आईडलमा प्रस्तुतीको क्रममा गाएनको बाघ तथा पावर प्याक पर्फमरको उपनाम पाएका गिरी गत साता पर्फमर अफ द डे समेत बनेका थिए ।

दोलखादेखि नेपाल आईडल सम्मको यात्रा

दोलखाको भिमेश्वर नगरपालिका ५ विषुनटोल स्थायी घर भएका गिरी सानैदेखि परिवारसँगै काठमाडौँ बस्दै आएका थिए । हाल काठमाडौँस्थित शंकरदेव क्याम्पसमा स्नातक अन्तिम वर्षमा अध्ययनरत गिरी करिव साँढे २ वर्षदेखि संगितमा सक्रिय छन् । द लाईट व्याण्डमा आवद्ध गिरी काठमाडौँको ठमेलस्थित विभिन्न बारमा लाईभ सो गर्दै आएका छन् । गिरीका बुबा भिम बहादुर गिरी काठमाडौँकै आरआर क्याम्पसमा गार्डको रुपमा काम गर्नुहुन्छ । सामान्य परिवारमा जन्मेका गिरीको सानैदेखि गित संगितमा रुची थियो । जिन्दगीमा धेरै आरोह अवरोह सहनुपरे पनि हिम्मत नहारेकाले अाँफु यहाँसम्म आईपुग्न सफल भएको बताउँछन् गिरी । ३ जना दिदीबहिनी र दुई दाजुभाई मध्य कान्छो छोरा रहेका गिरी कामको खोजीमा भौतारिँदा भौँतारिँदै अन्योलकै बिच संगितमा लागेका हुन् । साथीकै सल्लाहमा नेपाल आईडलमा गएका गिरी यहाँसम्म आईपुगेका छन् । केही सिक्छु भन्ने उद्देश्यले नेपाल आईडलमा पुगेको उनको भनाई छ । गिरी दोलखामै जन्मिएपनि आर्थिक अवस्था कमजोर भएपछि कामको सिलसिलामा उनको परिवारै काठमाडौँ पुगेको थियो ।

 

कसरी गर्ने गिरीलाई भोट

गिरी औपचारिक रुपमा संगित नसिकेपनि नेपाल आईडलको यो मञ्चसम्म आईपुगेका छन् । नेपाल आईडलको यहाँसम्मको यात्रामा गिरीले उत्कृष्ट पर्फमरका साथै बटम थ्री को अनुभव समेत गरिसकेका छन् । गिरी भोट कम भएपछि पछिल्लो एपिसोडमा बटम थ्रीमा परेका थिए । तै पनि उनी सुरक्षित हुँदै टप १० मा पर्न सफल भएका हुन् । गिरीलाई भोट गर्नका लागि उनको भोटिङ कोड ०८ रहेको छ । मोबाईलको म्यासेज बक्समा गएर गिरीको भोटिङ कोड ०८ टाईप गरि ३१००९ मा सेन्ट गर्न सकिनेछ भने ‘रेस्पेक्ट एण्ड राईज’ एप डाउनलोड गरेर पनि उनलाई भोट गर्न सकिनेछ ।

नेपाली टेलिभिजनको इतिहाँसमा पहिलो अन्तराष्ट्रिय फ्रेन्चाइज प्राप्त कार्यक्रम नेपाल आईडलको दोस्रो सिजन एपि वान एचडीबाट प्रत्येक साताको दुई दिन बिहिबार र शुक्रबार राती साँढे ८ मा प्रसारण हुने गरेको छ । हरेक मानिससँग केही न केही क्षमता हुन्छ तर पनि सबै बाहिर ल्याउन सकिरहेका हुँदैनन् र त्यसलाई प्रस्फुटन गर्ने माध्यम पनि पाईरहेका हुँदैनन् । तर नेपाल आईडल एउटा त्यस्तो मञ्च बनेको छ । जसले मुलुकभरीका गाएन प्रतिभालाई प्रस्फुटन गर्न सहयोग गरेको छ ।

२० असोज, २०७५ । ६ः३० बजे प्रकाशित ।

VIEWS: 8725 पटक हेरीएको
error: Content is protected !!