दोलखाका पुराना तिन साँसदको कथाः पार्टीले बिर्सियो, उमेर ढल्कियो

2 weeks ago/Monday, January 13th, 2020

सिर्जना खड्का ।

दोलखा, २८ पौष ।

राजनीतिक होस् या सामाजिक आन्दोलन । यी दुई आन्दोलनका अभियान्ताहरु अभियानका क्रममा उदाउने र पछि बिस्तारै ओझेलमा पर्दैै जाने गर्दछन् । नेपाल कम्युनिष्ट दोलखाका तिन पुराना नेता, तिनै जना साँसदसम्म भईसके पनि अहिलेको राजनीतिमा भूमिकाविहिन छन् । उनीहरुलाई न पार्टीले सम्झिएको छ, न ति नेताले पार्टीमा अभिभावकत्वको भूमिका निर्वाह गर्न सकेका छन् । नेपाल कम्युनिष्ट पार्टी दोलखाको नेतृत्व यतिखेर तेश्रो पुस्ताका नेताहरुले गरिरहदा तत्कालिन कम्युनिष्टका पुराना नेताहरु भने ‘रिटायर्ड’ जीवन बिताईरहेका छन् ।

पूर्व तिन साँसद भूमिका विहिन

दोलखाको कम्युनिष्ट आन्दोलनका प्रमुख अगुवा भनेर चिनिने पूर्व साँसद जितविर लामा र नेकपावाटै साँसद भईसकेका दुई नेता इन्द्रवहादुर खड्का र वाङ्छे शेर्पा यतिखेर राजनीतिमा निश्क्रिय देखिएका छन् । बिभिन्न टुटुफुट, बिभाजन र एकताको उकाली ओराली व्यहोर्दै नेपालका दुई ठूला कम्युनिष्ट पार्टी तत्कालिन नेकपा एमाले र नेकपा माओवादी वीच पार्टी एकता भएर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बनेपनि दोलखाको राजनीतिमा लामो इतिहास बोकेका यी तिन नेताहरु भने गुमनाम जस्तै भएका हुन् । उनीहरुलाई न पार्टीले सम्झिएको छ, न उनीहरुले पार्टीलाई अभिभावकत्व दिन सकेका छन् । दोलखा कम्युनिष्ट आन्दोलनको इतिहासमा जितविर, इन्द्रवहादुर र वाङ्छेको योगदान सुनौलो अक्षरले लेखिए पनि राजनीतिक परिवर्तन र परिवर्तित अवस्थाले उनीहरुलाई यतिखेर भूमिका विहिन बनाई दिएको छ ।

ढल्किदो उमेरमा कम्युनिष्टको समिक्षा

बहुदलीय प्रजातन्त्रको पुर्नवहाली पछि २०४८ सालमा भएको सँसदीय निर्वाचनमा तत्कालिन एमालेवाट प्रतिनिधि सभा सदस्य अर्थात साँसद पदमा बिजयी भएका जितविर लामा र इन्द्रवहादुर खड्कादेखि २०५१ सालमा भएको मध्यावधि निर्वाचनमा एमालेवाटै साँसद पदमा निर्वाचित वाङ्छे शेर्पाको जिन्दगीको यात्रा अहिले ७० को दशकमा प्रवेश गरिसकेको छ । ७३ बर्षिय इन्द्रवहादुर र समान ७१ बर्ष उमेर पुगेका जितविर र वाङछे शेर्पा नेपाली राजनीतिमा निश्क्रिय जस्तो देखिए पनि उनीहरुले अहिलेको कम्युनिष्ट आन्दोलनलाई नजिकवाट समिक्षा गरिरहेका छन् । कम्युनिष्ट नीति, अनुशासन र इमान्दारिता मर्दै गएकोमा उनीहरुलाई चिन्ता छ ।

जितविर लामाः पुराना कम्युनिष्ट नेता, अहिले गुमनाम

कम्युनिष्ट नेता पुष्पलाल श्रेष्ठको समूहवाट प्रभावित बनेका जितविर लामाले २०२३ सालको विद्यार्थी आन्दोलनबाट राजनिति सुरु गरेका थिए भने २०२८ सालमा नेकपा मालेको को–अर्डिनेशन कमिटीको सदस्य बनेका थिए । २०३५ सालमा नेकपा माले गठन भएपछि दोलखाको सँस्थापक नेता भएका लामा २०३५/३६ सालतिर दोलखाको गाउँ गाउँमा पुगेर कार्यकर्ता उत्पादन गर्दै कम्युनिष्ट आन्दोलनलाई अघि बढाउने गर्दथे । शिक्षण पेशाकै वीच कम्युनिष्ट राजनीतिलाई अघि बढाएका नेता लामाका अनुसार २०३९ सालमा दोलखा जिल्लामा नेकपा मालेको सम्पर्क मञ्च स्थापना गरिए पछि देशभर सम्पर्क मञ्च निर्माण भएको थियो । उनका अनुसार दोलखा एकता केन्द्रलाई दोलखा सम्पर्क मञ्चमा बदलिएको थियो ।

२०४६ सालको जनआन्दोलनमा शसक्त भूमिका निर्वाह गरेका नेता जितविर लामा २०४३ सालको जनपक्षीय चुनावमा साँसद पदमा झिनो मतान्तरले पराजित भएपनि २०४८ सालको निर्वाचनमा साँसद पदमा निर्वाचित भएका थिए । कम्युनिष्ट आन्दोलनलाई अघि बढाउन अखिल नेपाल किसान सँघ, नेपाल तामाङ घेदुङ सँघ, जनजाति महासँघको स्थापना गरेको उनको भनाई छ । कम्युनिष्ट आन्दोलनमा थुप्रै नेताहरु जेल पर्दा पनि आफू बाहिर बसेर आन्दोलनलाई अघि बढाएको लामाको दावी छ । दोलखाको लादुक स्थायी घर भएका नेता जितविर लामा शान्ति प्रक्रिया पछि तत्कालिन नेकपा माओवादीको पोलिट् व्यूरो सदस्य भएका लामालाई अहिले नेकपाले ठोस कुनै जिम्मेवारी दिएको छैन । देशको लागि योगदान गरिए पनि कम्युनिष्ट पार्टीले त्यसलाई थप उचाईमा पु¥याउन नसकेको उनको भनाई छ ।

शिक्षण पेशामा फर्किएका इन्द्रवहादुुर रेडियोवाट जागरण छर्दै

२०३५ सालदेखि राजनीतिक यात्रा सुरु गरेका अर्का कम्युनिष्ट नेता इन्द्रबहादुर खड्का दोलखाको जिरी नगरपालिकाका स्थायी वासिन्दा हुन् । कम्युनिष्ट पार्टीका संस्थापक नेता खड्काले दोलखामा कम्युनिष्ट पार्टीको आन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । वामपन्थी आन्दोलनमा सक्रिय नेता खड्का २०४८ सालमा तत्कालिन नेकपा एमालेवाट साँसद पदमा निर्वाचित भएका थिए । सरकार सँचालनको विधि र प्रक्रिया, जनताको सरोकार र सँसदमा भएका गैर राजनीतिक क्रियाकलापको बिरोध जनाउँदै साँसद खड्काले कार्यकालको उत्तरार्धमा तत्कालिन नेकपा एमालेको सँसदीय दलमा राजिनामा दिएका थिए । संसदीय दलमा राजिनामा गरेर फर्किए लगत्तै उनी शिक्षण पेशामै सक्रिय भए ।

नेकपा एमाले दोलखाको सल्लाहकार समेत भईसकेका पूर्व साँसद खड्का अहिले पनि शिक्षण पेशामै सक्रिय छन् । खड्का अहिले पनि जिरी क्याम्पस, जिरी प्राविधिक शिक्षालय लगायतमा अध्यापन गराईरहेका छन् । २०६० सालबाट राजनीतिमा निश्क्रििय रहेका खड्का आफु राजनीतिमा निश्क्रिय भए पनि बामपन्थी आन्दोलनमा क्रियाशिल भूमिका निर्वाह गरेको बताउँछन् । जिरीमा जिरी सामुदायिक एफएम र चरिकोट स्थित हाम्रो रेडियोको स्थापना पछि पूर्व साँसद खड्काले ‘जिन्दगीको यात्रा’ नामक दैनिक रेडियो कार्यक्रम चलाएर सोही मार्फत आफुले राजनीतिक र सामाजिक अभियानका क्रममा भोगेका र जानेका कुरा तथा नैतिक शिक्षा मार्फत समाजमा जागरण दिदै आएका छन् । पूर्व साँसद खड्का पनि अहिले नेकपाको खास कुनै ठोस जिम्मेवारीमा छैनन् ।

सँधै शक्तिमा बसेका वाङ्छे अहिले निश्क्रिय

दोलखाको जिरी नगरपालिका अन्तर्गत स्यामा स्थायी घर भएका वाङ्छे शेर्पा दोलखाको कम्युनिष्ट आन्दोलनका अर्का प्रभावशाली नेता हुन् । २०५१ सालको मध्यावधि निर्वाचनमा दोलखा जिल्ला क्षेत्र नम्बर २ मा एमालेवाट प्रतिनिधि सभाको संसद सदस्यमा निर्वाचित भएका शेर्पा अहिले सारीरिक समस्याका कारण आराम गरिरहेका छन् । घुँडा दुख्ने, ढाड दुख्ने लगायतका समस्याका कारण ७१ बर्षिय नेता शेर्पाको दैनिकी पहिले जस्तो चलायममान हुन सकेको छैन । २०३१ सालबाट राजनीति प्रबेश गरेका कम्युनिष्ट नेता वाङछे शेर्पा २०३६ सालमा पार्टीमा संगठित भएका थिए । २०४३ सालमा प्रजातान्त्रिक राष्ट्रिय एकता मञ्चको सदस्य रहेका नेता शेर्पाले २०४६ सालसम्म सो जिम्मेवारी बहन गरिरहे । २०३९ साल जेठ अर्थात पञ्चायत कालमा स्यामा गाविसको जनपक्षीय प्रधानपञ्चमा निर्वाचित भएका शेर्पा २०४४ सालमा दोलखाको जनपक्षीय उपसभापतिमा निर्वाचित भएका थिए । पञ्चायत कालमा जनपक्षीय उम्मेदवार भएर चुनाव जित्नु निकै ठूलो बिषय थियो । २०४६ सालको जनआन्दोलनमा कम्युनिष्ट पार्टीको बागमति अञ्चल संघर्ष समितिको सदस्य बनेका वाङ्छे शेर्पा उपसभापति पदबाट राजिनामा दिई जनआन्दोलनमा सहभागि भएका थिए ।

२०५१ सालमा तत्कालिन नेकपा एमालेको राष्ट्रिय परिषद् सदस्यमा मनोनित भएका शेर्पा एमाले विभाजित भएर नेकपा माले भएपछि मालेवाट सक्रिय राजनीति गरेका थिए । कम्युनिष्ट आन्दोलनमा लामो योगदान गर्दै अवसर समेत पाएका शेर्पालाई अहिलेको कम्युनिष्ट आन्दोलन भने जसरी अघि बढ्न नसकेकोमा चिन्ता छ । कम्युनिष्ट पार्टीको सरकार भएर जनताले सुख र अधिकार पाउनुको साटो देशमा नीतिगत र सँस्थागत भ्रष्टाचार बढेको, नेताहरुको हालिमुहालि भएको र बहुसंख्यक जनता अझै पिडित भएको नेता शेर्पाको बिश्लेषण छ ।

दोलखाको कम्युनिष्ट आन्दोलनमा लामो योगदान गरेका तथा पूर्व साँसदको हैसियतमा रहेका यी तिन नेताहरु जितविर लामा, इन्द्रवहादुर खड्का र वाङछे शेर्पालाई अहिलेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले कसरी सम्मान र सम्झना गर्ने हो ? हेर्न बाँकी नैं छ ।

२८ पौष २०७६ । ११ः५० बजे प्रकाशित

VIEWS: 14255 पटक हेरीएको
error: Content is protected !!