दोलखा प्रवेश गर्ने मुख्य नाकामा आकर्षक प्रवेशद्धार सहितका पूर्वाधार बन्दै

1 week ago/Saturday, September 7th, 2019

दुर्गा बस्नेत ।

दोलखा, २१ भदौ ।

दोलखाको भीमेश्वर नगरपालिकाले दोलखा र सिन्धुपाल्चोकको सिमा क्षेत्रमा आकर्षक प्रवेशद्धार सहित पर्यटन सुचना केन्द्र निर्माण गर्ने भएको छ ।

भीमेश्वर नगरपालिकाले दोलखा भित्रने क्रममा वडा नम्बर ९ को धोद्रेडाँडामा आकर्षक प्रवेशद्धार निर्माण गरीरहेको छ भने पर्यटन सुचना केन्द्र सहितका अन्य पुर्वाधारहरु चालु वर्षबाट निर्माण सुरु गरीने भएको हो । दोलखामा पर्यटकहरुलाई आकर्षित गर्ने र जिल्लाको पर्यटकीय स्थलहरुको सूचना केन्द्रको रुपमा विकास गर्ने उद्धेश्यका साथ काम सुरु गरीएको नगरपालिकाले जनाएको छ । २०७५ साल असार १८ गतेबाट निर्माण सुरु भएको प्रवेशद्धार करिव १४ महिनाको अवधिमा हालसम्म ८० प्रतिशत सम्पन्न भएको भीमेश्वर नगरपालिकाका इन्जिनियर रामजी थापाले जानकारी दिनुभयो । सडकको दुरावस्था र माथिल्लो तामाकोसीको हेभि इक्युपमेन्ट सोही प्रवेशद्धार हुँदै आउनुपर्ने भएकाले विचमा केही समय काम रोकिएपछि निर्धारित समयमा निर्माण कार्य नसकिएको भीमेश्वर नगरपालिकाका नगर प्रमुख भरत केसीले जानकारी दिनुभयो । प्रवेशद्धारमा ढुंगाको आकर्षक छाना र पिलमा समेत ढुंगा टासिएको छ । संस्कृति झल्कनेगरी निर्माण सुरु गरीएको प्रवेशद्धारको पीलरमा ढुंगा कुँद्ने काम बाँकी रहेको नगरपालिकाले जनाएको छ ।

पर्यटकलाई आकर्षण गर्न प्रवेशद्धारसँगै अन्य कुन–कुन संरचना निर्माण हुन्छ त ?

नगरपालिकाले पर्यटकलाई दोलखाको दृश्यावलोकन गराउने र पर्यटन सम्वन्धी सुचना दिने गरी विभिन्न संरचना निर्माणको कामलाई प्राथमिकता दिएको छ । नगरपालिकाका अनुसार प्रवेशद्धारमा सवारी साधन र मानिसहरु आवतजावतका लागि छुट्टा÷छुट्टै बाटो निर्माण गरीएको छ । प्रवेशद्धारसँगै सार्वजनिक शौचालय, डिस्प्ले बोर्ड, सुचना केन्द्र, कोसेलीघर, खाजाघर, पार्किङस्थल, बगैँचा र प्रवेशद्धार भन्दा करिव सय मिटर माथि भ्युटावर समेत बनाउने नगरपालिकाको योजना रहेको छ ।

आफ्नै लगानीमा निर्माण सुरु गरीएको प्रवेशद्धारका लागि बजेट अभाव

प्रवेशद्धार भन्दा करिव सय मिटर माथि अग्लो स्थान रहेको ठाउँमा सानो भ्यु टावर निर्माण गर्ने नगरपालिकाको योजना छ । यद्यपी बजेटको अभावका कारण लक्ष्य अनुसारको पुर्वाधार निर्माण सुरु गर्न नसकिएको नगर प्रमुख केसीले बताउनुभयो । प्रवेशद्धार निर्माणका लागि नगरपालिकाले गत आर्थिक वर्ष २७ लाख ४४ हजार १ सय ८० रुपैँयाको लागत स्टमेट तयार पारेकोमा लाकुरीडाँडाको जेएस कन्ट्रक्सन र नगरपालिकाविच २४ लाख ३२ हजार ६ सय ३९ रुपैँयामा निर्माण सम्पन्न गर्ने सम्झौता भएको थियो । २०७५ साल असार २० गते सम्झौता गरेको जेएस कन्सट्रक्सले २०७६ साल असार २१ गते सम्झौता अनुसारको काम सम्पन्न गरी भुक्तानी समेत पाइसकेको छ ।

यद्धपी प्रवेशद्धारको काम अझै २० प्रतिशत बाँकी नै छ । नगरपालिकाले चालु आर्थिक वर्ष प्रवेशद्धारसँगै अन्य पुर्वाधार निर्माणका लागि ५० लाख बजेट विनियोजन गरेको छ । सो बजेट खर्च गर्न तत्काल टेन्डर आह्वान गरेर प्रक्रिया अघि बढाइने नगरपालिकाले जनाएको छ । आफ्नै लगानीमा निर्माण सुरु गरीएको प्रवेशद्धारका लागि चालु वर्ष छुट्याइएको बजेट अपुग हुने भएकाले प्रदेश सरकारसँग पनि सो विषयमा छलफल भइरहेको नगरप्रमख केसीले जानकारी दिनुभयो । जिल्ला प्रवेशको मुख्य नाकामा प्रवेशद्धारसँगै वरपरका पुर्वाधार निर्माण सम्पन्न भएपछि दोलखा भ्रमणमा आउने पर्यटकहरुका लागि धोद्रेडाँडा पनि आकर्षक गन्तव्य बन्ने भएको छ ।

२१ भदौ २०७६ । १०ः३० बजे प्रकाशित ।

VIEWS: 2560 पटक हेरीएको
error: Content is protected !!