दोलखाका सहकारीमा दोहोरो सदस्यता कायमै, ‘एक व्यक्ति एक सहकारी’ कार्यान्वयनमा चुनौती

2 weeks ago/Saturday, November 30th, 2019

लक्ष्मी बस्नेत ।

दोलखा, १४ मंसिर ।

एक व्यक्ति समान उद्देश्य भएका एकमात्र सहकारीको सदस्य बन्नुपर्ने व्यवस्था भएपनि दोलखामा कुल जनसंख्या भन्दा सहकारी संस्थाको सदस्य संख्या दोव्वर भन्दा बढि रहेको पाईएको छ ।

सरकारले २०७४ सालमै ऐन जारी गर्दै ‘एक व्यक्ति एक सहकारी’ को अवधारणा ल्याएपनि सो व्यवस्था अझै कार्यान्वयन हुन नसकेको हो । सहकारी ऐन, २०७४ को दफा ३२ को उपदफा १ मा कुनै व्यक्ति एक स्थानीय तहको एकै प्रकृतिका एक भन्दा बढि संस्थाको सदस्य हुन नपाउने र ऐन प्रारम्भ हनुअघि त्यसरी एक भन्दा बढि संस्थाको सदस्य रहेको भए तीन वर्षभित्र अर्थात २०७७ सालको असोज मसान्तभित्र कुनै एक संस्थाको मात्र सदस्य कायम राख्नुपर्ने व्यवस्था छ । तर, दोलखाका सहकारीहरुमा धमाधम सदस्य संख्या थपिने क्रम बढ्दो छ ।
२०७४ सालको कात्तिक १ गतेदेखि जारी भएको ऐन अनुसार नै एक व्यक्ति एउटा मात्रै सहकारीको सदस्य हुनुपर्ने भएपनि अहिले पनि एकै व्यक्ति धेरै वटा सहकारीमा सदस्य रहेको पाईएको छ । जिल्ला सहकारी संघ दोलखाको तथ्यांक अनुसार जिल्लामा सहकारीको कुल सदस्य संख्या २ लाख २० हजार भन्दा बढि रहेको छ । जवकी दोलखाको कुल जनसंख्या १ लाख ८७ हजार ५ सय ५६ मात्रै रहेको छ । यद्धपी यो तथ्यांक २०६८ सालको जनगणनाको तथ्यांक अनुसार हो । एउटै व्यक्ति धेरै सहकारीमा सदस्य बन्ने क्रम अझै जारी रहेकाले सो ऐनमा रहेको व्यवस्था कार्यान्वयन हुनेमा समस्या देखिएको छ ।

कसरी कार्यान्वयन गराउँछ नेफ्स्कुनले ?

भूमी व्यवस्था, सहकारी तथा गरिवि निवारण मन्त्रालयले पनि दोहोरो सदस्यता लिएका सहकारी संस्थाका सदस्यहरुलाई सुचना जारी गरि आगामी वर्षको असोज मसान्तभित्र एउटा मात्रै सहकारीको सदस्य कायम राखी अन्य सहकारी संस्थाहरुको सदस्यता अन्त्य गर्न अनुरोध गरेको छ । विशेषगरि सहकारीका सदस्यहरुले नै नयाँ कानूनी व्यवस्था नबुझेका कारण पनि यो व्यवस्था कार्यान्वयनमा चुनौती थपिने देखिन्छ । यद्धपी, नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी सँघका अध्यक्ष डिबी बस्नेतले सहकारीहरुले सदस्य बनाउनै नपाईने नभई दोहोरो सदस्य राख्न नपाईने भएकाले यो व्यवस्था विस्तारै कार्यान्वयन हुँदै जाने बताउनुभयो । सँघले पनि ऐनमा भएको व्यवस्था कार्यान्वयनका लागि सहकारी संस्थाहरुलाई आग्रह गर्दै आएको भन्दै उहाँले एकैपटक कार्यान्वयनमा जान भने सहज नभएको प्रतिक्रिया दिनुभयो ।

दोलखाका सहकारीहरुको के छ योजना ?

ऐन कार्यान्वयनका लागि बैतेश्वर गाउँपालिकास्थित जनसचेतन साकोसले सदस्यहरुलाई नै सो घोषणा गर्न लगाउने तयारी गरेको छ । सरकारले ल्याएको ऐन सकारात्मक भएपनि सहकारी संस्थाहरुलाई भने कार्यान्वयन गराउन अप्ठ्यारो रहेको जनसचेतन साकोसका अध्यक्ष भीमप्रसाद दाहालले बताउनुभयो । जनसचेतन साकोसमा हाल २८ हजार सदस्य रहेको र ती सदस्यहरु अन्य सहकारीमा पनि आवद्ध भएको भन्दै उहाँले जनसचेतन साकोसले निकट भविष्यमै सदस्यहरुलाई स्वघोषणा गर्न लगाउने प्रतिक्रिया दिनुभयो ।

दोलखा सदरमुकाम चरिकोटस्थित मिलीजुली कालिन्चोक बचत तथा ऋण सहकारी संस्था भने ऐन कार्यान्वयनमा प्रतिवद्ध रहेको अध्यक्ष नारायण बहादुर श्रेष्ठले जानकारी दिनुभयो । सहकारीले यही पटकको सञ्चालक समिति चयनकै क्रममा सोही व्यवस्थामा आधारित रहेर कार्यक्रम गरेको र शेयर सदस्यहरुलाई समेत सो व्यवस्थाको बारेमा जानकारी गराईएको उहाँले बताउनुभयो । दोलखामा हाल ५ सय २६ वटा सहकारी संस्था रहेका छन् । ती सहकारीहरुले ९ अर्व भन्दा माथिको पूँजी परिचालन गरिरहेका छन् ।

१४ असोज, २०७६ । ३ः ४५ बजे प्रकाशित ।

VIEWS: 2525 पटक हेरीएको
error: Content is protected !!