दोलखाका सहकारीले उत्कृष्टता हाँसिल गर्दै

8 months ago/Tuesday, January 1st, 2019

लक्ष्मी बस्नेत ।

दोलखा, १७ पौष ।

दोलखाका सहकारीहरुले राष्ट्रिय स्तरमै उत्कृष्टता हाँसिल गर्न थालेका छन् ।

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सँघ (नेफ्स्कुन) ले गर्ने मुल्यांकनमा जिल्लाका एकपछि अर्काे सहकारीहरुले उत्कृष्टता हाँसिल गर्न थालेका हुन् । हालसम्म जिल्लाका ३ वटा सहकारी राष्ट्रिय स्तरमै उत्कृष्ट बनिसकेका छन् । सोही क्रममा पछिल्लो पटक दोलखा सदरमुकाम चरिकोटस्थित हाम्रो जनकल्याण साकोस देशभरीकै सर्वाेत्कृष्ट सहकारी घोषित भएको छ । नेफ्स्कुनको यही पौष ५ र ६ गते सम्पन्न २७ औँ साधारणसभामा हाम्रो जनकल्याण साकोसलाई सर्वाेत्कृष्ट सहकारीको रुपमा प्रशंसापत्रसहित सम्मान गरिएको हो । जनकल्याण साकोसले गत वर्षदेखि एसियाली स्तरको एक्सेस व्राण्ड अन्र्तगत ब्रोञ्ज पनि प्राप्त गरेको छ ।

एक पछि अर्काे सहकारी उत्कृष्ट

यसअघि ४ वर्ष पहिले चरिकोटकै मिलिजुली बचत तथा ऋण सहकारी संस्थाले पनि नेफ्स्कुनबाट उत्कृष्ट सहकारीको सम्मान पाएको थियो । मिलिजुली साकोसले २०७१ सालमा नेफ्स्कुनबाट उत्कृष्ट सहकारीको सम्मान पाएको संस्थाका प्रमुख कार्यकारी अधिकृत ईश्वर न्यौपानेले जानकारी दिनुभयो । यो सहकारीले गत वर्ष एक्सेस ब्रोन्ज र यही वर्ष सिल्भर व्राण्ड पनि पाईसकेको छ ।

जनसचेतन उत्कृष्ट हुने जिल्लाकै पहिलो सहकारी

तर, नेफ्स्कुनबाट उत्कृष्ट सहकारीको सम्मान पाउने जिल्लाकै पहिलो सहकारी भने वैतेश्वर गाउँपालिका ४ मैनापोखरीस्थित जनसचेतन बचत तथा ऋण सहकारी संस्था हो । जनसचेतन साकोसले २०६६ सालमै राष्ट्रिय स्तरको उत्कृष्टता प्राप्त गरेको संस्थाका कार्यकारी अधिकृत नवराज दाहालले जानकारी दिनुभयो । हाल गोल्ड व्राण्डको दावेदार रहेको जनसचेतन साकोसले २०६९ मा ब्रोञ्ज र २०७३ सालमा सिल्भर व्राण्ड पाएको थियो ।

सहकारी सञ्चालनको अवस्था, शेयर पूँजी, बचत, उद्देश्य अनुसारको काम भए/नभएको हेरेर मुल्यांकन गरि उत्कृष्ट सहकारी छनौट गरिने नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सँघ (नेफ्स्कुन) का अध्यक्ष डिवि बस्नेतले जानकारी दिनुभयो ।

अन्य विद्यामा पनि दोलखाका उत्कृष्ट

दोलखाका अन्य सहकारीहरुले पनि विभिन्न विद्यामा उत्कृष्टता हाँसिल गरिरहेका छन् । मैनापोखरीस्थित जनमुखी बचत तथा ऋण सहकारी संस्थाले पनि हालै उत्कृष्ट सफ्टवेयर प्रयोगकर्ताको रुपमा राष्ट्रियस्तरको सम्मान पाएको छ । सहकारीले नेफ्स्कुनको हालैको साधारणसभाबाट उत्कृष्ट सफ्टवेयर प्रयोगकर्ता सहकारीको रुपमा सम्मान पाएको संस्थाका व्यवस्थापक भेषबहादुर मिजारले जानकारी दिनुभयो । यसअघि जिल्लाको पर्यटकीय नगरी जिरीस्थित एकिकृत फ्रेण्डसिपले पनि सहकारी एकिकरण सम्बन्धि उत्कृष्ट कार्य गरेको भन्दै सम्मान पाएको थियो । जिरी नगरपालिका भित्रका ११ वटा सहकारी सँस्था एकिकृत भएर एकिकृत फ्रेण्डशिप साकोस बनेको थियो ।

१७ पौष, २०७५ । २ः ०० प्रकाशित ।

VIEWS: 2610 पटक हेरीएको
error: Content is protected !!