दोलखाका सहकारी अन्तराष्ट्रिय मापदण्डमा, २ संस्थालाई सिल्भर व्राण्ड

12 months ago/Tuesday, September 4th, 2018

लक्ष्मी बस्नेत ।

दोलखा, १९ भाद्र ।

दोलखाका सहकारीहरु अन्तराष्ट्रिय मापदण्डमा सुचिकृत हुन थालेका छन् ।

नेपालका कुल २० सहकारीले एसियाली ऋण महासँघ (अक्कु) ले प्रदान गर्ने एक्सेस व्राण्ड पाएकोमा दोलखाका मात्रै ३ वटा सहकारीले ब्राण्ड प्राप्त गरेका छन् । दोलखाको मैनापोखरीस्थित जनसचेतन बचत तथा ऋण सहकारी संस्थाले ब्रोन्ज र सिल्भर व्राण्ड प्राप्त गरिसकेको छ भने सदरमुकाम चरिकोटस्थित मिलिजुली साकोस सिल्भर ब्राण्डका लागि घोषणा भएको छ । २०७४ साल भदौमा एक्सेस ब्रोन्ज पाएको मिलिजुली साकोस सिल्भर ब्राण्डका लागि आधिकारिक रुपमा घोषणा भएपनि ब्राण्ड भने आगामी सेप्टेम्वर १४ मा फिलिपिन्सको मनिलामा हुने अक्कुको साधारणसभाको अवसरमा प्रदान गरिनेछ । सदरमुकाम चरिकोटमै रहेको हाम्रो जनकल्याण साकोसले पनि गत वर्ष मात्रै ब्रोन्ज व्राण्ड प्राप्त गरेको छ ।

गोल्ड दावि गर्दै जनसचेतन

जनसचेतन साकोस नेपालबाट सिल्भर ब्राण्ड पाउने पहिलो चार सहकारी मध्य एक हो भने जिल्लाकै पहिलो सहकारी भएको जिल्ला सहकारी सँघका अध्यक्ष समेत रहेका जनसचेतन साकोसका उपाध्यक्ष हेमन्त चौँलागाँईले जानकारी दिनुभयो । २०६९ सालमा ब्रोन्ज र २०७३ मा सिल्भर व्राण्ड प्राप्त गरेको जनसचेतन साकोसले हाल गोल्ड ब्राण्डका लागि दावि गरिरहेको छ । जनसचेतन साकोस गोल्ड व्राण्डका लागि सुचकहरु पुरा गर्ने क्रममा रहेको सहकारीका अध्यक्ष भीम दाहालले जानकारी दिनुभयो । गोल्ड प्राप्त गर्नका लागि १० प्रतिशत भन्दा बढि पूँजी र त्यसको ३ सय ४४ अंक मध्य २ सय ७५ भन्दा माथि हुनुपर्नेमा जनसचेतन साकोसले संस्थागत पूँजी १० दशमलव ३४ प्रतिशत र २ सय ८२ अंक प्राप्त गरिसकेको उहाँले बताउनुभयो ।

५ वटा सहकारी प्रोवेशनमा

दोलखाबाट ३ वटा सहकारीले एसियाली स्तरको एक्सेस व्राण्ड कार्यक्रममा सहभागिता जनाई ब्राण्ड पाईसकेका छन् भने अन्य ५ वटा सहकारी पुर्ण तथा व्यवसायिक साकोस कार्यक्रम (प्रोवेशन) लिने तयारीमा छन् । जिल्लाको जिरीस्थित एकिकृत फ्रेण्डसिप बचत तथा ऋण सहकारी संस्था जिरी, जनमुखी साकोस काव्रे, जनजागरण साकोस मिर्गे, जनउपकार साकोस जुँगु र शिक्षक कल्याण बचत तथा ऋण सहकारी संस्था चरिकोट प्रोवेशन कार्यक्रममा सहभागि भएका हुन् । प्रोवेशन नेपाल भित्र भएका बचत तथा ऋण सहकारी संस्थाहरुको ब्राण्ड कायम गर्नका लागि नेपाल सरकार सहकारी मन्त्रालय अन्र्तगत सहकारी विभाग र नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सँघ लिमिटेड (नेफ्स्कुनको) संयुक्त कार्यक्रम हो । मुलुकका डेढ सय भन्दा बढि सहकारी यो कार्यक्रममा आवद्ध भएकोमा १४ वटा सहकारीले प्रोवेशन प्राप्त गरिसकेका छन् ।

दक्षिण एसियाका २३ सहकारीलाई व्राण्ड, नेपालका मात्रै २०

एसियाली स्तरको गुणस्तर चिन्ह एक्सेस ब्राण्डमा सहभागि सहकारीमध्ये दक्षिण एसियाबाट हालसम्म २३ वटा सहकारीले ब्राण्ड पाएका छन् । अक्कुको एक्सेस व्राण्डिङ कार्यक्रममा ईण्डोनेसिया फिलिपिन्स र नेपालका साकोसहरु सहभागि छन् । तर, सो कार्यक्रममा ठुलो संख्यामा सफलता प्राप्त गर्ने नेपाल पहिलो राष्ट्र बनेको छ । व्राण्ड पाउने मध्य २० वटा सहकारी नेपालका रहेका छन् भने २ वटा फिलिपिन्स र एउटा ईण्डोनेसियाको सहकारी रहेको छ । ब्राण्ड पाएका नेपालका २० सहकारीमध्य ५ वटाले सिल्भर र १५ वटाले व्रोन्ज ब्राण्ड प्राप्त गरेका छन् । सिल्भर ब्राण्ड पाउनेमा दोलखाका मात्रै दुई वटा बचत तथा ऋण सहकारी संस्था रहेका छन् भने काभ्रेपलाञ्चोकको विन्ध्याबासिनी र सामुदायिक साकोस तथा ललितपुरको कल्याणकारी साकोसले पनि सिल्भर ब्रान्ड पाईसकेका छन् ।

के हो, एक्सेस ब्राण्ड ?

बचत तथा ऋण सहकारी संस्थाहरुको गुणस्तर सुनिश्चितता मार्फत एसियाली स्तरको चिन्ह प्रदान गर्ने (एक्सेस व्राण्डिङ) कार्यक्रम एसियाली ऋण महासँघ (अक्कु) ले सञ्चालन गरेको कार्यक्रम हो । २०६५ सालदेखि अक्कुले विकास गरेको अवधारणा अनुरुप नेपालका सहकारीहरुलाई एशियाली स्तरको गुणस्तर सुनिश्चित गर्ने कार्यक्रममा हाल करिव ८० वटा सहकारीहरु आवद्ध भई गुणस्तर चिन्ह प्राप्तीका लागि प्रयासरत छन् । एक्सेस व्राण्ड भनेको एसियाली ऋण महासँघ मार्फत सहकारीहरुको क्वालिटि टेस्ट अर्थात ब्राण्डिङ गर्ने कार्यक्रम हो । एक्सेस व्राण्ड प्राप्त गरिसकेपछि सहकारी संस्थाहरुको स्टाण्डर कायम हुने, संस्था दुर्घटनामा नपर्ने तथा संस्थामा वित्तिय समस्या नहुने र सदस्यहरुमा विश्वासको वातावरण बन्ने नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सँघ लिमिटेड (नेफ्स्कुनका) अध्यक्ष डिवि बस्नेत बताउनुहुन्छ । एक्सेस व्राण्ड अन्र्तगत प्लाटिनियम, गोल्ड, सिल्भर र ब्रोन्ज गरि चार तहको व्राण्ड निर्धारण गरिएको छ ।

सहकारीहरुले कसरी पाउँछन ब्राण्ड ?

एसियाली ऋण महासँघले निर्धारण गरेका ८६ वटा मापदण्ड पुरा गरेपछि सहकारीहरुको व्राण्ड निर्धारण हुने गर्दछ । सहकारीहरुको भौतिक तथा वित्तिय अवस्था, सदस्यहरुलाई प्रदान गरिने सेवा सुविधा लगाएतका विभिन्न मापदण्डका आधारमा ब्राण्ड प्रदान गर्ने गरिन्छ । जस अनुसार सहकारीको संस्थागत पूँजी ५ प्रतिशत भन्दा बढि भएपछि व्रोन्ज, ८ प्रतिशत भन्दा बढि भएपछि सिल्भर र १० प्रतिशत भन्दा बढि भएपछि गोल्ड व्राण्ड प्रदान गरिने व्यवस्था छ । ब्राण्ड प्राप्त गर्नका लागि सहकारीको संस्थागत पूँजी र भाखा नाघेको ऋण प्रमुख आधार भएको सहकारी विज्ञ यज्ञराज ढुंगेलले जानकारी दिनुभयो । एक्सेस व्राण्ड प्राप्त गर्नका लागि सहकारीको पूँजी मात्र नभई भाखा नाघेको ऋण पनि ५ प्रतिशत भन्दा कम हुनुपर्नेछ ।

१९ भाद्र २०७५ । १ः ४५ बजे प्रकाशित ।

VIEWS: 10270 पटक हेरीएको
error: Content is protected !!