दोलखाका स्थानीय तहमा कोरोनाको पूर्व सतर्कताः नगरपालिकामा आईसोलेसन, गाउँपालिकामा तयारी मात्रै

1 week ago/Tuesday, March 24th, 2020

लक्ष्मी बस्नेत ।

दोलखा, ११ चैत्र ।

दोलखाका दुई स्थानीय सरकारले कोरोना भाईरस विरुद्धको पूर्व सतर्कता स्वरुप आईसोलेसन कक्ष निर्माण गरेका छन् ।
जिल्ला सदरमुकामस्थित भीमेश्वर नगरपालिका र जिरी नगरपालिकाले २२ वेड क्षमताको आईसोलेसन कक्ष निर्माण गरेका हुन् । भीमेश्वर नगरपालिकाको सहयोगमा जिल्ला सदरमुकाम चरिकोटस्थित महिला तथा बालबालिकाको कार्यालय, गौरीशंकर जनरल अस्पताल, दोलखा सामुदायिक अस्पताल र च्छोरोल्पा अस्पतालमा गरि २० वेड क्षमताको आईसोलेसन कक्ष निर्माण भएको हो । आईसोलेसन कक्ष निर्माणका लागि बेड सम्बन्धित अस्पतालको भएको र अन्य आवश्यक सामाग्री नगरपालिकाले सहयोग गरेको नगर प्रमुख भरत केसीले जानकारी दिनुभयो । नगरपालिकाले आईसोलेसन कक्ष निर्माणको अलवा कोरोना भाईरसको विषयमा जनचेतना फैलाउन घरदैलो अभियानका लागि प्रति वडा १०/१० हजारका दरले बजेट विनियोजन गरेको छ ।

जिरीमा दुई बेडको आईसोलेसन

जिरी नगरपालिकाले पनि जिरी अस्पतालमा दुई वेड क्षेमताको आईसोलेसन वार्ड निर्माण गरेको छ । जिरी नगरपालिकाले भेन्टिलेसन सहितको दुई वटा वेड र आवश्यक सामाग्री खरिद गरि जिरी अस्पतालमा आईसोलेसन कक्षको व्यवस्थापन गरेको हो । नगरपालिकाले स्वास्थ्यकर्मीहरुलाई अत्यावश्यक काम बाहेक बिदामा बस्न नदिने, नगरपालिकाभित्रका नागरिकलाई कोरोनाको लक्षण देखा परेमा निशुल्क एम्बुलेन्स मार्फत काठमाडौँ पठाउने व्यवस्था गर्ने निर्णय पनि गरेको नगरप्रमुख टंक जिरेलले जानकारी दिनुभयो । कोराना भाईरसको संक्रमण हुन नदिन भीमेस्वर र जिरी नगरपालिकाले आईसोलेसन कक्ष निर्माण गरे पनि त्यसका लागि हुनु पर्ने पर्याप्त प्राविधिक तयारी भने हुन सकेको छैन । जिरी नगरपालिकाका साथै जिरी अस्पतालले समेत सतर्कताका लागि पुर्व तयारी गरिरहेको छ । अस्पतालले जनचेतनामुल कार्यक्रमका साथै मास्क, स्यानेटाईजर लगाएतका अत्यावश्यक सामाग्री स्थानीय स्तरमा उत्पादन गर्ने तयारी गरेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर राकेश श्रेष्ठले जानकारी दिनुभयो ।

गौरीशंकरमा ६ बेडको आईसोलेसन

कोरोना भाईरसविरुद्ध जनचेतनामुलक कार्यक्रम गरिरहेको गौरीशंकर गाउँपालिकाले पनि गाउँपालिका केन्द्र नजिकै ६ वेडको आईसोलेसन कक्ष निर्माण गर्ने तयारी गरेको छ । आईसोलेसन कक्ष निर्माणका लागि वेड लगाएतका केही सामाग्री आईसकेकाले भोलीबाट निर्माण सुरु गरिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदिप खड्काले जानकारी दिनुभयो ।

तामाकोशीमा हेल्थ डेस्क, शैलुङमा दुई हजार मास्क

जिल्लाको तामाकोशी गाउँपालिकाले कोरोना भाईरसविरुद्ध सतर्कता अपनाउँदै आजदेखि गाउँपालिका कार्यालयमा ‘हेल्थ डेस्क’ स्थापना गरेको छ । ज्वरो नाप्ने मेसिन खरिद गरि गाउँपालिकामा आउने सेवाग्राहीहरुको स्वास्थ्य जाँचका लागि गाउँपालिका कार्यालयमै हेल्थ डेस्क स्थापना गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विज्ञान कोईरालाले जानकारी दिनुभयो ।

यसका अलवा गाउँपालिकाले अत्यावस्यक सेवा वन्द गरि सचेतनाका लागि विभिन्न जनचेतनामुलक कार्यक्रम गरिरहेको उहाँले बताउनुभयो । शैलुङ गाउँपालिकाले पनि कोरोना भाईरसलाई मध्यनजर गर्दै २ हजार थान माक्स खरिद गरेको छ । गाउँपालिकाले २ हजार थान माक्स खरिद गरि पालिकाभित्रका १२ वटै स्वास्थ्य संस्थालाई प्रदान गरेको र सामुदायिक स्वास्थ्य भवनमा ६ वेडको आईसोलेसन कक्ष निर्माणको तयारी गरेको गाउँपालिका अध्यक्ष भरत दुलालले जानकारी दिनुभयो । यद्धपी स्वास्थ्यकर्मीका लागि आवश्यक सुरक्षित कपडा लगाएतका सामाग्री र उपकरणको अभावमा प्रभावकारी काम गर्न समस्या भएको उहाँले बताउनुभयो ।

जिल्लाका बिगु, वैतेश्वर, कालिञ्चोक र मेलुङ गाउँपालिकाले भने सामान्य जनचेतनामुलक कार्यक्रम गरिरका छन् । वैतेश्वर गाउँपालिकाले गाउँपालिका र वडास्तरीय कोरोनाविरुद्धको स्थानीय समन्वय समिति निर्माण गरि चेतनामुलक कार्यक्रम गर्नुका साथै कोरोना भाईरस परामर्श डेस्क स्थापना गरेको र स्वास्थ्य केन्द्रका कर्मचारीलाई पुर्ण तयारीमा रहन आग्रह गरिएको गाउँपालिकाले जनाएको छ । मेलुङ गाउँपालिकाले पनि स्वास्थ्य संस्थाहरुलाई ‘हाई अलर्ट’ मा राखिएको र जनचेतना फैलाउने काम गरिरहेको गाउँपालिका अध्यक्ष नरबहादुर श्रेष्ठले जानकारी दिनुभयो । कालिञ्चोक गाउँपालिकाले पनि सामान्य जनचेतनामुलक कार्यक्रमहरु मात्रै गरेको छ । यसका अलवा सञ्चारमाध्यमबाट प्रचारप्रसारको काम गरिएको र स्वास्थ्य संस्थाहरुलाई औषधी लगाएतका अत्यावश्यक सामाग्री उपलव्ध गराईएको गाउँपालिका अध्यक्ष विनकुमार थामीले बताउनुभयो ।

यद्धपी दोलखाका अधिकाँश स्थानीय तहहरुले कोरोना भाईरसविरुद्ध सतर्कताका लागि पर्याप्त पुर्व तयारी भने गरेको देखिएको छैन । स्थानीय सरकारका प्रमुख/उपप्रमुखहरुले सामाजिक सञ्जाल मार्फत पूुर्व तयारी गरेको दावि गरिरहेपनि कारोना भाईरसविरुद्ध ठोस योजना भने बन्न सकेको छैन ।

आवरण तस्विरः जिरी अस्पतालमा निर्माण गरिएको आईसोलेसन कक्ष

११ चैत्र २०७६ । २ः२५ बजे प्रकाशित

VIEWS: 2150 पटक हेरीएको
error: Content is protected !!