दोलखाका स्थानीय सरकार संक्रमित मुलुकवाट फर्किएकाहरुको विवरण सँकलन गर्दै

1 week ago/Thursday, March 26th, 2020

दोलखा, १३ चैत्र ।

सँक्रमित मुलुकवाट आएकाहरुवाट कोरानो सँक्रमणको खतरा हुन सक्ने समाचार सार्वजनिक भएपछि दोलखाका स्थानीय सरकारले विदेशवाट फर्किएकाहरुको विवरण सँकलन गर्न सुरु गरेका छन् ।

दोलखाका स्थानीय सरकारले वडा तहसम्मको सूचना र जानकारी लिने गरी विदेशवाट आएकाहरुको विववरण सँकलन गर्न थालेका हुन् । कोरोना संक्रमित मुलुकवाट फर्किएकाहरु सदरमुकाम चरिकोट र अन्य सानाठूला बजार तथा गाउँघरमा रहेपनि स्थानीय सरकार र प्रशासन वेखवर रहेको समाचार सार्वजनिक भएपछि जिल्ला प्रशासन कार्यालय दोलखाले विदेशवाट गाउँघरमा भित्रिएकाहरुको विवरण र अवस्थाका बारेमा जानकारी लिई सहयोग गर्न स्थानीय सरकारहरुलाई आग्रह गरेको थियो । हाम्रो रेडियो र ईदोलखा अनलाइनमा समाचार सार्वजनिक भए लगत्तै दोलखाका प्रमुख जिल्ला अधिकारी भिमकान्त शर्माले स्थानीय सरकारका प्रमुखहरुलाई टेलिफोन गरेर यस्तो आग्रह गर्नुभएको थियो ।

शैलुङ गाउँपालिकामा वडातहसम्म खोजिदै

दोलखाका स्थानीय सरकार मध्ये जिरी नगरपालिका तथा तामाकोशी, शैलुङ, मेलुङ र बैतेस्वर गाउँपालिकाले विदेशवाट फर्किएकाहरुको विवरण सँकलन गरिरहेका छन् । भीमेस्वर नगरपालिका, गौरीशंकर गाउँपालिका, कालिन्चोक गाउँपालिका र बिगु गाउँपालिका भने विवरण सँकलनको काम सुरु हुन बाँकी छ । कोरोना सँक्रमति मुलुक भारतवाट दोलखा प्रवेश गर्नेहरुमा ठूलो सँख्या उत्तरी क्षेत्रको रहे पनि कालिन्चोक, बिगु र गौरीशंकरमा त्यस्ता व्यक्तिहरुको विवरण सँकलन हुन सकिरहेको छैन । शैलुङ गाउँपालिकाका अध्यक्ष भरत दुलालका अनुसार सो गाउँपालिकामा बैदेशिक रोजगारीवाट फर्किएकाहरुको सँख्या प्रत्येक वडामा दुई देखि तिन जनासम्म रहेको पाईएको छ । उनीहरुको स्वास्थ्य अवस्था समान्य भएका कारण घरभित्रै ‘सेल्फ क्वारेन्टाईन’ मा बस्न आग्रह गरिएको थप व्यक्तिहरुका बारेमा जानकारी लिने काम भईरहेको उहाँले बताउनुभयो ।

पवटीमा संक्रमित मुलुकवाट फर्किएका दुई जना फेला

मेलुङ गाउँपालिकाको वडा नम्बर १ पवटीमा जापान र दुवईवाट आएका दुई जना मानिस फेला परेको र उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ । गाउँपालिकाका अध्यक्ष नरबहादुर श्रेष्ठका अनुसार मेलुङका सवै वडाहरुमा वैदेशिक रोजगारीवाट फर्किएकाहरुको विवरण संकलन गर्ने काम भईरहेको छ । यद्धपि, विदेशवाट आएकाहरु सम्पर्कमा आउन र विवरण दिन नचाहने भएका कारण समस्या भएको उहाँले बताउनुभयो । जिल्लाको तामाकोशी गाउँपालिकाले सँक्रमित मुलुकवाट गाउँघरमा फर्किएकाहरुको विवरण सँकलनको जिम्मेवारी स्थानीय स्वास्थ्य सँस्था र स्वास्थ्यकर्मीहरुलाई दिएको छ । गाउँपालिका अध्यक्ष ईस्वरचन्द्र पोखरेलले प्रत्येक वडामा रहेका स्वास्थ्य चौकीहरु विवरण सँकलनमा जुटेको र केहि दिनमा पूर्ण विवरण आउने जानकारी दिनुभयो ।

बैतेस्वरमा अनुगमन समिति गठन
वैतेश्वर गाउँपालिकाको हिजो बसेको विपद् व्यवस्थापन समितिको आकस्मिक वैठकले वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिहरुको अनुगमन गरी विवरण संकलन गर्न गाउँपालिकाका अध्यक्ष छवि लामाको संयोजकत्वमा पाँच सदस्यीय अनुगमन समिति गठन गरेको छ । सो समितिले पालिकाभित्रका सवै वडाको अनुगमन गरी वैदेशिक रोजगारी र संक्रमित मुलुकबाट फर्किएकाहरुको विवरण संकलन गर्नेछ । विवरण संकलन गरीसकेपछि त्यस्ता व्यक्तिहरुको अवस्था हेरेर क्वारेन्टाइनमा राख्नका लागि तत्काल पहल गर्ने गाउँपालिकाका अध्यक्ष छवि लामाले जानकारी दिनुभयो ।

भीमेस्वर र तिन गाउँपालिमा तथ्याँक सँकलन हुन सकेन

कालिञ्चोक गाउँपालिकाले कोरोना भाईरस संक्रमित मुलुकबाट आएकाहरुलाई सेल्फ क्वारेन्टाइनमा बस्न भनेपनि विवरण संकलन गर्न सुरु गरेको छैन । कालिञ्चोक गाउँपालिकामा भारतीय मुलुकबाट आएका मानिसहरु धेरै भएपनि गाउँपालिकाले विवरण संकलन गर्न सुरु नगरेको हो । पालिकाले हाल संक्रमित मुलुक भारतबाट आएकाहरुलाई सेल्फ क्वारेन्टाइनमा बस्न मात्रै भनिएकाले थप जोखिम बढ्दै गएको छ । अहिलेसम्म विवरण संकलन नगरीए पनि अब तत्काल सुरु गर्ने तयारी भइरहेको गाउँपालिकाका अध्यक्ष विनकुमार थामीले जानकारी दिनुभयो ।

भीमेश्वर नगरपालिकालले भने लकडाउनका कारण वैदेशिक रोजगारीबाट फर्किएकाहरुको विवरण संकलन गर्न समस्या भएको बताएको छ । सवै कर्मचारीहरु सेल्फ क्वारेन्टाइनमा बसेकाले तथ्यांक संकलन तत्काल सुरु नभएपनि सम्वन्धित वडा अध्यक्ष जानकारी लिन भनिएको नगरप्रमुख भरत केसीले जानकारी दिनुभयो ।

जिरी नगरपालिकाले पनि आज विहानबाट तथ्यांक संकलन गर्न सुरु गरेको छ । नगरपालिकाको प्रत्येक वडाबाट आज विहानदेखि तथ्यांक संकलन भइरकेको नगरप्रमुख टंक जिरेलले जानकारी दिनुभयो । मुलुक लकडाउन हुनु अघि भित्रिएका ठूलो सँख्याका मानिसहरुको स्वास्थ्य अवस्थाका बारेमा जानकारी नहुँदा कोही सँक्रमित भएमा त्यसवाट उनको परिवार, छिमेक, टोल र सिँगो जिल्ला नैं खतरामा पर्ने अवस्था छ । वैदेशिक रोजगारीमा गएर मुलुक लक डाउन हुनु अघि स्वदेश फर्किएकाहरु गाउँघर पुगिसकेका छन् भने केहि सदरमुकाम चरिकोट र जिल्लाका अन्य बजार क्षेत्रमा पनि रहेका छन् । यसरी सँक्रमित मुलुकवाट फर्किएकाहरुको जिल्लामा कुनै स्वास्थ्य परिक्षण नभएको र सिधै गाउँघर गएका कारण ग्रामिण बस्तिहरुमा खतराको सँकेत देखिएको हो ।

कतार एयरवेजवाट आएका काठमाण्डौंमा

यसअघि हिजो कोरोना संक्रमित १९ वर्षिया युवतीसँगै कतार एयरवेजको फ्लाईटमा आएका दोलखाका एक दम्पती जिल्ला प्रशासन कार्यालय दोलखाको सम्पर्कमा आएका थिए । उनीहरु दुवैजना काठमाडौंस्थित आफ्नै घरमा सेल्फ क्वारेन्टानइमा बसीरहेको प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले जानकारी दिनुभयो । उनीहरु दुवै जनालाई काठमाडौं प्रशासनले निगरानीमा राखेको र हालसम्म कुनै स्वास्थ्य समस्या नदेखिएको जानकारी प्राप्त भएको प्रजिअ शर्माले बताउनुभयो ।

१३ चैत्र, २०७६ । ११ः०० बजे प्रकाशित ।

VIEWS: 1555 पटक हेरीएको
error: Content is protected !!